15
1 नबातका छोरा राजा यारोबामको शासनकालको अठारौँ वर्षमा अबियाले यहूदामाथि शासन गर्न थाले ।  
2 तिनले यरूशलेममा तिन वर्ष राज्य गरे । तिनकी आमाको नाउँ माका थियो । उनी अबीशालोमकी छोरी थिइन् ।  
3 अबिया तिनको समयभन्दा अगि तिनका पिताले गरेका सबै पापमा हिँडे । तिनको ह्रदय तिनका पुर्खा दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरप्रति समर्पित भएन ।  
4 तरै पनि दाऊदको खातिर परमप्रभु तिनका परमेश्वरले यरूशलेमलाई बलियो बनाउन तिनी पछि तिनको छोरोलाई उठाएर यरूशलमेमा तिनलाई एउटा बत्ती दिनुभयो ।  
5 दाऊदले परमेश्वरको दृष्टिमा जे ठिक छ, त्यही गरेकाले उहाँले यसो गर्नुभयो । किनकि हित्ती उरियाहको विषयमा बाहेक उहाँले तिनलाई दिनुभएको कुनै पनि आज्ञाबाट तिनी आफ्नो जीवनभर तर्केर गएनन् ।  
6 अबियाको जीवनभर रहबाम र यारोबामको बिचमा युद्ध भइरह्यो ।  
7 के अबियाले गरेका अन्य कामहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? अबिया र यारोबामको बिचमा युद्ध चलेको थियो ।  
8 अबिया आफ्ना पित्रहरूसित सुते, र तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे । तिनको ठाउँमा तिनका छोरा आसा राजा भए ।  
9 इस्राएलका राजा यारोबामको बिसौँ वर्षमा आसाले यहूदामाथि शासन गर्न थाले ।  
10 तिनले यरूशलेममा एकचालिस वर्ष राज्य गरे । तिनकी हजुर आमाको नाउँ माका थियो जो अबीशालोमकी छोरी थिइन् ।  
11 आसाले तिनका पुर्खा दाऊदले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे ।  
12 तिनले देशबाट झुटो धर्मसम्बन्धी वेश्याहरूलाई निष्कासन गरे, र तिनका पुर्खाहरूले बनाएका सबै मुर्तिलाई हटाइदिए ।  
13 तिनले आफ्नी हजुर आमा माकालाई पनि राजमाताको पदबाट हटाए किनकि उनले अशेरा देवीको एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन् । आसाले त्यस घिनलाग्दो मूर्तिलाई टुक्राटुक्रा पारी किद्रोन उपत्यकामा लगेर जलाइदिए ।  
14 तर डाँडाका थानहरू भने हटाइएनन् । तरै पनि आसाको ह्रदय तिनको जिवनकालभरि परमप्रभुप्रति पूर्ण रूपमा समर्पित थियो ।  
15 तिनले आफ्ना पिताद्वारा अलग गरिएका कुराहरू र तिनी आफैले बनाएर अलग गरेका सुन, चाँदीसाथै भाँडाकुँडाहरू परमप्रभुको मन्दिरभित्र ल्याए ।  
16 आसा र इस्राएलका राजा बाशाका राज्यकालभरि तिनीहरूको बिचमा युद्ध चलिरह्यो ।  
17 इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा आक्रामक रूपमा आए, र यहूदका राजा बाशाको देशमा कसैलाई प्रवेश गर्न नदिन तिनले रामामा किल्ला निर्माण गरे ।  
18 त्यसपछि आसाले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारहरूमा छाडिएका सबै चाँदी र सुन लिए । तिनले ती आफ्ना अधिकारीहरूका हातमा दिए, र त्यसलाई तब्रिमोनका छोरा, हेज्योनका नाति अरामका राजा बेन-हददकहाँ पठाइदिए जो दमस्कसमा बस्थे । तिनले भने,  
19 “मेरा पिता र तपाईंका पिताको बिचमा भएजस्तै तपाईं र मेरो बिचमा एउटा करार बाँधियोस् । हेर्नुहोस्, मैले तपाईंकहाँ चाँदी र सुनको उपहार पठाएको छु । इस्राएलका राजा बाशासितको करार तोड्नुहोस् ताकि तिनले मलाई एकलै छाडून् ।”  
20 बेन-हददले राजा आसाको कुरा सुने र आफ्ना सेनापतिहरू पठाए, अनि तिनीहरूले इस्राएलका सहरहरूमाथि आक्रमण गरे । तिनीहरूले इयोन, दान, हाबिल-बेथ-माका र नप्तालीको क्षेत्रसमेत सबै सारा किन्नरेतलाई आक्रमण गरे ।  
21 जब बाशाले यो कुरा सुने तिनले रामामा किल्ला निर्माण गर्न छाडेर तिनी तिर्सामा फर्केर गए ।  
22 तब राजा आसाले सारा यहूदामा एउटा घोषणा गरे जसमा कोही पनि छुटेको थिएन । तिनीहरूले बाशाले रामा सहर निर्माणको लागि प्रयोग गरिरहेका ढुङ्गाहरू र काठहरू लिएर गए । तब राजा आसाले बेन्यामीनको गेबा र मिस्माको निर्माणमा ती सामग्रीहरूको प्रयोग गरे ।  
23 के आसाले गरेका अरू कामहरू, तिनका सारा शक्ति र तिनले निर्माण गरेका सहरहरूको बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? तर तिनको वृद्धावस्थामा तिनको खुट्टामा रोग लाग्यो ।  
24 त्यसपछि आसा आफ्ना पित्रहरूसित सुते र तिनलाई तिनका पिता पुर्खा दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा यहोशापात राजा भए ।  
25 यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाबले इस्राएलमाथि शासन गर्न थाले । तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।  
26 तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र आफ्ना पिताको चालमा हिँडे । तिनी आफ्नै पापमा हिँडे र इस्राएललाई पनि पाप गर्न लगाए । इस्साखारको घरानाका  
27 अहियाहका छोरा बाशाले नादाबको विरुद्धमा षड्यन्त्र रचे । बाशाले तिनलाई पलिश्तीहरूको सहर गिब्बतोनमा मारे किनकि नादाब र सारा इस्राएलले गिब्बतोनलाई घेरा हाल्दै थिए ।  
28 यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, तिनको ठाउँमा तिनी राजा बने ।  
29 तिनी राजा हुनेबित्तिकै बाशाले याराबामको सारा घरानालाई मारे । तिनले यारोबामको कुनै पनि सन्तानलाई जिउँदो राखेनन् । यसरी परमप्रभुले आफ्ना दास शीलोका अहियाहद्वारा बोल्नुभएझैँ तिनले यारोबामको सबै राजकीय वंशलाई नष्ट गरिदिए ।  
30 यारोबामले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापको कारण तिनीहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएकाले यसो हुन आएको हो ।  
31 के नादाबका अरू कार्यहरू र तिनले गरेका कामको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?  
32 आसा र इस्राएलका राजा बाशाको बिचमा तिनीहरूको राज्यकालभरि युद्ध चलिरह्यो ।  
33 यहूदाका राजा आसाको तेस्रो वर्षमा अहियाहका छोरा बाशाले तिस्रामा बसी सारा इस्राएलमाथि शासन गर्न थाले, र तिनले चौबिस वर्ष राज्य गरे ।  
34 तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र तिनी यारोबामको मार्ग र तिनले इस्राएललाई गर्न लगाएको पापमा हिँडे ।