71
हे परमप्रभु, म तपाईंमा शरण लिन्छु । मलाई कदापि लाजमा नपार्नुहोस् । मलाई बचाउनुहोस् र तपाईंको धार्मिकतामा मलाई सुरक्षित राख्‍नुहोस् । तपाईंको काम मतिर फर्काउनुहोस् र मलाई बचाउनुहोस् । मेरो निम्ति चट्टान हुनुहोस् जहाँ म सधैं जान सकूँ । तपाईंले मलाई बचाउन आज्ञा दिनुभएको छ, किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ । हे परमेश्‍वर, दुष्‍टहरूका हातबाट, अधर्मी र निर्दयीहरूका हातबाट मलाई बचाउनुहोस् । किनकि हे परमप्रभु परमेश्‍वर, तपाईं मेरो आसा हुनुहुन्छ । मेरो बालक हुँदादेखि नै मैले तपाईंमा भरोसा राखेको छु । म गर्भमा हुँदादेखि नै तपाईंले मलाई सहारा दिनुभएको छ । मेरो आमाको गर्भदेखि मलाई बहिर निकाल्ने तपाईं नै हुनुहुन्छ । मेरो प्रशंसा सधैं तपाईंको बारेमा नै हुनेछ । धेरै जना मानिसका निम्ति म उदाहरण भएको छु । तपाईं मेरो बलियो शरण हुनुहुन्छ । मेरो मुख तपाईंको प्रशंसाले, दिनभरि नै तपाईंको आदरले भरिनेछ । मेरो वृद्ध अवस्थामा मलाई टढा नफाल्‍नुहोस् । मेरो बल कमजोर हुँदा मलाई नत्याग्‍नुहोस् । 10 किनकि मेरा शत्रुहरूले मेरो बारेमा कुरा गर्दैछन् । मेरो ज्‍यान लिन खोज्‍नेहरूले एकसाथ षड्यान्त्र गर्दैछन् । 11 तिनीहरू भन्छन्, “परमेश्‍वरले त्यसलाई त्याग्‍नुभएको छ । लखेटेर त्यसलाई समात्, किनकि त्यसलाई बचाउने कोही पनि छैन ।” 12 हे परमेश्‍वर, मबाट टाढा नहुनुहोस् । हे मेरो परमेश्‍वर, मलाई सहायता गर्न चाँडो गर्नुहोस् । 13 तिनीहरू लाजमा परून् र नाश होऊन्, जसले मेरो जीवनसँग शत्रुता गर्छन् । तिनीहरू हप्की र अनादरले ढाकिऊन्, जसले मलाई चोट पुर्‍याउन खोज्‍छन् । 14 तर म सधैं तपाईंमा आसा गर्नेछु र म तपाईंको झन् धेरै स्तुति गाउनेछु । 15 मैले तपाईंको धार्मिकता र तपाईंको मुक्‍तिलाई नबुझे तापनि, मेरो मुखले दिनभरि त्यसैको बारेमा भन्‍नेछ । 16 म परमप्रभु परमेश्‍वरको शक्तिशाली कामहरूसँगै आउनेछु । म तपाईंको, केवल तपाईंको धार्मिकताको वर्णन गर्नेछु । 17 हे परमेश्‍वर, तपाईंले मलाई मेरो युवावस्थादेखि नै सिकाउनुभएको छ । अहिले पनि म तपाईंको अचम्‍मका कामहरू घोषणा गर्नेछु । 18 वास्तवमा, हे परमेश्‍वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्‍नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु । 19 हे परमेश्‍वर, तपाईंको धार्मिकता धेरै उच्‍च छ । हे परमेश्‍वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र? 20 तपाईंले मलाई धेरै कष्‍टहरू देख्‍न दिनुभयो तपाईंले नै हामीलाई फेरि जागृत पार्नुहुनेछ र हामीलाई पृथ्वीको गहिराइबाट फेरि माथि ल्याउनुहुनेछ । 21 तपाईंले मेरो इज्‍जत वृद्धि गर्नुहोस् । फेरि फर्कनुहोस् र मलाई सान्त्वना दिनुहोस् । 22 हे मेरो परमेश्‍वर, तपाईंको सत्‍यताको निम्‍ति वीणा बजाएर म तपाईंलाई धन्‍यवाद चढाउनेछु । हे इस्राएलको परम पवित्र, सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु । 23 जब म तपाईंको प्रशंसाका गीतहरू गाउनेछु, तब मेरा ओठहरू आनन्दले कराउनेछन्— मेरो प्राणले पनि जसलाई तपाईंले उद्धार गर्नुभएको छ । 24 मेरो जिब्रोले पनि दिनभरि तपाईंको धार्मिकताको बारेमा बताउनेछ । किनकि तिनीहरू लाजमा र गोलमाल पारिएका छन् जसले मलाई चोट पुर्‍याउन खोजे ।