28
अब शबाथको समय सकिनै लाग्दा हप्‍ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्‍त्री चिहान हेर्न आए । हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले; अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे । तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो । पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए । स्वर्गदूतले ती स्‍त्रीहरूलाई सम्बोधन गरे र भने, “भयभीत नहोओ, किनकि मलाई थाहा छ, कि तिमीहरूले क्रुसमा टाँगिनुभएका येशूलाई खोज्दै छौ । उहाँ यहाँ हुनुहुन्‍न, तर जस्तो उहाँले भन्‍नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ । आएर प्रभुलाई राखिएको ठाउँ हेर । झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ । हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । त्यहीँ नै तिमीहरूले उहाँलाई देख्‍नेछौ ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु ।” ती स्‍त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे । हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्‍नुभयो, “सबैलाई अभिवादन छ ।” ती स्‍त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे । 10 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।” 11 जब ती स्‍त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पुजारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए । 12 जब पुजारीहरूले एल्डरहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए, 13 र तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूलाई यस्तो भन, ‘हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र उनको मृत शरीरलाई चोरेर लगे ।’ 14 यदि यो खबर हाकिमकहाँ पुग्यो भने, हामी उहाँलाई राजी गराउनेछौँ र तिमीहरूलाई कुनै समस्यामा पर्न दिनेछैनौँ ।” 15 अनि ती सिपाहीहरूले पैसा लिए र उनीहरूलाई जस्तो निर्देशन दिइएको थियो, त्यस्तै गरे । यही खबर यहूदीहरूका माझमा सर्वत्र फैलियो र आजको दिनसम्म पनि यही कायम छ । 16 तर एघार जना चेला गालीलको त्यस डाँडामा गए जहाँ येशूले जानू भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो । 17 जब उनीहरूले उहाँलाई देखे, उनीहरूले उहाँलाई दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे । 18 येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ । 19 यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ । 20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । र हेर, यस संसारको अन्तसम्म पनि म सधैँ तिमीहरूको साथमा छु ।”