6
अनि पलिश्तीहरूको देशमा परमप्रभुको सन्दुक सात महिनासम्म रह्‍यो । त्यसपछि पलिश्ती मानिसहरूले पुजारीहरू र जोखाना हेर्नेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई भने, “परमप्रभुको सन्दुकलाई हामीले के गर्नुपर्छ? हामीले त्‍यसको आफ्नै देशमा त्‍यो कसरी पठाउनुपर्छ हामीलाई भन्‍नुहोस् । पुजारीहरू र जोखाना हेर्नेहरूले भने, “तपाईंहरूले परमेश्‍वरको सन्दुक फिर्ता पठाउनु हुन्छ भने, कुनै उपहारविना नपठाउनुहोस् । कुनै पनि हालतमा उहाँलाई दोषबलिसहित पठाउनुहोस् । तब तपाईंहरू निको हुनुहुनेछ र अहिलेसम्म उहाँको हात तपाईंहरूबाट किन नहटाइएको रहेछ भनी तपाईंहरूले जान्‍नुहुनेछ ।” तब तिनीहरूले भने, “हामीले उहाँलाई फर्काइ रहँदा दोषबलि के हुनुपर्छ?” तिनीहरूले जवाफ दिए, “पलिश्तीहरूको शासकहरूको संख्या जति छ त्‍यति नै सङ्‍ख्‍यामा सुनका पाँच गिर्खा र सुनका पाँच मूसाहरू बनाउनुहोस् । किनकि तपाईंहरू र तपाईंका शासकहरूलाई त्‍यही रूढीले प्रहार गर्‍यो । यसैले तपाईंहरूले आफ्‍ना गिर्खाहरूको नमूनाहरू र देशलाई नाश पार्ने आफ्‍ना मूसाहरूको नमूनाहरू बनाउनुपर्छ र इस्राएलका परमेश्‍वरलाई महिमा दिनुपर्छ । सायद उहाँले आफ्‍नो हात तपाईंहरूबाट, तपाईंका देवाताहरूबाट र तपाईंको देशबाट हटाउनुहुनेछ । जसरी मिश्रीहरू र फारोले आफ्नो हृदय कठोर पारे त्‍यसरी तपाईंहरूले किन आफ्‍नो हृदय कठोर पार्नुहुन्छ? त्‍यस बेला परमेश्‍वरले तिनीहरूसँग कठोर व्यवहार गर्नुभयो । के मिश्रीहरूले मानिसहरू पठाएनन्, अनि तिनीहरूले छोडेर आएनन् र? अब एउटा नयाँ गाडासँगै कहिल्यै जुवा नलागाइएका दुई वटा दुहुना गाई तयार पार्नुहोस् । गाईहरूलाई गाडामा बाँध्‍नुहोस्, तर तिनीहरूका बाछाबाछीलाई तिनीहरूबाट छुट्टाएर घरमा नै राख्‍नुहोस् । तब परमप्रभुको सन्दुक लिनुहोस् र त्‍यसलाई गाडामा राख्‍नुहोस् । तपाईंहरूले दोषबलिको रूपमा उहाँलाई फर्काउने ती सुनका आकृतिहरूलाई त्‍यसको छेउमा एउटा बाकसमा राख्‍नुहोस् । अनि त्‍यसलाई पठाउनुहोस् र यसलाई आफ्नो बाटो जान दिनुहोस् । त्यसपछि हेर्नुहोस्, त्‍यो बेथ-शेमेशतिर आफ्नै देशको बाटो जान्छ भने, यत्रो ठुलो विपत्ति परमप्रभुले नै ल्याउनुभएको रहेछ । तर होइन भने, हामीले जान्‍नेछौं कि हामीलाई प्रहार गर्ने उहाँको हात होइन । बरु, संयोगले त्‍यसो भएको रहेछ भनी हामी जान्‍नेछौं । 10 मानिसहरूलाई भनेअनुसार उनीहरूले गरे । उनीहरूले दुई वटा दुहुना गाईहरू लिए र तिनका बाछाबाछीलाई घरमा नै थुने । 11 उनीहरूले परमप्रभुको सन्दुक , साथै सुनका मूसाहरू र उनीहरूका गिर्खाको आकृतिहरू भएको बाकसलाई उक्‍त गाडामा राखे । 12 गाईहरू सोझै बेथ-शेमेशको दिशातिर गए । ती गाईहरू कराउँदै गए तर दाँया र बाँया कतैतिर नलागी, तिनीहरू लोकमार्ग हुँदै गए । पालिश्‍तीहरूका शासकहरू बेथ-शेमेशको सिमानासम्म नै तिनीहरूको पछि-पछि गए । 13 यति बेला बेथ-शेमेशका मानिसहरूले बेसीमा गाहुँको कटानी गरिरहेका थिए। तिनीहरूले आफ्‍ना आँखा उठाए र सन्दुकलाई हेरे र तिनीहरू आनन्‍दित भए । 14 बेथ-शेमेशको नगरबाट त्‍यो गाडा यहोशूको खेतमा आयो र त्यहाँ नै रोकियो । त्यहाँ एउटा ठुलो ढुङ्गा थियो, र तिनीहरूले गाडाको काठ चिरे र ती गाईहरूलाई परमप्रभुको निम्ति होमबलि चढाए । 15 लेवीहरूले परमप्रभुको सन्दुक र यससँगैको सुनका आकृतिहरू भएको बाकसलाई निकाले र तिनलाई त्‍यो ठुलो ढुङ्गामाथि राखे । बेथ-शेमेशका मानिसहरूले परमप्रभुलाई त्यसै दिन होमबलि र बलिदानहरू चढाए । 16 जब पलिश्तीहरूका पाँच जना शासकहरूले यो देखे, तब तिनीहरू एक्रोनमा फर्के । 17 पलिश्तीहरूले अश्दोदको निम्ति एउटा, गाजाको निम्ति एउटा, अश्कलोनको निम्ति एउटा, गातको निम्ति एउटा र एक्रोनको निम्ति एउटा गरी परमप्रभुलाई दोषबलिको रूपमा फर्काएका सुनका गिर्खाहरू यिनै हुन् । 18 सुनका मूसाहरू पलिश्ती शासकहरूका अधीनमा रहेका सबै किल्लाबन्‍दी गरिएका सहरहरू र गाउँहरूको संख्याअनुसार थिए । तिनीहरूले परमप्रभुको सन्दुक राखेका त्यो ठुलो ढुङ्गा बेथशेमेशीका यहोशूको खेतमा आजको दिनसम्म पनि साक्षीको रूपमा रहेको छ । 19 परमप्रभुले बेथ-शेमेशका केही मानिसहरूलाई आक्रमण गर्नुभयो किनभने तिनीहरूले परमप्रभुको सन्दुकभित्र हेरेका थिए । उहाँले पचास हजार सत्तरी मानिसहरू मार्नुभयो । मानिसहरूले विलाप गरे, किनभने परमप्रभुले मानिसहरूलाई ठुलो आघात पुर्‍याउनुभएको थियो । 20 बेथ-शेमेशका मानिसहरूले भने, “यो पवित्र परमप्रभुको परमेश्‍वर सामु को खडा हुन सक्छ? तो सन्दुक हामीबाट कसकहाँ जानेछ? 21 किर्यत-यारीमका बासिन्दाहरूकहाँ यसो भनेर तिनीहरूले दूतहरू पठाए, “पलिश्तीहरूले परमप्रभुको सन्दुक फिर्ता ल्याएका छन् । तल आउनुहोस् र त्‍यो आफ्‍नो साथमा लानुहोस् ।”