14
एक दिन शाऊलका जोनाथनले आफ्‍नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, हामी पल्लोपट्टि भएको पलिश्‍तीहरूको चौकीमा जाऔं ।” तर तिनले आफ्नो बुबालाई चाहिं भनेनन् । शऊलचाहिं मोग्रोनमा भएको अनारको बोटमुनि गिबाको छेउमा बसिरहेको थियो । तिनीसँग झण्डै छ सय मानिस थिए, एपोद लगाउने शीलोमा परमप्रभुको पुजारी एलीका पनाति, पीनहासका नाति, अहीतूबका छोरा (ईकाबोदका भाइ) अहियाहसहित । जोनाथान गएको थिए भन्‍ने कुरा मानिसहरूलाई थाहा थिएन । पलिश्‍तीहरूको चौकीमा पुग्‍नलाई जोनाथनले जान चाहेका घाटीको एकापट्टि एउटा पत्थरको पहरो थियो भने, अर्कोपट्टि अर्को पत्थरको पहरो थियो । एउटा पत्थरको पहरोलाई बोसेस र अर्को पत्थरको पहरोलाई सेनेह भनिन्‍थ्‍यो । पत्थरको एउटा पहरो उत्तरमा मिकमाशको सामुन्‍ने र अर्को दक्षिणमा गेबाको सामुन्‍ने थियो । जोनाथनले आफ्नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, यी बेखतनाहरूका चौकीमा पारि जाऔं । सायद परमप्रभुले हाम्रो पक्षमा काम गर्न सक्‍नुहुनेछ, किनकि धेरै वा थोरै जनाबाट बचाउन परमप्रभुलाई कुनै कुराले रोक्‍न सक्दैन ।” तिनका हतियार बोक्‍नेले जवाफ दिए, “आफ्‍नो मनमा जे लागेको छ सो गर्नुहोस् । अगि बढ्नुहोस्, हेर्नुहोस्, तपाईंका सबै आज्ञा पालन गर्न म तपाईंको साथमा छु ।” तब जोनाथनले भने, “हामी ती मानिसकहाँ पारि जानेछौं र हामी आफै तिनीहरकहाँ देखा पर्नेछौं । तिनीहरूले भन्‍छन्, ‘तिमीहरूकहाँ हामी नआएसम्म त्यहीं पर्ख,' भने— हामी आफ्नै ठाउँमा बस्‍नेछौं र हामी तिनीहरूकहाँ पारि जानेछैनौं । 10 तर तिनीहरूले जवाफ दिन्‍छन्, 'हामीकहाँ वारि आओ' भने, हामी पारि तर्नेछौं । किनभने परमप्रभुले तिनीहरूलाई हाम्रो हातमा दिनुभएको छ । यो हाम्रो निम्ति चिन्ह हुनेछ ।” 11 त्यसैले तिनीहरू दुवैले आफूलाई पलिश्‍तीहरूको चौकीमा प्रकट गरे । पलिश्‍तीहरूले भने, “हेर, हिब्रूहरू आफू लुकेका प्वालहरूबाट निस्किरहेका छन् ।” 12 तब चौकीका मानिसहरूले जोनाथन र तिनको हतियार बोक्‍नेलाई बोलाए र भने, “हामीकहाँ आओ र तिमीहरूलाई हामी केही कुरा देखाउनेछौं ।” जोनाथनले आफ्नो हतियार बोक्‍नेलाई भने, “मेरो पछि आऊ, किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलको हातमा दिनुभएको छ ।” 13 जोनाथन आफ्‍ना हात र खुट्टा टेकेर चढे र तिनको हतियार बोक्‍नेले तिनको पछि गए । जोनाथनको सामु पलिश्‍तीहरू मारिए र तिनको पछाडी तिनको हतियार बोक्‍नेले कति जनालाई मारे । 14 जोनाथन र तिनको हतियार बोक्‍नेले गरेको पहिलो आक्रमणमा चार रोपनी जतिको क्षेत्रमा झण्डै बिस जना मानिस मारिए । 15 छाउनी, मैदान र मानिसहरू माझ त्रास फैलियो । चौकीहरू र लुट्ने टोलीहरू पनि त्रासित भए । पृथ्वी हल्लियो र त्यहाँ ठुलो त्रास छायो । 16 त्यसपछि बेन्यामीनको गिबामा रहेको शाऊलका पहरा बस्‍नेले देख्यो । पलिश्‍ती सिपाहीहरूका भीड तितरबितर भइरहेको थियो र तिनीहरू यताउता गरिरहेका थिए । 17 तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “हाम्रो बिचबाट को हराएको छ, गनेर हेर ।” जब तिनीहरूले गन्ती गरे, जोनाथन र तिनको हतियार बोक्‍ने हराएको थाहा भयो । 