9
बेन्यामीन कुलका एक जना प्रभावशाली मानिस थिए । तिनी बन्यामीनका खनाति, अपीहका जनाति, बकोरतका पनाति, जरोरका नाति अबीएलका छोरा कीश थिए । तिनको शाऊल नाउँ गरेका एक जना सुन्दर जवान छोरा थिए । इस्राएलका मानिसहरू माझ तिनीभन्दा सुन्दर मानिस अरू कोही थिएनन् । तिनका कुमबाट माथि तिनी सबै मानिसहरूभन्‍दा अग्‍ला थिए । शाऊलका बुबा कीशका गधाहरू हराएका थिए । त्यसैले कीशले आफ्‍ना छोरा शाऊललाई भने, “एक जना सेवकलाई आफ्‍नो साथमा लैजाऊ । उठ् र गधाहरूलाई खोज्‍न जाऊ ।” त्यसैले शाऊल एफ्राइमको पहाडी देशबाट भएर गए र सालिसाको देशबाट भएर गए, तर तिनीहरूले ती भेट्टाएनन् । तब तिनीहरू शालीमको देश पार गरे, तर ती त्‍यहाँ थिएनन् । त्‍यसपछि तिनी बेन्यामीनहरूका भूभागबाट भएर गए तर तिनीहरूले ती भेट्टाएनन् । जब तिनीहरू सूपको देशमा आए, तब शाऊलले आफूसँग भएका आफ्नो सेवकलाई भने, “आऊ, हामी फर्केर जाऔं, नत्र मेरो बुबाले गधाको चिन्ता लिन छोडेर हाम्रो बारे चिन्ता गर्लान् ।” तर सेवकले तिनलाई भने, “सुन्‍नुहोस्, यो सहरमा एक जना परमेश्‍वरका मानिस हुनुहुन्छ । तिनी आदर पाएका मानिस हुन् । तिनले भनेका हरेक कुरा पुरा हुन्छ । हामी त्यहाँ जाऔं । सायद हामी कुन बाटो जानुपर्छ भनी तिनले हामीलाई भन्‍नेछन् ।” तब शाऊलले आफ्नो सेवकलाई भने, “तर हामी त्यहाँ गयौं भने, हामीले त्यो मानिसलाई के लिएर जाने ? किनभने हाम्रो झोलामा भएको रोटी सकिएको छ र परमेश्‍वरका मानिसलाई दिने कुनै उपहार हामीसँग छैन । हामीसँग के छ र?” त्‍यो सेवकले शाऊललाई जवाफ दियो र भन्‍यो, “यहाँ, मसँग एक चौथाइ शेकेल चाँदी छ, जुन हामीले कुन बाटो जानुपर्छ बताउनलाई म परमेश्‍वरका मानिसलाई दिनेछु ।” (इस्राएलमा पहिले, जब मानिसले परमेश्‍वरको इच्छा खोज्‍न जान्थे, तब तिनले भन्थे, “आऊ, हामी दर्शीकहाँ जाऔं ।” किनकि आजका अगमवक्तालाई पहिले दर्शी भनिन्थ्यो ।) 10 तब शाऊलले आफ्नो सेवकलाई भने, “राम्रो भन्यौ । आऊ, हामी जाऔं ।” त्यसैले तिनीहरू त्‍यस सहरमा गए जहाँ परमेश्‍वरका मानिस बस्‍थे । 11 जब तिनीहरू सहरतिर जानलाई पहाड चढे, तिनीहरूले पानी लिन आउने जवान स्‍त्रीहरूलाई भेटे । शाऊल र तिनका सेवकले तिनीहरूलाई सोधे, “के दर्शी यहाँ हुनुहुन्छ?” 12 तिनीहरूले जवाफ दिए र भने, “उहाँ हुनुहुन्छ । हेर्नुहोस्, उहाँ तपाईंहरूकै अगाडि हुनुहुन्छ । छिटो जानुहोस्, किनकि मानिसहरूले आज उच्‍च स्थानमा बलिदान चढाउने हुनाले उहाँ आज सहर जाँदै हुनुहुन्‍छ । 13 खानलाई उहाँ उच्‍च स्थानमा जानुअघि नै, तपाईंहरूले सहर पस्‍नेबित्तिकै उहाँलाई भेट्नुहुनेछ । उहाँ नआएसम्म मानिसहरूले खाने छैनन्, किनभने उहाँले बलिदानलाई आशिर्वाद दिनुहुनेछ । त्यसपछि मात्र निम्ताइएकाहरूले खानेछन् । अहिले माथि गइहाल्नुहोस्, तपाईंहरूले उहाँलाई तुरुन्तै भेट्नुहुनेछ ।” 