7
1 दोषबलिको विधि यस्तो रहेको छ । यो अति पवित्र हो ।  
2 दोषबलिलाई मार्ने स्थानमा नै तिनीहरूले त्यो मारून्, र वेदी वरिपरिको सबै ठाउँमा त्यसको रगत छर्कून् ।  
3 त्यसभित्र भएका सबै बोसो अर्पण गरिने छः अर्थात् बोसे पुच्छर, भित्री अङ्गहरू ढाक्ने बोसो,  
4 दुवै मृगौला र तिनलाई ढाक्ने बोसो, कम्मरनेरको बोसो, र मृगौलासँगै कलेजोलाई ढाक्ने बोसो सबै झिक्नू ।  
5 पुजारीले आगोद्वारा चढाइने बलिको रूपमा यी सबै भागहरूलाई वेदीमा जलाओस् । यो दोषबलि हो ।  
6 पुजारीहरूमध्ये सबै पुरुषले यस बलिबाट केही भाग खान सक्छन् । यो कुनै पवित्र ठाउँमा खानू किनभने यो अति पवित्र हो ।  
7 पापबलि पनि दोषबलिजस्तै हो । यी दुवैका एउटै विधि छन् । तिनीहरूका निम्ति प्रायश्चित्त गर्ने पुजारीकै ती हुने छन् ।  
8 अरूको होमबलिलाई अर्पण गर्ने पुजारीले त्यस होमबलिको छाला आफ्नो निम्ति राख्न सक्छ ।  
9 चुलोमा बनाइएका सबै अन्नबलि र ताइताप्के वा ताउमा पकाइएका सबै बलि अर्पण गर्ने पुजारीकै हुने छ ।  
10 सुक्खा वा तेलसँग मिसाइएका सबै अन्नबलि समान रूपमा हारूनका वंशको हुने छ ।  
11 परमप्रभुलाई मानिसहरूले अर्पण गर्ने मेलबलिको भेटीको विधि यस्तो रहेको छ ।  
12 यदि कसैले त्यो धन्यवाद दिनको निम्ति अर्पण गर्दछ भने, त्यसले त्यो खमिर नराखी तेलमा मिसाएर बनाइएको रोटी, खमिर नराखी माथिबाट तेल लगाइएको रोटी, र मसिनो पिठोलाई तेलमा मिसाएर बनाइएको रोटीको भेटीद्वारा अर्पण गरोस् ।  
13 साथै, धन्यवाद दिनको निम्ति, आफ्नो मेलबलिसित त्यसले खमिर राखेर बनाइएको रोटी पनि अर्पण गरोस् ।  
14 परमप्रभुको निम्ति अर्पण गरिएको भेटीस्वरूप यी बलिहरूका हरेक प्रकारबाट एउटा-एउटा त्यसले अर्पण गरोस् । यो भेटी मेलबलिको रगतलाई वेदीमा छर्कने पुजारीकै हुने छ ।  
15 धन्यवाद दिनको निम्ति मेलबलि अर्पण गर्ने मानिसले आफ्नो बलिदानको मासु बलिकै दिनमा खानू । त्यसबाट कत्ति पनि अर्को बिहानीको निम्ति त्यसले नछोडोस् ।  
16 तर यदि त्यसको भेटी प्रतिज्ञाको निम्ति बलिदान भएमा, त्यसले बलिदानलाई अर्पण गर्ने दिनमा नै त्यो खाइयोस्, तर त्यसबाट बाँकी रहेको जति अर्को दिन खान सकिने छ ।  
17 तर तेस्रो दिनसम्म बलिदानको जे जति मासु बाँकी रहन्छ, त्योचाहिँ जलाइयोस् ।  
18 यदि कसैको मेलबलिको मासु तेस्रो दिनमा खाइयो भने, त्यो स्वीकारिने छैन, न त त्यो अर्पण गर्नेको निम्ति अर्पण गरिएको गनिने छ । यो अति घृणित कुरो हो, र यो खाने मानिसले आफ्नो पापको दोष बोकिरहने छ ।  
19 कुनै पनि अशुद्ध कुरा छोएको मासु नखानू । त्यो जलाइयोस् । अरू मासुचाहिँ जुन शुद्ध छ, त्यसले खाओस् ।  
20 तर यदि परमप्रभुको मेलबलिको भेटीबाट कुनै अशुद्ध मानिसले खान्छ भने, त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् ।  
