31
हे परमप्रभु, तपाईंमा म शरण लिन्छु । मलाई कदापि अपमानित हुन नदिनुहोस् । तपाईंको धार्मिकतामा मलाई बचाउनुहोस् । मेरो पुकार सुन्‍नुहोस् । मलाई तुरुन्‍तै बचाउनुहोस् । मेरो शरणको चट्टान अर्थात् मलाई बचाउने किल्ला हुनुहोस् । किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ । यसकारण तपाईंको नाउँको खातिर मलाई डोर्‍याउनुहोस् र बाटो देखाउनुहोस् । तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ । मेरो आत्मा म तपाईंको हातमा सुम्पिन्छु । हे परमप्रभु, विश्‍वासनीयताको परमेश्‍वर, तपाईंले मलाई उद्धार गर्नुहुनेछ । व्‍यर्थका मूर्तीहरूको सेवा गर्नेहरूलाई म घृणा गर्छु, तर म परमप्रभुमा भरोसा गर्छु । तपाईंको करारको विश्‍वस्‍ततामा म खुसी र आनन्‍दित हुनेछु, किनकि तपाईंले मेरो कष्‍ट देख्‍नुभयो । मेरो प्राणको कष्‍ट तपाईंले थाहा पाउनुभयो । तपाईंले मलाई मेरो शत्रुको हातमा दिनुभएको छैन । तपाईंले मेरा खुट्टाहरूलाई चौडा खुल्ला ठाउँमा राख्‍नुभएको छ । हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्‍टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ । 10 किनकि मेरो जीवन कष्‍टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्‍छ र मेरा हाडहरू खिइन्‍छन् । 11 मेरा सबै शत्रुका कारणले मानिसहरूले मलाई घृणा गर्छन् । मेरो स्‍थिति हेरेर मेरा छिमेकीहरू डराउँन् र मलाई चिन्‍नेहरू भयभीत हुन्छन् । मलाई बाटोमा देख्‍नेहरू मदेखि भाग्छन् । 12 मरेको मानिसलाई झैं मलाई भुलिएको जसलाई कसैले विचार गर्दैन । म फुटेको भाँडोजस्तै छु । 13 किनकि मैले धेरै जनाको कानेखुसी, तिनीहरूले एकसाथ मेरो विरुद्ध षड्यान्त्र गर्दा चारैतिरबाट डरलाग्‍दो खबर मैले सुनेको छु । मेरो ज्यान लिन तिनीहरूले षड्यान्त्र गर्छन् । 14 तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु । म भन्छु, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ ।” 15 मेरा समयहरू तपाईंका हातमा छन् । मेरा शत्रुहरू र मलाई खेद्‍नेहरूका हातबाट मलाई बचाउनुहोस् । 16 आफ्नो दासमाथि तपाईंको मुहार चम्काउनुहोस् । तपाईंको करारको विश्‍वस्‍ततामा मलाई बचाउनुहोस् । 17 हे परमप्रभु, मलाई अपमानिसत हुन नदिनुहोस् । किनकि म तपाईंमा पुकारा गर्छु । दुष्‍टहरू अपमानित होऊन्! तिनीहरू चिहानमा शान्‍त होऊन्! 18 धर्मीहरूका विरुद्धमा अहङ्कार र घृणासहित उपेक्षित रूपले बोल्ने ओठहरू चूप होऊन् । 19 तपाईंको आदर गर्नेहरूका निम्‍ति तपाईंले सन्‍चित गर्नुभएको तपाईंको भलाइ कति महान् छ । त्‍यो तपाईंमा शरण लिनेहरूका निम्ति मानवजातिका सारा सन्तानका सामु तपाईंले प्रदर्शन गर्नुहुन्छ । 20 तपाईंको उपस्थितिको छत्रछायामा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ । जिब्राहरूका हिंसाबाट तपाईंले तिनीहरूलाई छत्रछायामा लुकाउनुहुन्छ । 21 परमप्रभु धन्यको होऊन्, किनकि म घेराबन्दीको सहरमा हुँदा उहाँले मलाई आफ्‍नो अचम्‍मको करारको विश्‍वस्‍तता दर्शाउनुभयो । 22 मैले हतारमा यसो भनें, “तपाईंको दृष्‍टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्‍नुभयो । 23 ए सबै विश्‍वासयोग्‍य अनुयायीहरू हो, परमप्रभुलाई प्रेम गर । परमप्रभुले विश्‍वासयोग्‍यलाई सुरक्षा दिनुहुन्छ । तर उहाँले अहङ्कारीलाई पूरा बदला लिनुहुन्‍छ । 24 ए सबै सहायताको निम्ति परमप्रभुमा भरोसा गर्नेहरू हो, बलियो र दृढ होओ ।