31
1 परमप्रभुले मोशालाई भन्नुभयो,  
2 “मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरेका थिए, त्यसको निम्ति बद्ला ले । त्यो काम गरेपछि तँ मर्ने छस् र तेरा मानिसहरूसँग मिल्न जाने छस् ।”  
3 त्यसैले मोशाले मानिसहरूलाई भने, “तिमीहरूका केही मानिसहरूलाई सुसज्जित पार ।  
4 तिनीहरू मिद्यानीहरूको विरुद्ध युद्ध लड्न जाऊन् र यसमाथि परमप्रभुको बद्ला लिऊन् । इस्राएलका हरेक कुलले युद्धको निम्ति एक हजार सिपाही पठाउनुपर्छ ।”  
5 त्यसैले इस्राएलका हजारौँ पुरुषमा हरेक कुलबाट एक हजार जना अर्थात् युद्धको निम्ति बाह्र हजार सशस्त्र मानिस दिइयो ।  
6 त्यसपछि मोशाले तिनीहरूलाई पुजारी एलाजारका छोरा पीनहासको साथमा पवित्र स्थानका केही सरसामानहरू र सङ्केत दिनलाई तिनको स्वामित्वमा तुरहीहरूसहित हरेक कुलबाट एक-एक हजार जना मानिसलाई युद्ध गर्न पठाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ  
7 तिनीहरूले मिद्यनीहरूसँग लडे ।  
8 तिनीहरूले सबै मानिसलाई मारे । तिनीहरूले बाँकी मृतकहरूसहित मिद्यानका पाँच जना राजा एवी, रेकेम, सूर, हूर र रेबालाई मारे ।  
9 इस्राएलका फौजले मिद्यानका महिलाहरू, तिनीहरूका बालबच्चाहरू, तिनीहरूका सबै गाईवस्तु, तिनीहरूका सबै भेडाबाख्रा र तिनीहरूका सबै मालसामान लगे । तिनीहरूले यिनीहरूलाई लुटको रूपमा लिए ।  
10 तिनीहरूले उनीहरूका सबै सहर जलाइदिए, जहाँ उनीहरू बसेका थिए र उनीहरूका छाउनीहरू थिए ।  
11 तिनीहरूले मानिसहरू र पशुहरू दुवैलाई लुटको माल र कैदीको रूपमा लिए ।  
12 तिनीहरूले कैदीहरूलाई, लुटका मालहरू र कब्जा गरेका सामानहरू मोशा, पुजारी एलाजार र इस्राएलका मानिसहरूका समुदायकहाँ ल्याए । तिनीहरूले यिनीहरूलाई मोआबको मैदानमा यरीहो नजिक यर्दनको किनारमा ल्याए ।  
13 मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवा तिनीहरूलाई भेट्न छाउनी बाहिर गए ।  
14 तर मोशा लडाइँबाट आएका फौजका अधिकृतहरू, हजार जनाको सेनापति र सय जनाको कप्तानहरूसँग रिसाए ।  
15 मोशाले तिनीहरूलाई भने, “के तिमीहरूले यी सबै महिलालाई जीवितै राखेको ?  
16 हेर, यिनै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए ।  
17 अब सबै स-साना पुरुषहरूलाई मार् र पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार ।  
18 तर पुरुषसँग सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति लेओ ।  
19 तिमीहरू सात दिनसम्म इस्राएलको छाउनीबाहिर छाउनीमा बस्नुपर्छ । कसैलाई मारेका र मुर्दालाई छोएका तिमीहरू सबैले तिमीहरू र तिमीहरूका कैदीहरूसहित तेस्रो र सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ ।  
20 तिमीहरूले हरेक पोशाक र पशुका छाला, बाख्राको रौँ र काठले बनेका सबै मालसामानलाई शुद्ध पार्नुपर्छ ।”  
21 पुजारी एलाजारले युद्धमा गएका सिपाहीहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएको धर्म-विधि यही होः  
22 सुन, चाँदी, काँसा, फलाम, टिन र सिसा,  
23 र आगोले नजल्ने सबै थोकलाई तिमीहरूले आगोमा पोल्नुपर्छ र यो शुद्ध हुने छ । त्यसपछि तिमीहरूले यिनीहरूलाई शुद्ध पार्ने पानीले शुद्ध पार्नुपर्छ । जुन कुरालाई आगोमा जलाउन मिल्दैन, त्यसलाई तिमीहरूले पानीले शुद्ध पार्नुपर्छ ।  
