13
परमप्रभुको वचनद्वारा परमेश्वका जन बेथेलमा आए । यारोबाम धूप बाल्नलाई वेदीनेर उभिरहेका थिए । तिनले परमप्रभुको वचनद्वारा वेदीको विरुद्धमा चिच्च्याए, “हे वेदी, हे वेदी! परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, दाऊदको घरानामा योशियाह नाउँ गरेको बालकको जन्म हुने छ, र त्यसले तेरो लागि बलिदान चढाउने डाँडाका ठाउँहरूमा पुजारीहरूलाई तँमाथि नै बलिदान चढाउने छ । तँमाथि तिनीहरूले मानिसका हड्डीहरू जलाउने छन्' ।” तब उही दिन परमेश्वरका जनले यसो भन्दै एउटा चिन्ह दिए, “परमप्रभुले घोषणा गर्नुभएको चिन्ह यही होः हेर, वेदी दुई फक्लेटा हुने छ, र त्यसमाथि भएको खरानीचाहिँ खन्याइने छ' ।” बेथेलमा परमेश्वरका जनले वेदीको विरुद्धमा भनेका कुरा जब राजा यारोबामले सुने तिनले वेदीबाट आफ्नो हात पसारेर यसो भने, “त्यसलाई समात्!” तब तिने परमेश्वरको जनलाई समात्न जुन हात पसारेका थिए, त्यो सुक्यो र तिनले त्यो फेरि आफूतिर ल्याउन सकेनन् । (वेदी पनि दुई फक्लेटा भयो, र खरानी वेदीबाट पोखियो जस्तो परमप्रभुको वचनद्वारा परमेश्वरका जनले चिन्हद्वारा व्याख्या गरेका थिए ।) त्यसैले परमेश्वरका जनले परमप्रभुलाई प्रार्थना गरे, र राजाको हात पहिलेकै जस्तो भयो । राजाले परमेश्वरका जनलाई भने, “मेरो घरमा खानपान गर्नुहोस्, र म तपाईंलाई इनाम दिने छु ।” परमेश्वरका जनले राजालाई भने, “तपाईंले मलाई आधा सम्पत्ति दिनुभए तापनि म तपाईंसित जान्नँ, न यस ठाउँमा तपाईंसित खाने छु न पिउने छु । किनकि परमप्रभुले आफ्नो वचनद्वारा मलाई आज्ञा दिनुभएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न त पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।” 10 त्यसैले परमेश्वरका जन अर्कै बाटो भएर गए, र तिनी जुन बाटो भएर आएका थिए त्यही बाटो भएर आफ्नो घरमा फर्केनन् । 11 बेथेलमा एक जना वृद्ध अगमवक्ता बस्थे । त्यस दिन बेथेलमा परमेश्वरका जनले गरेका सबै कुरा अगमवक्ताका एक जना छोराले तिनलाई बताए । परमेश्वरका जन राजासित बोलेका थिए भन्ने कुरा पनि तिनका छोराहरूले तिनलाई बताए । 12 तिनीहरूका पिताले तिनीहरूलाई सोधे, “तिनी कुनचाहिँ बाटो लागे ?” परमेश्वरका जन यहूदाको बाटो भएर गएका थिए भनी तिनका छोराहरूले देखेका थिए । 13 त्यसैले तिनले आफ्ना छोराहरूलाई भने, “मेरो निम्ति गधामा काठी कस ।” त्यसैले तिनीहरूले गधामा काठी कसी त्यसमा चढेर गए । 14 ती वृद्ध अगमवक्ता परमेश्वरका जनको पछिपछि गए र तिनलाई फलाँटको रुखमुनि बसिरहेको भेट्टाए, र तिनले भने, “के यहूदाबाट आउनुभएका परमेश्वरका जन तपाईं नै हुनुहुन्छ ?” तिनले जवाफ दिए, “हो, म नै हुँ ।” 15 तब ती वृद्ध अगमवक्ताले तिनलाई भने, “मसितै घरमा आउनुहोस् र खानपान गर्नुहोस् ।” 16 परमेश्वरका जनले भने, “म तपाईंसँगै फर्केर जान सक्दिनँ, न त यस ठाउँमा तपाईंसँगै खानपान गर्न सक्छु न पिउन सक्छु । 17 किनकि परमप्रभुको वचनद्वारा मलाई आज्ञा दिइएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।” 