18 शाऊलले अहियाहलाई भने, “परमेश्‍वरको सन्दुक यहाँ ल्याऊ,” किनकि त्यस बेला यो इस्राएलका मानिसहरूसँग थियो । 19 शाऊल पुजारीसँग बोलिरहँदा पलिश्‍तीहरूको छाउनीको हल्ला झन् बढ्दै थियो । तब शाऊलले पुजारीलाई भने, “तिम्रो हात झिक ।” 20 शाऊल र तिनीसँग भएका सबै मानिसहरू भेला भए र लडाइँ गर्न गए । हरेक पलिश्‍तीले आ-आफ्नो साथीलाई तरवारले प्रहार गरिरहेको थियो र त्यहाँ ठुलो अन्योलता थियो । 21 अब पहिले पलिश्‍तीहरूसँग रहेका ती हिब्रूहरू जो तिनीहरूका छाउनीमा गएका थिए, तिनीहरू पनि इस्राएलीहरू, शाऊल र जोनाथनकहाँ आए । 22 जब एफ्राइम नजिकको पहाडतिर लुकेका इस्राएलका सबै मानिसले पलिश्‍तीहरू भागिरहेका छन् भनी सुने, तब तिनीहरूले पनि उनीहरूलाई युद्धमा खेदे । 23 यसरी परमप्रभुले त्यस दिन इस्राएललाई छुटकाटा दिनुभयो र युद्ध बेथ-अवन पारिसम्म नै फैलियो । 24 त्यस दिन इस्राएलका मानिसहरू व्याकुल भएका थिए किनभने, “साँझसम्म र मैले आफ्‍ना शत्रुहरूमाथि बद्‍ला नलिएसम्म खाना खाने कुनै पनि मानिस श्रापित होस्” भनेर शाऊलले मानिसहरूलाई शपथ खान लगाएका थिए । त्यसैले फौजका कुनै पनि व्‍यक्‍तिले खाना चाखेका थिएनन् । 25 त्यसपछि सबै मानिसहरू जङ्गभित्र पसे र त्यहाँ जमिनमा मह थियो । 26 जब मानिसहरू जङ्गलभित्र पसे, तब मह बग्‍न थाल्यो, तर कसैले पनि महमा हात लगाएन, किनभने मानिसहरू शपथदेखि डराएका थिए । 27 तर जोनाथनले आफ्‍ना बुबाले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन् । तिनले आफ्नो हातमा भएको लट्ठी पसारे र यसले महको चाकामा घोचे । तिनले आफ्नो हात आफ्‍नो मुखमा लगे र तिनका आँखामा तेज आयो । 28 तब मानिसहरूमध्ये एक जनाले भने, “ तपाईंको बुबाले 'आजको दिन खाना खाने मानिस श्रापित होस्' भनी मानिसहरूलाई कडा शपथ खान लगाउनुभयो, यद्यपि मानिसहरू भोकले कमजोर भएका छन् । 29 तब जोनाथनल भने, “मेरो बुबाले देशलाई कष्‍ट दिनुभएको छ । हेर, मैले यो थोरै मह चाखेर मेरा आँखाहरू कति तेजिला भएका छन् । 30 मानिसहरूले आफ्‍ना शत्रुहरूको लूटबाट स्‍वतन्त्र भएर खाएका भए कति धेरै राम्रो हुन्थ्यो? किनभने अहिले पालिश्‍तीहरूका माझमा ठुलो संहार भएको छैन ।” 31 तिनीहरूले त्यस दिन पलिश्‍तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्म आक्रमण गरे । मानिसहरू धेरै थकित भए । 32 मानिसहरू लूटहरूमा लोभ गरेर झुम्मिए, अनि भेडाहरू, गोरुहरू र पाठाहरू लिए र तिनलाई जमिनमा मारे । मानिसहरूले तिनीहरूलाई रगतसँगै खाए । 33 तब तिनीहरूले शाऊललाई भने, “हेर्नुहोस्, मानिसहरूले रगतसँगै खाएर परमप्रभुको विरुद्धमा पाप गरिरहेका छन् ।” शाऊलले भने, “तिमीहरूले अविश्‍वसी कसिमले काम गरेका छौ । अब यहाँ मकहाँ एउटा ठुलो ढुङ्गा ल्‍याओ ।” 34 शाऊलले भने, “मानिसहरूको बिचमा जाओ र तिनीहरूलाई भन, 'हरेक मानिसले आ-आफ्नो गोरु र भेडहरू यहाँ ल्याओस् र मारोस् र खाओस् । रगतसँगै खाएर परमप्रभुको विरुद्धमा पाप नगर' ।” त्यसैले हरेक मानिसले आ-आफ्ना गोरु आफूसँग ल्याए र यसलाई त्यहाँ मारे । 35 शाऊलले परमप्रभुको निम्ति एउटा वेदी वनाए, जुन तिनले परमप्रभुको निम्ति बनाएका पहिको वेदी थियो । 