4
ए बाशानका गाईहरू, यो वचन सुन, तिमीहरू जो सामरियाको पहाडमा बस्‍छौ, तिमीहरू जसले गरिबहरूलाई थिचोमिचो गर्छौ, तिमीहरू जसले दरिद्रहरूलाई कुल्‍चिन्‍छौ, तिमीहरू जसले आफ्ना पतिहरूलाई भन्‍छौ, “हामीलाई मद्य ल्याउनुहोस्” । परमप्रभुले आफ्नो पवित्रताद्वारा प्रतिज्ञा गर्नुभएको छ, “हेर, तिमीहरूमाथि यस्ता दिनहरू आउनेछन् जति बेला तिमीहरूलाई तिनीहरूले अंकुसेले, र तिमीहरूमध्‍ये अन्‍तिम बचेकाहरूलाई बल्छीले लैजानेछन् । तिमीहरू सहरका पर्खालका धाँदाहरूका बिचबाट जानेछौ, तिमीहरू हरेक व्‍यक्‍ति सिधै त्यहाँबाट जानेछौ, र तिमीहरू हर्मोनतिर फालिनेछौ —यो परमप्रभुको घोषणा हो ।” “बेथेलमा जाओ र पाप गर, गिलगालमा जाओ अनि धेरै पाप बढाओ, हरेक बिहान आफ्ना बलिदानहरू, हरेक तिन दिनमा आफ्‍ना दशांशहरू ल्याओ । रोटीले धन्यवादको बलिदान अर्पण गर, स्वइच्‍छा भेटीको घोषणा गर । तीबारे घोषणा गर, किनकि यस कुराले तिमीहरू, इस्राएलका मानिसहरूलाई खुसी तुल्‍याउँछ, — यो परमप्रभु परमेश्‍वरको घोषणा हो । मैले तिमीहरूका सबै सहरहरूमा तिमीहरूका भोको पेट दिएँ र तिमीहरूका सबै ठाउँहरूमा रोटीको अभाव पारें । तापनि तिमीहरू मकहाँ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।” फसल काट्‍नलाई तिन महिना बाँकी हुँदा नै मैले पनि तिमीहरूबाट वर्षालाई रोकें । एउटा सहरमा मैले पानी पर्न दिएँ र अर्को सहरमा मैले पानी पर्न दिइनँ । जमिनको एक भागमा पानी पर्‍यो, तर जमिनको जुन भागमा पानी परेन त्यो सुक्‍यो । दुई वा तिनवटा सहर पानी पिउनको निम्ति अर्को सहरतर्फ धर्मराउँदै हिंडे, तर तृप्‍त भएनन् । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो । डढुवा र ओसले मैले तिमीहरूलाई कष्‍ट दिएँ । तिमीहरूका असङ्ख्‍य बगैँचाहरू, तिमीहरूका दाखबारीहरू, तिमीहरूका नेभाराका रूखहरू, र जैतूनका रूखहरू, सलहले ती सबैलाई सखाप पारे । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो । 10 मैले मिश्रमा झैं तिमीहरूका बिचमा विपत्ति पठाएँ । तिमीहरूका जवान मानिसहरूलाई मैले तरवारले मारें, तिमीहरूका घोडाहरूलाई लिएर गएँ, र तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूको नाकसम्म आउने पारें । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो । 11 मैले तिमीहरूका बिचमा भएका सहरहरू नाश पारें, जसरी परमेश्‍वरले सदोम र गमोरालाई नाश पार्नुभएको थियो । तिमीहरू आगोबाट बाहिर तानिएका अगुल्‍टाहरूझैं थियौ । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो । 12 त्यसैले, ए इस्राएल, म तेरो बिचमा केही डरलाग्दो कुरा गर्नेछु । र मैले तिमीहरूका बिचमा केही डरलाग्दो गर्ने हुनाले, ए इस्राएल, आफ्नो परमेश्‍वरलाई भेट्न तयार हो ! 13 किनकि, हेर, जसले पहाडहरू बनाउनुहुन्छ, उहाँले नै बतास पनि सृष्‍टि गर्नुहुन्छ, आफ्ना विचारहरू मानिसजातिकहाँ प्रकट गर्नुहुन्छ, बिहानको उज्‍यालोलाई अन्धकार बनाउनुहुन्छ, र पृथ्वीका उच्‍च ठाउँहरूलाई कुल्‍चिनुहुन्छ । परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर, उहाँको नाउँ हो ।”