11
ए लेबनान तेरा ढोकाहरू खोल्, ताकि आगोले तेरा देवदारुहरूलाई भस्म पारोस्! ए सल्लोको रूख, विलाप गर्, किनकि देवदारुका रूखहरू ढलेका छन्! सुन्दर र महान् भनिएका कुराहरू ध्वस्त भएका छन्! ए बाशानका फलाँटका रूखहरू, विलाप गर, किनभने त्यो ठुलो जङ्गल सखाप भएको छ । गोठालाहरू वेदनामा रुन्छन्, किनभने तिनीहरूको महिमा नष्‍ट पारिएको छ! जवान सिंहहरू गर्जन्छन्, किनकि यर्दन नदीको घमण्ड नष्‍ट पारिएको छ । परमप्रभु मेरा परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “गोठालाले झैँ काटिनको निम्ति अलग गरिएको बगालको हेरचाह गर्! ती किन्‍नेहरूले तिनीहरूलाई काट्छन् र तिनीहरूलाई सजाय दिइँदैन, र तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘परमप्रभुको प्रशंसा होस्! म धनी भएको छु!’ किनकि बगालका मालिकहरूका निम्ति काम गर्ने गोठालाहरूले तिनीहरूमाथि दया देखाएनन् । किनकि अब म भूमिमा बसोबास गर्नेहरूलाई दया देखाउनेछैनँ! - परमप्रभु घोषणा गर्नुहुन्छ । हेर, म हरेक मानिसलाई त्यसको छिमेकी र त्यसको राजाको हातमा सुम्पन लाग्दै छु, अनि तिनीहरूले भूमिलाई नष्‍ट गर्नेछन् र तिनीहरूका हातबाट म कसैलाई पनि छुटाउनेछैन ।” यसैकारण म काटिनको निम्ति चिन्ह लगाइएको भेडाको बगालको गोठालो बनेँ । मैले दुईवटा लौरो लिएँ: एउटा लौरोलाई मैले “अनुग्रह” नाउँ दिएँ र अर्कोलाई“एकता” नाउँ दिएँ । यसरी मैले बगालको हेरचाह गरेँ । एक महिनामा मैले तिनवटा गोठालालाई नाश गरेँ । म तिनीहरूप्रति धैर्य भइनँ, र तिनीहरूले मलाई घृणा गरे । अनि मैले मालिकहरूलाई भनेँ, “म अब तिमीहरूका निम्ति गोठालोको रूपमा काम गर्नेछैनँ । मर्न लागेका भेडाहरू मरून्, नष्‍ट भइरहेका भेडाहरूलाई नष्‍ट हुनदेऊ । बाँकी रहेको भेडोलेचाहिँ आफ्नो छिमेकीको मासु खाओस् ।” 10 यसैकारण मैले आफ्नो लौरो “अनुग्रह” लिएँ अनि आफ्ना सबै कुलहरूसँग गरेको करार तोड्नको निम्ति त्यो भाँचिदिएँ । 11 त्यस दिन त्यो करार तोडियो, र भेडाको हेरचाह गर्नेहरू र मलाई हेर्नेहरूले परमप्रभु बोल्नुभएको थाहा पाए । 12 मैले तिनीहरूलाई भनेँ, “यदि तिमीहरूलाई यो असल लागे, मलाई मेरो ज्याला देओ । तर तिमीहरूलाई असल नलागे, नदेओ ।” यसैले तिनीहरूले मेरो ज्याला चाँदीका तिस टुक्रा हिसाब गरे । 13 अनि परमप्रभुले मलाई भन्‍नुभयो, “तिनीहरूले तेरो मुल्य तय गरेको उत्कृष्‍ट मोलमा त्यो चाँदी भण्डारमा जम्मा गर्!” यसैकारण मैले ती तिस टुक्रा चाँदी लिएर परमप्रभुको भवनमा भण्डारमा जम्मा गरेँ । 14 अनि यहूदा र इस्राएलबिचको दाजुभाइको नातालाई तोड्नको निम्ति मैले मेरो दोस्रो लौरो “एकता” पनि भाँचे । 15 परमप्रभुले मलाई भन्‍नुभयो, “फेरि, मूर्ख गोठालोको उपकरण तेरो निम्ति ली, 16 किनभने हेर्, म भूमिमा एउटा गोठालो नियुक्त गर्दैछु । त्यसले हराउँदै गरेको भेडाको वास्ता गर्नेछैन । हराएको भेडालाई त्यो खोज्न जानेछैन, न त घाइते भेडालाई निको पार्नेछ । त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन, तर मोटो भेडाको मासु खानेछ र तिनीहरूका खुरलाई च्यात्‍नेछ । 17 धिक्‍कार, आफ्नो बगाललाई त्याग्‍ने बेकामको गोठालो! त्यसको पाखुरा र दाहिने आँखाको विरुद्ध तरवार चलाइयोस्! त्यसको पाखुरा सुकोस् र त्यसको दाहिने आँखा अन्धो होस्!”