30
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “ए मानिसको छोरो, यो अगमवाणी गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः विलाप गर्, “आउने दिनको निम्ति हाय।” त्यो दिन नजिकै छ । परमप्रभुको निम्ति त्यो दिन नजिकै छ । जातिहरूका निम्‍ति त्यो बादल लागेको, अन्‍त्‍यको दिन हुनेछ । तब मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र जब मारिएका मानिसहरू मिश्र देशमा ढल्‍नेछन् तब कूश देशमा पनि सङ्कष्‍ट आइपर्नेछ — जति बेला तिनीहरूले त्‍यसका धन-सम्‍पत्तिहरू लानेछन्, र जब त्‍यसका जगहरू भत्‍काइनेछन्‌ । कूश र पूत, लूद र सारा अरब देश,र लिबिया, करार गरिएका मानिसहरूसँगै तरवारले ढालिनेछन्‌ । परमप्रभु यसो भन्‍नुहुन्‍छः मिश्रदेशलाई सहयोग गर्नेहरूचाहिं पतन हुनेछन्, र त्‍यसको बलको घमण्‍ड तल जानेछ । मिग्‍दोलदेखि आश्‍वानसम्‍मै तिनीहरूका फौज तरवारले ढालिनेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ । जब म मिश्रदेशमा आगो लगाउनेछु, र जब त्‍यसका सबै सहयोगी नाश हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ । त्‍यो दिन सुरक्षित कूशलाई त्रसित बनाउन म दूतहरू अघि पठाउनेछु र मिश्रदेशको अन्‍त्‍यको दिनमा तिनीहरूलाई वेदना हुनेछ । किनभने हेर्, त्‍यो आउँदेछ । 10 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु । 11 त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्‍याइनेछन्‌ । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन्, र मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्‌ । 12 नदीहरूका पानीलाई म सुकाइदिनेछु, र देशलाई म दुष्‍ट मानिसहरूका हातमा बेचिदिनेछु । त्‍यो देश र त्‍यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा म उजाड पार्नेछु— म परमप्रभुले यो भनेको हुँ । 13 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसका व्‍यर्थका मूर्तिहरूको अन्‍त्‍य गर्नेछु । मिश्रदेशमा फेरि कहिल्‍यै शासक हुनेछैन, र यसरी म मिश्रदेशमा डर हालिदिनेछु । 14 तब म फारोलाई निर्जन पारिदिनेछु र सोअनमा आगो लगाउनेछु, र थेबसमा म न्यायको फैसला गर्नेछु । 15 किनकि मिश्रदेशको किल्‍ला, पेलुसियममाथि मेरो क्रोध खन्‍याउनेछु, र थेबसको सहरका धेरै भीडलाई नष्‍ट गर्नेछु । 16 तब म मिश्रदेशमा आगो लगाउनेछु, र पेलुसियम ठुलो पीडामा पर्नेछ, थेबसलाई भत्काइनेछ, र मेम्फिसले हरेक दिन शत्रुहरूको सामना गर्नेछ । 17 हेलीओपोलिस र बुबास्‍तीसका जवान मानिसहरू तरवारद्वारा मारिनेछन्, र तिनीहरूका सहरहरू कैदमा जानेछन् । 18 तहपनेसमा जब म मिश्रदेशको जुवा भाँचिदिनेछु, तब त्‍यो दिनले आफ्‍नो उज्‍यालो दिनेछैन, र त्‍यसको बलको घमण्‍ड सकिनेछ । त्यसलाई एउटा बादलले ढाक्‍नेछ, र त्‍यसका छोरीहरू कैदमा जानेछन्‌ । 19 म मिश्रदेशलाई दण्‍डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।” 20 एघारौं वर्षको पहिलो महिनाको सातौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 21 “ए मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचेको छु । हेर्, त्‍यसमा बाँधेको वा पट्टीले निको पार्न खोजिएको छैन, जसले गर्दा तरवार समाउन त्‍यो बलियो होस् । 22 यसकारण परमप्रभु परमेश्‍वर योस भन्‍नुहुन्छ, 'हेर्, म मिश्रदेशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुबै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु । 23 तब मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु । 24 म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु, र मेरो तरवार त्‍यसको हातमा दिनेछु ताकि म फारोको हात भाँच्‍न सकूँ । त्‍योचाहिं बेबिलोनको राजाको अगि मरणान्‍त चोट लागेको मानिसझैं पीडाले सुस्‍केरा हाल्‍नेछ । 25 किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्‍यसले मिश्रदेशको विरुद्धमा त्‍योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ । 26 यसरी मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”