14
त्यस बेला यारोबामको छोरो अबिया अत्यन्तै बिरामी पर्‍यो । यारोबामले आफ्नी पत्नीलाई भने, “उठ र तिमी मेरी पत्नी हौ भनी नचिन्नलाई आफ्नो भेष बदली गर । अनि शीलोमा जाऊ किनकि अहियाह अगमवक्ता त्यहीँ छन् । यी मानिसहरूमाथि म नै राजा हुनेथिएँ भनी मेरो बारेमा बताउने तिनी नै थिए । आफ्नो साथमा दसवटा रोटी, केही फुरौला र एक भाँडो मह लिएर अहियाहकहाँ जाऊ । बालकलाई के हुने छ भनी तिनले तिमीलाई बताउने छन् ।” यारोबामकी पत्नीले त्यसै गरिन् । उनी बाटो लागिन् र शीलोमा गइन्, र अहियाहको घरमा आइन् । अहियाहले देख्न सक्दैनथे । तिनको वृद्धावस्थाको कारणले तिनले आफ्ना आँखाको ज्योति गुमाएका थिए । परमप्रभुले अहियाहलाई भन्नुभयो, “हेर्, यारोबामकी पत्नी आफ्नो छोरोको बारेमा तँबाट सल्लाह लिन आउँदै छे किनकि त्यसको छोरो बिरामी परेको छ । तैँले यस्तो-यस्तो जवाफ दिनू किनकि त्यो अर्कै स्त्री भएझैँ त्यसले नाटक गर्छे ।” उनी ढोकामा आइपुग्दा अहियाहले उनको खुट्टाको आवाज सुने, र भने, “हे यारोबामकी पत्नी, भित्र आऊ । किन तिमी अर्कै स्त्री भएझैँ नाटक गर्छ्यौ ? म खराब समाचारसहित तिमीकहाँ पठाइएको छु । गएर यारोबामलाई भन कि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'मैले तँलाई मेरो जाति इस्राएलमाथि अगुवा हुनलाई मानिसहरूका बिचबाट उठाएँ । मेरो दृष्टिमा जे ठिक छ त्यही गर्न अनि मेरा आज्ञाहरू पालन गर्न र सारा ह्रदयले मेरो पछि लाग्ने मेरा दास दाऊदजस्तै तँ नभए तापनि मैले दाऊदको घरानाबाट राज्य टुक्र्याई त्यो तँलाई दिएँ । तर तैँले तँभन्दा अगिका सबैले भन्दा दुष्ट काम गरेको छस् । तैँले अरू देवताका मूर्तिहरू र ढालेर बनाएका धातुका प्रतिमूर्तिहरू बनाएर मलाई रिस उठाएको छस्, र मलाई तेरो पीठपछि राखेको छस् । 10 त्यसकारण हेर्, म तेरो परिवारमा विपत्ति ल्याउने छु । चाहे कमारा होस् या फुक्का, म इस्राएलको हरेक पुरुष बालकलाई खतम पारिदिने छु, र तेरो घरानालाई गोबर जलाएझैँ पूर्ण रूपमा हटाइदिने छु । 11 तेरो घरानाको हरेक व्यक्ति जो यस सहरमा मर्छ, त्यसलाई कुकुरहरूले खाने छन्, अनि खेतमा मर्ने जोसुकैलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् किनकि म परमप्रभुले यसो भनेको छु ।' 12 त्यसैले हे यारोबामकी पत्नी, उठेर आफ्नो घर फर्केर जाऊ । तिमी सहरमा प्रवेश गर्दा तिम्रो बालक अबिया मर्ने छ । 13 सारा इस्राएलले त्यसको निम्ति शोक गर्ने छन् र त्यसलाई गाड्ने छन् । यारोबामको परिवारबाट चिहानमा जाने त्यही मात्र हुने छ किनकि यारोबामको घरबाट त्यसले मात्र इस्राएलका परमेश्वर परमप्रभुको दृष्टिमा निगाह पायो । 14 साथै, त्यस दिन परमप्रभुले इस्राएलबाट एक जना राजा उठाउनुहुने छ जसले यारोबामको परिवारलाई खतम पारिदिने छ । आज नै त्यही दिन हो । 