18 त्यसैले ती वृद्ध अगमवक्ताले तिनलाई भने, “तपाईंजस्तै म पनि अगमवक्ता हुँ, र परमप्रभुको वचनद्वारा एउटा स्वर्गदूतले मलाई यसो भने, 'तिनलाई तिमीसँगै घरमा फर्काएर ल्याउनू ताकि तिनले रोटी खान सकून् र पानी पिउन सकून्' ।” तर तिनले परमेश्वरका जनलाई झुट बोल्दै थिए । 19 त्यसैले परमेश्वरका जन ती वृद्ध अगमवक्तासँगै फर्केर गए, र तिनको घरमा रोटी खानुका साथै पानी पिए । 20 तिनीहरू टेबुलमा बस्दै गर्दा परमप्रभुको वचन तिनलाई फर्काएर ल्याउने अगमवक्ताकहाँ आयो, र 21 तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए, “परमप्रभु भन्नुहुन्छ, 'तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले र परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी 22 फर्केर आई यस ठाउँमा रोटी खाएकोले र पानी पिएकोले तेरो शरीरलाई तेरा पित्रहरूको चिहानमा गाडिने छैन किनकि तैँले परमप्रभुले मनाही गर्नुभएको ठाउँमा रोटी खाइस् र पानी पिइस्' ।” 23 जब ती परमेश्वरका जनले रोटी खाइसके र पानी पिइसके तब अगमवक्ताले तिनीसँगै तिनको घरमा फर्केर आएका परमेश्वरका जनका लागि गधामा जीन काठी कसे । 24 परमेश्वरका जन गइसकेपछि बाटोमा एउटा सिंहसित तिनको जम्काभेट भयो । सिंहले तिनलाई मारिदियो, र तिनको लाश बाटोमै पडिरह्‍यो । तब गधा र सिंह लाशको छेउमा उभिएका थिए । 25 मानिसहरू त्यो बाटो भएर जाँदा तिनीहरूले बाटोमा लाश छाडिएको र लाशनेर सिंह उभिरहेको देखे । तिनीहरू ती वृद्ध अगमवक्ता बस्ने सहरमा आएर यो कुरा बताइदिए । 26 जब तिनलाई फर्काएर ल्याउने अगमवक्ताले यो कुरा सुने तिनले भने, “तिनी परमप्रभुको वचन नमान्ने परमेश्वरका जन हुन् । त्यसकारण परमप्रभुले तिनलाई सिंहको मुखमा पर्न दिनुभयो जसले तिनलाई टुक्राटुक्रा पारी मारिदियो जस्तो परमप्रभुको वचनले तिनलाई चेताउनी दिएको थियो ।” 27 त्यसैले ती वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “मेरो गधमा जीन काठी कस ।” तिनीहरूले त्यसै गरे । 28 तिनी बाटो लागे र तिनले बाटोमा लाश पडिरहेको अनि लाशको छेउमा गधा र सिंह उभिरहेका देखे । सिंहले लाशलाई खाएको थिएन न त गधालाई आक्रमण गरेको थियो । 29 अगमवक्ताले परमेश्वरका जनको लाश उठाई गधामा राखे र फर्काएर ल्याए । तिनको निम्ति शोक गर्न र लाशलाई गाड्न तिनी आफ्नै सहरमा आए । 30 तिनले लाशलाई आफ्नै चिहानमा राखे, र तिनीहरूले यसो भन्दै तिनको निम्ति शोक गरे, “धिक्कार, मेरा भाइ!” 31 तिनले लाशलाई गाडिसकेपछि वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “जब म मर्छु, मलाई परमेश्वरका जन गाडिएकै चिहानमा गाड्नू । मेरा हड्डीहरू तिनका हड्डीहरूको छेउमा रहून् । 32 किनकि तिनले परमप्रभुको वचनद्वारा बेथेलको वेदीको विरुद्धमा र सामरियाका सहरहरूमा भएका सबै डाँडाका ठाउँहरूका घरहरूको विरुद्धमा घोषणा गरेका सन्देश निश्चय नै पुरा हुने छ ।” 33 यसपछि यारोबाम आफ्नो दुष्ट मार्गबाट फर्केनन्, तर तिनले डाँडाका ठाउँहरूका लागि सबै थरीका मानिसहरूका बिचबाट सामान्य पुजारीहरूलाई नियुक्त गरिरहे । सेवा गर्न चाहने जोसुकैलाई पनि तिनले पुजारीको रूपमा अभिषेक गर्थे । 34 यो विषय यारोबामको परिवारको निम्ति पाप बन्यो, र यसले गर्दा तिनको परिवार पृथ्वीबाट नष्ट भएर सर्वनाश भएर गयो ।