24 तिमीहरूले सातौँ दिनमा तिमीहरूका लुगा धुनुपर्छ र तिमीहरू शुद्ध हुने छौ । त्यसपछि तिमीहरू इस्राएलको छाउनीभित्र आउन सक्छौ ।  
25 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,  
26 “मानिस र पशुहरू दुवै लुटका मालहरूको रूपमा गन्ती गर् । तँ, पुजारी एलाजार र समुदायका कुल-कुलका अगुवाहरूले लुटका मालहरूलाई  
27 दुई भाग गर्नुपर्छ । यसलाई लडाइँमा जाने सिपाहीहरू र सबै बाँकी समुदायबिच बाँड् ।  
28 त्यसपछि लडाइँमा गएका सिपाहीहरूबाट मेरो निम्ति कर लिनू । यो कर मानिस, गाईवस्तु, गधा, भेडा वा बाख्राहरू जे भए पनि हरेक पाँच सयमा एउटा हुनुपर्छ ।  
29 यो कर तिनीहरूका आधा अंशबाट लिनू र यसलाई मेरो निम्ति चढाउन पुजारी एलाजारलाई दिनू ।  
30 साथै, इस्राएलका मानिसहरूका आधा भागबाट, मानिस, गाईवस्तु, गधा, भेडा र बाख्राबाट तैँले हरेक पचास वटामा एउटा लिनू । यिनीहरूलाई मेरो पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिनू ।”  
31 त्यसैले मोशा र पुजारी एलाजारले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम गरे ।  
32 सिपाहीहरूले लिएका लुटबाट बाँकी रहेका ६,७५,००० भेडा,  
33 सत्तरी हजार गोरु,  
34 एकसट्ठी हजार गधा,  
35 र पुरुषसँग कहिल्यै सहवास नगरेका तिस हजार महिला थिए ।  
36 सिपाहीहरूका निम्ति राखिएका भेडाहरू ३,३७, ००० थियो । भेडाहरूबाट  
37 परमप्रभुको भाग ६७५ थियो ।  
38 गोरुहरू छत्तिस हजार थिए, जसबाट परमप्रभुको भागमा बहत्तरवटा थिए ।  
39 गधाहरू ३०,५०० थिए, जसबाट परमप्रभुको भाग एकसट्ठीवटा थिए ।  
40 सोह्र हजार महिला थिए, जसबाट परमप्रभुको भाग बत्तिस जना थिए ।  
41 परमप्रभुलाई चढाउने बलि हुनुपर्ने कर मोशाले लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले यसलाई पुजारी एलाजारलाई दिए ।  
42 युद्धमा गएका सिपाहीहरूबाट मोशाले इस्राएलका मानिसहरूका आधा भागको सन्दर्भमा  
43 समुदायको आधा भाग ३,३७,५०० भेडा,  
44 तिस हजार गोरु,  
45 ३०,५०० गधा,  
46 र सोह्र हजार महिला थिए ।  
47 इस्राएलका मानिसहरूका आधा भागबाट मोशाले पशु र मानिस दुवैबाट हरेक पचास वटाबाट एउटा लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले तिनीहरूलाई परमप्रभुको पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिए ।  
48 फौजका अधिकृतहरू, हजारका सेनापतिहरू र पचास जनाका कप्तानहरू मोशाकहाँ आए ।  
49 तिनीहरूले तिनलाई भने, “तपाईंका दासहरूले हाम्रो स्वामित्वमा भएका सिपाहीहरूको गन्ती गरेका छन् र एक जना पनि हराएको छैन ।  
50 हामी हरेकले पाएका सुनका गहनाहरू, बाजू, बाला, छाप औँठी, कुण्डल र सिक्रीहरू परमप्रभुको सामु हाम्रो प्रायश्चित्त गर्नको निम्ति परमप्रभुको भेटी ल्याएका छौँ ।”  
51 मोशा र पुजारी एलाजारले सुन र सबै कलात्मक सरसामान तिनीहरूबाट ग्रहण गरे ।  
52 तिनीहरूले परमप्रभुलाई दिएका, हजारका सेनापतिहरू र सय जनाका कप्तानहरूबाट आएका सुनका भेटीहरूको तौल एक सय नब्बे किलोग्राम थियो ।  
53 हरेक सिपाहीले आ-आफ्नो निम्ति लुटका माल लिएका थिए ।  
54 मोशा र पुजारी एलाजारले हजारका सेनापतिहरू र सयका कप्तानहरूबाट सुन लिए । तिनीहरूले यसलाई परमप्रभुको निम्ति इस्राएलका मानिसहरूको याद दिलाउने चिनोको रूपमा भेट हुने पालभित्र लगे ।