3
त्यसपछि परमप्रभुले मलाई प्रधान पुजारी यहोशू परमप्रभुको स्वर्गदूतको अगि उभिएका देखाउनुभयो र शैतान तिनलाई पापको दोष लगाउनको निम्ति तिनको दाहिने हात तिर उभिरहेको थियो । परमप्रभुका स्वर्गदूतले शैतानलाई भने, “ए शैतान, परमप्रभुले तँलाई हप्काऊन् । यरूशलेमलाई चुन्‍नुहुने परमप्रभुले तँलाई हप्काऊन्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?” स्वर्गदूतको अगि उभिँदा यहोशूले फोहोर लुगा लगाएका थिए । अनि स्वर्गदूतले आफ्नो अगि उभिरहेकाहरूलाई भने, “त्यसबाट ती फोहोर लुगाहरू फुकालिदेओ ।” अनि तिनले यहोशूलाई भने, “हेर! मैले तिम्रा पाप तिमीबाट अलग गराइदिएको छु र म तिमीलाई असल लुगा लगाइदिनेछु ।” त्यसपछि मैले भनें, “तिनीहरूले तिनको शिरमा एउटा सफा फेटा लगाइदिऊन्!” यसैले परमप्रभुका स्वर्गदूत उभिरहँदा नै तिनीहरूले यहोशूको शिरमा सफा फेटा लगाइदिए र तिनलाई सफा लुगा पहिराइदिए । त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूलाई यस्तो कडा आज्ञा दिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ, तँ मेरा मार्गमा हिँडिस्, र मेरा आज्ञाहरू पालन गरिस् भने, तैंले मेरो भवनको जिम्मा लिनेछस् र मन्दिरको सुरक्षा गर्नेछस्, किनकि यहाँ मेरो सामु उभिएकाहरूमध्ये म तँलाई भित्र आउन र बाहिर जान दिनेछु । प्रधान पुजारी यहोशू, र तँसँगै बस्‍ने तेरा साथीहरू, सुन! किनकि यी मानिसहरू चिन्ह हुन्, तर म आफैँले नै मेरा दास अर्थात् हाँगोलाई ल्याउनेछु । अब मैले यहोशूको सामु राखिदिएको ढुङ्गोलाई हेर् । यो एउटा ढुङ्गोमा सात आँखाहरू छन्, र म एउटा शिलालेख खोप्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ, अनि म एक दिनमा नै यस भूमिबाट पाप मेटाउनेछु। 10 त्यस दिनमा हरेक मानिसले आफ्नो छिमेकीलाई आफ्नो दाखको बोट र अन्जिरको रूखमुनि बस्‍न निम्तो दिनेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”