15 किनकि पानीमा निगालो हल्लिएझैँ परमप्रभुले इस्राएललाई हल्लाउनुहुने छ, र उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको यस असल देशबाट जरैदेखि उखेलिदिनुहुने छ । उहाँले तिनीहरूलाई यूफ्रेटिस नदीभन्दा पारि तितर-बितर पारिदिनुहुने छ किनकि तिनीहरूले अशेराका खम्बाहरू बनाई परमप्रभुलाई रिस उठाएका छन् । 16 यारोबामले पाप गरेका कारण र तिनले इस्राएललाई पाप गर्न लगाएकाले उहाँले इस्राएललाई त्यागिदिनुहुने छ ।” 17 त्यसैले यारोबामकी पत्नी उठिन् र बाटो लागिन् अनि तिर्सामा आइन् । उनले आफ्नो घरको सँघार टेक्दा बालक मर्‍यो । 18 सारा इस्राएलले त्यसलाई गाडे, र त्यसको निम्ति शोक गरे जस्तो परमप्रभुले आफ्ना दास अहियाह अगमवक्ताद्वारा भन्नुभएको थियो । 19 यारोबामका अन्य कामहरूको बारेमा अर्थात् कसरी तिनले युद्ध गरे र शासन गरे भन्ने विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् । 20 यारोबामले बाइस वर्ष शासन गरे, र त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुत्न गए, अनि तिनको ठाउँमा तिनका छोरा नादाब राजा भए । 21 सोलोमनका छोरा रहबामले यहूदामा शासन गर्दै थिए । रहबाम राजा हुँदा तिनी एकचालिस वर्षका थिए । तिनले परमप्रभुले आफ्नो नाउँ राख्न इस्राएलका सबै कुलबाट चुन्नुभएको सहर यरूशलेममा सत्र वर्ष शासन गरे । तिनकी आमाको नाउँ नामा थियो जो एक अम्मोनी स्त्री थिइन् । 22 यहूदाले परमप्रभुको दृष्टिमा जे खराब छ त्यही गरे । तिनीहरूका पिता-पुर्खाहरूले गरेका पापभन्दा बढी पाप गरेर तिनीहरूले उहाँलाई डाही तुल्याए । 23 किनकि तिनीहरूले पनि आफ्ना लागि प्रत्येक उच्च स्थान र हरियो रुखमुनि डाँडाका ठाउँहरू, ढुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए । 24 त्यस देशमा झुटा धर्मसम्बन्धी वेश्याहरू पनि थिए । परमप्रभुले इस्राएलीहरूकै सामुबाट धपाउनुभएका जातिहरूले अभ्यास गरेका घिनलाग्दा कार्यहरू नै तिनीहरूले गरे । 25 राजा रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरुद्धमा आक्रमण गरे । 26 तिनले परमप्रभुको मन्दिर र राजको महलका खजानाहरू लिएर गए । तिनले हरेक कुरो लिएर गए । तिनले सोलोमनले बनाएका सुनका ढालहरू पनि लिएर गए । 27 राजा रहबामले तिनको सट्टामा काँसाका ढालहरू बनाए, र राजाको महलको ढोकाहरूको रक्षा गर्ने रक्षकहरूका हातमा जिम्मा दिए । 28 राजा परमप्रभुको मन्दिरमा प्रवेश गर्दा ती रक्षकहरूले ती ढालहरू बोक्थे । त्यसपछि तिनीहरूले ती रक्षक कोठामा ल्याएर राख्ने गर्थे । 29 रहबामले गरेका अरू सबै कामहरूको बारेमा के यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? 30 रहबाम र यारोबामको बिचमा युद्ध चलिरह्‍यो । 31 यसरी रहबाम आफ्ना पित्रहरूसित सुत्न गए, र तिनीहरूसँगै दाऊदको सहरमा गाडिए । तिनकी आमाको नाउँ नामा थियो जो अम्मोनी स्त्री थिइन् । तिनको ठाउँमा तिनका छोरा अबिया राजा भए ।