14 त्यसैले तिनीहरू सहरमा गए । तिनीहरू सहर पस्‍नैलाग्‍दा, उच्‍च स्थनामा जानलाई शमूएल आफूतर्फ आउँदै गरेको तिनीहरूले देखे । 15 अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः 16 “भोलि करिब यति बेला, म बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु र मेरा मानिस इस्राएलका शासक हुनलाई तैंले उसलाई अभिषेक गर्नू । उसले मेरा मानिसहरूलाई पलिश्तीहरूका हातहरूबाट बाचाउनेछन् । किनकि मैले आफ्‍ना मानिसहरूलाई दयादृष्‍टिले हेरेको छु किनभने मदतको लागि तिनीहरूले गरेको पुकारा मैले सुनेको छु ।” 17 जब शमूएलले शाऊललाई देखे, तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “मैले तँलाई भनेको मानिस यही हो । मेरा मानिसहरूमाथि राज्‍य गर्ने मानिस यही हो ।” 18 तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए र भने, “दर्शीको घर कहाँ छ मलाई भन्‍नुहोस् ?” 19 शमूएलले शाऊललाई जवाफ दिए र भने, “दर्शी म नै हुँ । मभन्‍दा अगि-अगि उच्‍च स्थानमा जानुहोस्, किनकि आज तपाईंले मसँग खानुहुनेछ । बिहान भएपछि म तपाईंलाई जान दिनेछु, र तपाईंको मनमा भएका हरेक कुरा म तपाईंलाई भनिदिनेछु । 20 तिन दिनअघि हराएका तपाईंका गधाहरूको बारेमा, तिनको बारेमा चिन्ता नगर्नुहोस्, किनकि ती भेट्टाइएका छन् । अनि इस्राएलको सबै इच्‍छाहरू कसमाथि छ? के तपाईं र तपाईंका बुबाको घरानामाथि होइन?” 21 शाऊलले जवाफ दिए र भने, “के इस्राएलका कुलहरूमध्ये सबभन्दा सानो बेन्यामीनको म होइन? के बेन्यामीनको कुलमा पनि मेरो वंश सबभन्दा सानो होइन र? अनि तपाईंले मलाई किन यसो भन्‍नुहुन्‍छ ?” 22 त्यसैले शमूएलले शाऊल र तिनको सेवकलाई लगे र तिनीहरूलाई एउटा कोठाभित्र ल्याए र करिब तिस जना निम्‍तो पाएकाहरूमध्येको उनीहरूलाई प्रमूख आशनमा तिनले राखे । 23 शमूएलले भान्सेलाई भने, “'अलग्गै राख' भनी मैले तिमीलाई भनेको भाग ल्‍याऊ ।” 24 त्यसैले भान्सेले फिला र यसमा भएको सबै ल्याए र शाऊलको सामु राखिदिए । तब शमूएलले भने, “हेर्नुहोस्, जे अलग राखिएको थियो सो तपाईंको अगि राखिएको छ । यो खानुहोस्, किनभने, 'मैले मानिसहरूलाई बोलाएको छु' भनेर मैले भनेको समयदेखि तोकिएको समयसम्म यसलाई तपाईंको निम्ति अलग्गै राखिएको छ ।” त्यसैले त्यस दिन शाऊलले शमूएलसँग खाए । 25 जब तिनीहरू उच्‍च स्थानबाट सहरमा आएका थिए, शमूएलले शाऊलसँग छतमाथि कुरा गरे । 26 त्यसपछि शामूएलले शाऊललाई बिहान छतमाथि बोलाए र भने, “उठ्नुहोस्, यसरी म तपाईंलाई आफ्‍नो बाटो पठाउनेछु ।” त्यसैले शाऊल उठे, अनि तिनी र शामूएल दुवै जना गल्लीतिर गए । 27 जसै तिनीहरू सहरको छेउतिर पुग्‍नै लागे, शमूएलले शाऊललाई भने, “सेवकलाई हामीभन्‍दा अगि जाने आज्ञा गर्नुहोस्”— र ऊ अगि गयो— “तर तपाईं केही क्षण यहीं रहनुपर्छ, ताकि तपाईंलाई परमेश्‍वरको सन्देश म भन्‍नेछु ।”