21 यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु, वा कुनै अशुद्ध र तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने, त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् ।’ ”  
22 अनि परमप्रभु यसो भनेर मोशासँग बोल्नुभयो,  
23 “इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘तिमीहरूले कुनै गोरु, वा भेडा वा बोकोको बोसो नखानू ।  
24 बलिको रूपमा अर्पण नगरी मरेको पशुको बोसो, वा वन-पशुहरूले मारेको पशुको बोसो अरू कामको निम्ति प्रयोग गर्न मिल्छ, तर निश्चय नै त्यो नखानू ।  
25 परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिको निम्ति मानिसहरूद्वारा अर्पण गर्न बाँकी पशुको बोसो जसले खान्छ, त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् ।  
26 तिमीहरूका घरहरूमा कुनै पक्षी वा पशुको रगत नखानू ।  
27 जसले रगत खान्छ, त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् ’ ।”  
28 परमप्रभु मोशासँग यसरी बोल्नुभयो,  
29 “इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘परमप्रभुलाई मेलबलिको भेटी अर्पण गर्ने मानिसले आफ्नो बलिदानको भाग परमप्रभुकहाँ ल्याओस् ।  
30 आगोद्वारा परमप्रभुलाई अर्पण गरिने बलिदानचाहिँ त्यस मानिसको आफ्नै हातबाट ल्याइयोस् । त्यसले बलिको छातीसित त्यसको बोसो पनि ल्याओस्, र छातीचाहिँ परमप्रभुको अगि डोलाइने बलिको रूपमा डोलाइयोस् ।  
31 पुजारीले बोसोलाई वेदीमा जलाओस्, तर छातीचाहिँ हारून र त्यसका वंशको हुने छ ।  
32 तैँले पुजारीलाई तेरा मेलबलिहरूबाट बलिदानको रूपमा दाहिने फिला भेटी दिनू ।  
33 हारूनका सन्तानहरूमध्ये मेलबलिहरूको रगत र बोसोलाई अर्पण गर्ने पुजारीले बलिदानबाट दाहिने फिला हिस्साको रूपमा लिओस् ।  
34 किनभने मैले इस्राएलका मानिसहरूबाट डोलाइने बलिको छाती र योगदानको रूपमा फिला लिएको छु, र ती पुजारी हारून र त्यसका छोराहरूलाई सदाको निम्ति हिस्सास्वरूप दिइएको छ ।  
35 पुजारीको कार्यमा परमप्रभुको निम्ति सेवा पुर्याउनलाई हारून र त्यसका सन्तानलाई मोशाले अर्पण गरेको दिनमा परमप्रभुको निम्ति आगोद्वारा चढाइएको बलिदानबाट तिनीहरूका निम्ति हिस्सा यही नै हो ।  
36 परमप्रभुले पुजारीहरूलाई अभिषेक गर्नुभएको दिनमा इस्राएलका मानिसहरूबाट तिनीहरूलाई दिनको निम्ति उहाँले आज्ञा गर्नुभएको हिस्सा यही नै हो । सबै पुस्ताहरूमा यो तिनीहरूकै हिस्सा हुने छ ।  
37 होमबलि, अन्नबलि, पापबलि, दोषबलि, अभिषेकको बलि र मेलबलिका विधि यी नै हुन्,  
38 जुन परमप्रभुले सीनैको मरुभूमिमा इस्राएलका मानिसहरूलाई आफ्ना बलिदानहरू परमप्रभुलाई अर्पण गर्नू भनी आज्ञा दिनुभएको दिनमा सीनै पर्वतमा मोशालाई आज्ञा गर्नुभयो’ ।”