36 तब शाऊलले भने, “पलिश्‍तीहरूलाई राती गएर पिछा गरौं र बिहानसम्ममा तिनीहरूलाई लूटौं । तिनीहरूलाई एउटै पनि जीवित नछोडौं ।” तिनीहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।” तर पुजारी भने, “यहाँ परमेश्‍वरकहाँ जाऔं ।” 37 शाऊलले परमेश्‍वरलाई सोधे, “के म पलिश्‍तीहरूको पिछा गरौं? के तपाईंले तिनीहरूलाई इस्राएलको हातमा सुम्पनुहुने छ?” तर परमेश्‍वरले त्यस दिन तिनलाई जवाफ दिनुभएन । 38 तब शाऊलले भने, “मानिसहरूका सबै अगुवाहरू यहाँ आओ । आज यो पाप कसरी गरियो सिक र हेर । 39 किनकि जसरी इस्राएललाई छुटकारा दिनुहुने परमप्रभु जीवित हुनुहुन्छ, यो मेरो छोरा जोनाथन नै भए पनि निश्‍चय नै मर्नेछ ।” तर सबै मानिसमध्येका कुनैले पनि तिनलाई जवाफ दिएन । 40 तब तिनले सबै इस्राएललाई भने, “तिमीहरू एकपट्टि खडा हुनुपर्छ, अनि म र मेरो छोरा जोनाथन अर्कोपट्टि खडा हुनेछौं ।” मानिसहरूले शाऊललाई भने, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।” 41 शाऊलले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, यो पाप म वा मेरो छोरा जोनाथनले गरेको हो भने, हे परमप्रभु इस्राएलका परमेश्‍वर मलाई ऊरीम दिनुहोस् । तर यो पाप तपाईंका मानिस इस्राएलले गरेका हुन् भने तुम्मीम दिनुहोस् ।” अनि चिट्ठाले जोनाथन र शाऊललाई पार्‍यो, तर फौजलाई अलग गर्‍यौ । 42 त्यसपछि शाउलले भने, “म र मेरो छोरा जोनाथनको बिचमा चिट्ठा हाल ।” अनि चिट्टाले जोनाथनलाई छान्यो । 43 शाऊलले जोनाथनलाई भने, “तिमीले के गरेका छौ मलाई भन ।” जोनाथनले तिनले भने, “मैले मेरो हातमा भएको लट्ठीको टुप्पोले थोरै मह चाखें । म यहाँ छु । म मर्नेछु ।” 44 शाऊलले भने, “ए जोनाथन, तिमी मरेनौ भने, परमेश्‍वरले मलाई त्‍यसै वा त्‍योभन्दा बढी गर्नुभएको होस् ।” 45 तब मानिसहरूले शाऊललाई भने, “इस्राएलको निम्ति यत्रो विजय ल्याउने जोनाथन मर्नुपर्छ? यस्‍तो हुँदै नहोस् ! परमप्रभु जीवित हुनुभएझैं, तिनको शिरबाट एउटा कपाल पनि झर्नेछैन, किनकि आज तिनले परमेश्‍वरसँग काम गरेका छन् ।” यसरी मानिसहरूले जोनाथनको उद्धार गरे ताकि तिनी मरेनन् । 46 त्‍यसपछि शाऊलले पलिश्तीहरूको पिछा गर्न छोडे र पलिश्तीहरू आ-आफ्ना घरमा गए । 47 जब शाऊलले इस्राएलमाथि राज्‍य गर्न सुरु गरे, तब तिनले सबैतिरका आफ्‍ना शत्रुहरूको विरुद्धमा युद्ध गरे । तिनले मोआब, अम्मोनीहरू, एदोम, सोबका राजाहरू र पलिश्तीहरूको विरुद्धमा युद्ध गरे । तिनी जता फर्किए, त्‍यतै तिनले उनीहरूलाई दण्ड दिए । 48 तिनले ठुलो साहसले काम गरे र अमालेकीहरूलाई पराजित गरे । तिनले इस्राएललाई लुट्नेहरूको हातबाट छुटकारा दिए । 49 शाऊलका छोराहरू जोनाथन, यिश्‍वी र मल्कीशूअ थिए । तिनकी जेठी छोरीहरूको नाउँ मेराब र कान्छीको नाउँ मिकल थियो । 50 शाऊलको पत्‍नीको नाउँ अहिनोम थियो । तिनी अहीमासकी छोरी थिइन् । तिनको फौजको कप्‍तानको नाउँ शाऊलका काका नेरका छोरा अबनेर थियो । 51 कीश शाउलका बुबा थिए । अनि अबनेरका बुबा नेर अबीएलका छोरा थिए । 52 शाऊलको जीवनकालभरि नै पलिश्तीहरूसँग कडा युद्ध चलिरह्यो । जब शाऊलले कुनै वीर वा बलियो मानिसलाई देख्थे, तब तिनले उसलाई आफूसँगै राख्थे ।