29
दशौं वर्षको दशौं महिनामा उक्‍त महिनाको बाह्रौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “ए मानिसको छोरो, तेरो मुख मिश्रदेशको राजा फारोतिर फर्का । त्‍यसको विरुद्धमा र सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन्‌ । घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्‍नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्‍छस्, “मेरो नदी मेरै हो । त्‍यो मैले आफ्‍नो निम्‍ति बनाएको हुँ ।” किनभने म तेरो बङ्गारामा बल्‍छी लगाउनेछु, र तेरै कत्‍लाहरूमा तेरा नाइलका माछाहरू टाँसिनेछन् । तेरा कत्‍लाहरूमा टाँसिएका ती माछासमेत, म तँलाई तेरा नदीको बिचबाट तानेर निकाल्‍नेछु । तँ र तेरा नदीका सबै माछालाई म उजाड-स्‍थान फाल्‍नेछु । तँ खुला मैदानमा ढल्‍नेछस्‌ । तँलाई कसैले जम्‍मा गर्ने वा उठाउने छैन । पृथ्‍वीका प्राणीहरू र आकाशका चाराहरूका निम्‍ति आहारा हुन म तँलाई दिनेछु । तब मिश्रदेशमा बस्‍नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ । किनकि तिनीहरू इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएका छन् । जब तिनीहरूले तँलाई आफ्‍नो हातमा लिए, तब तैंले तिनीहरूका काँध भाँचिस् र च्‍यातिस् । अनि तिनीहरूले तँमा आड लिंदा, तँ भाँचिएको थिइस्, र तिनीहरूका खुट्टा लरबराउने बनाइस् । यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, तेरो विरुद्धमा म तरवार ल्‍याउनेछु । तेरा मानिसहरू र पशुहरू दुवैलाई म खत्तम गर्नेछु । यसैले मिश्रदेश उजाड र बग्‍नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्‍यो बनाएको हुँ ।” 10 यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्‍दोलदेखि आश्‍वानसम्‍म र कूश देशको सिमानासम्‍म नै तँ उजाड-स्‍थान हुनेछस् । 11 कुनै मानिसको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन,अनि र कुनै पशुको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन । चालीस वर्षसम्‍म त्‍यहाँ कोही बस्‍नेछैन । 12 किनकि म मिश्रदेशलाई बस्‍ती नभएका देशहरूका बिचमा उजाड पार्नेछु, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा चालीस वर्षसम्‍मै उजाड रहनेछन्‌ । अनि म मिश्रीहरूलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु र देशहरूमा म तिनीहरूलाई तितरबितर पार्नेछु । 13 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः चालीस वर्षको अन्‍तमा मिश्रीहरूलाई तिनीहरू छरपष्‍ट भएका मानिसहरूका बिचबाट म भेला गर्नेछु । 14 म मिश्रदेशको सुदिन फर्काउनेछु र तिनीहरूलाई फारोको राज्‍यमा, तिनीहरूका सुरुको देशमा फर्काएर ल्‍याउनेछु । तब तिनीहरू त्‍यहाँ एक तुच्‍छ राज्‍य भएर बस्‍नेछन्‌ । 15 त्‍यो सारा राज्‍यहरूमा सबैभन्‍दा तुच्‍छ हुनेछ, अनि त्‍यो फेरि जातिहरूका माझमा कहिल्‍यै उच्‍च पारिनेछैन । म त्‍यसलाई घटाउनेछु, जसले गर्दा तिनीहरूले फेरि कहिल्‍यै जातिहरूमाथि राज्‍य गर्नेछैनन् । 16 इस्राएलका घरानाका निम्‍ति मिश्रदेश फेरि कहिल्‍यै दृढताको कारण हुनेछैन । बरु, इस्राएलले मिश्रदेशसित सहायता माग्‍न जाँदा त्‍यहाँ तिनीहरूले गरेको अपराधका सम्‍झना तिनीहरूलाई हुनेछ । तब तिनीहरूले म नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌' ।” 17 तब सत्ताइसौं वर्षको पहिलो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 18 ए मानिसको छोरो, बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा कडा परिश्रम गर्नलाई आफ्‍नो फौजले तयार राख्‍यो । हरेकको टाउको तालु खुइले नभएसम्म दलियो र हरेक कुमलाई खस्रो पारियो । तापनि टुरोसको विरुद्धमा त्‍यसले गरेको परिश्रमको सट्टा त्‍यसले र त्‍यसको सेनाले केही इनाम पाउन सकेनन्‌ । 19 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्‍यसले उसका धन-सम्‍पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्‍यो त्‍यसको फौजको ज्‍याला हुनेछ । 20 त्‍यसले मेरो निम्ति गरेको परिश्रमको ज्‍यालाको रूपमा मिश्रदेश मैले त्‍यसलाई दिएको छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 21 त्‍यस दिन म इस्राएलका घरानाको निम्‍ति एउटा सीङ उमार्नेछु, र तिनीहरूका बिचमा म तँलाई बोल्ने बनाउनेछु, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”