5
ए इस्राएलको घराना, तिमीहरूका विषयमा मेरो यो विलापको वचन सुन । कुमारी इस्राएल पतन भएकी छ, त्यो फेरि उठ्‍नेछैन, त्यो आफ्नै भूमिमा त्यागिएकी छ, त्यसलाई उठाउने त्यहाँ कोही छैन । किनभने परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छः “इस्राएलको घरानामा भएकाका, एक हजार जना लिएर निस्केको सहरमा सय जना बाँकी हुनेछन्, र सय जना लिएर निस्केको सहरमा दस जना बाँकी हुनेछन् ।” किनभने इस्राएलको घरानालाई परमप्रभु यस्तो भन्‍नुहुन्छः “मेरो खोजी गर र जीवित रहो! बेथेलको खोजी नगर, न त गिलगालमा प्रवेश गर, बेर्शेबातर्फ यात्रा नगर । किनभने गिलगाल निश्‍चय नै कैदमा जानेछ, र बेथेल शून्‍य हुनेछ । परमप्रभुको खोजी गर र जीवित रहो, नत्रता उहाँ योसेफको घरानामा आगोझैं दन्‍कनुहुनेछ । त्यसले भस्म पार्नेछ र बेथेलमा त्यसलाई निभाउने कुनै व्‍यक्‍ति हुनेछैन । ती मानिसहरूले इन्साफलाई एउटा तितो कुरामा परिणत गर्छन् र धार्मिकतालाई भुइँमा फालिदिन्‍छन् !” परमेश्‍वरले किरकिटी र मृगशिरालाई बनाउनुभयो । उहाँले अन्धकारलाई बिहानमा परिणत गर्नुहुन्छ । उहाँले दिनलाई रातको अन्‍धकार बनाउनुहुन्छ र समुद्रको पानीलाई बोलाउनुहुन्छ । उहाँले त्यसलाई पृथ्वीको सतहमा खन्याउनुहुन्छ । उहाँको नाउँ परमप्रभु हो । उहाँले बलियामाथि एक्‍कासि विनाश ल्यानुहुन्छ, जसले गर्दा किल्लाहरूमा विनाश आउँछन् । 10 सहरको मूलद्वारमा तिनीहरूलाई ठिक कुरा सिकाउनेलाई तिनीहरू घृणा गर्छन्,र सत्य बोल्नेलाई कुनै पनि व्‍यक्‍तिलाई तिनीहरू उपहास गर्छन् । 11 किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ । 12 किनकि तिमीहरूका अपराधहरू कति छन् अनि तिमीहरूका पाप कति ठुला छन् भनी म जान्‍दछु— तिमीहरू जसले धर्मीलाई कष्‍ट दिन्छौ, घूस लिन्छौ, र सहरको मूलद्वारका दरिद्रहरूको न्‍यायहरण गर्छौ 13 यसकारण यस्तो समयमा विवेकी मानिस पनि चूपै लाग्छ, किनभने यो खराब समय हो । 14 असल कुराको खोजी गर, खराबको होइन, जसले गर्दा तिमीहरू बाँच्‍नेछौ । यसरी तिमीहरूले भनेझैं, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर, साँच्‍चै नै तिमीहरूसँग हुनुहुनेछ । 15 दुष्‍टतालाई घृणा गर, असल कुरालाई प्रेम गर, सहरको मूलद्वारमा न्याय कायम गर । सायद परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर योसेफका बाँकी रहेकाहरूसँग अनुग्रही हुनुहुनेछ । 16 यसकारण, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “सबै चोकहरूमा रुवाबासी हुनेछ, र तिनीहरूले सबै सडकहरूमा यस्तो भन्‍नेछन्, ‘धिक्‍कार ! धिक्‍कार !’ तिनीहरूले किसानहरूलाई विलाप गर्न र मलामीहरूलाई शोक गर्न बोलाउनेछन् । 17 सबै दाखबारीहरूमा रुवाबासी हुनेछ, किनकि म तिमीहरूका बिचबाट भएर जानेछु,” परमप्रभु भन्‍नुहुन्छ । 18 परमप्रभुको दिन चाहना गर्नेहरूलाई धिक्‍कार ! तिमीहरू किन परमप्रभुको दिनको चाहना गर्दछौ? त्यो उज्यालो होइन तर अन्धकार हुनेछ, 19 जसरी कोही मानिस एउटा सिंहबाट भाग्‍छ र एउटा भालुले उसलाई भेटाउँछ, अर्थात्‌ ऊ कुनै घरभित्र जान्‍छ र आफ्नो हात भित्तामा राख्‍छ अनि एउटा सर्पले उसलाई डस्‍छ । 20 के परमप्रभुको दिन उज्यालो नभई अन्धकार हुनेछैन र? अन्धकार र कुनै उज्‍यालो नभएको ? 21 “म तिमीहरूका चाडहरूलाई घृणा गर्दछु, म तिरस्कार गर्दछु, तिमीहरूका धार्मिक सभाहरूमा म खुसी हुन्‍नँ । 22 तिमीहरूले मलाई होमबलि र अन्‍नबलि चढाए तापनि, म ती ग्रहण गर्नेछैनँ, न त तिमीहरूका मोटा पशुहरूको मेलबलि नै म हेर्नेछु । 23 तिमीहरूका गीतहरूको हल्‍ला मबाट हटाओ । तिमीहरूका वीणाहरूका धुन म सुन्‍नेछैनँ । 24 बरु, इन्साफ पानीझैं बगोस्, र धार्मिकताचाहिं निरन्तर बगिरहने खोलाझैं होस् । 25 ए इस्राएलको घराना, चालिस वर्ष मरुभूमिमा हुँदा, के तिमीहरूले मेरो निम्ति बलिदानहरू र भेटीहरू ल्यायौ र ? 26 तिमीहरूले आफ्ना राजा सिक्‍कुथ, र आफ्‍ना तारा-देवता काइवानको मूर्ति खडा गरेका छौ, जसलाई तिमीहरूले आफ्ना निम्‍ति बनायौ । 27 यसकारण म तिमीहरूलाई दमस्मसभन्दा पर निर्वासनमा पठाउनेछु,” परमप्रभु भन्‍नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो ।