24
1 परमप्रभुले मोशालाई भन्नुभयो,  
2 “इस्राएलका मानिसहरूलाई बत्तीमा प्रयोग गरिनको निम्ति जैतूनलाई पिसेर शुद्ध तेल ल्याउनू भनेर भन्, ताकि बत्ती निरन्तर बलिरहोस् ।  
3 भेट हुने पालमा गवाही पर्दादेखि बाहिर परमप्रभुको सामु हारूनले साँझदेखि बिहानसम्म त्यो बत्ती बालिराखोस् । तिमीहरूका मानिसहरूको सारा वंशमा सदाको निम्ति यो एउटा विधि बनोस् ।  
4 प्रधान पुजारीले शुद्ध सुनको पानसमा भएका बत्तीहरू बालिराखोस् ।  
5 तैँले मसिनो पिठो लिएर बाह्रवटा रोटी बनाउनू । हरेक रोटीमा एक पाथी पिठो होस् ।  
6 त्यसपछि परमप्रभुको अगि शुद्ध सुनको टेबुलमाथि छ-छवटा गरी ती दुई ताँतीमा राख्नू ।  
7 रोटीहरूका दुवै ताँतीमा सम्झनाको भेटीस्वरूप शुद्ध धूप राख्नू । यही धूप परमप्रभुको निम्ति होमबलि हुने छ ।  
8 हरेक शबाथ दिनमा अनन्तको करारको चिन्हस्वरूप इस्राएलका मानिसहरूको खातिर प्रधान पुजारीले परमप्रभुको अगि त्यो रोटी राखोस् ।  
9 यो भेटी हारून र त्यसका छोराहरूका निम्ति हुने छ, र तिनीहरूले त्यो कुनै पवित्र ठाउँमा खाऊन्, किनभने त्यो परमप्रभुका निम्ति होमबलिको भेटीको भाग हो ।”  
10 एउटी इस्राएली स्त्रीको छोरा जसको बुबा एक मिश्री थियो, त्यो इस्राएलका मनिसहरूका बिचमा गयो । छाउनीमा त्यस इस्राएली स्त्रीको छोरा एउटा इस्राएली पुरुषसँग झगडा गर्यो ।  
11 इस्राएली स्त्रीको छोराले परमप्रभुको नाउँको निन्दा गर्यो र परमेश्वरलाई सराप्यो । यसैकारण मानिसहरूले त्यसलाई मोशाकहाँ ल्याए । त्यसकी आमाको नाम शलोमीत थियो जो दानका कुलको दिब्रीकी छोरी थिई ।  
12 परमप्रभु आफैले तिनीहरूलाई आफ्नो इच्छा नबताउनुभएसम्म तिनीहरूले त्यसलाई बन्दी बनाएर राखे ।  
13 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,  
14 “परमेश्वरलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाल् । त्यसको कुरा सुनेका सबैले आफ्ना हात त्यसको टाउकोमाथि राखून्, र त्यसपछि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् ।  
15 इस्राएलका मानिसहरूलाई तैँले यसरी सम्झाउनू, ‘आफ्ना परमेश्वरलाई सराप्नेले आफ्नो दोष आफै बोकोस् ।  
16 परमप्रभुको नाउँको निन्दा गर्ने मानिस मारियोस् । त्यो इस्राएलमा जन्मेको स्वदेशी वा परदेशी जो भए तापनि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् । परमप्रभुको नाउँको निन्दा गर्ने मानिस निश्चय नै मारियोस् ।  
17 यदि कसैले कोही अर्को मानिसलाई हिर्काएर मार्यो भने, त्यो निश्चय नै मारियोस् ।  
18 यदि कसैले अर्काको पशुलाई हानेर मार्यो भने, त्यसले प्राणको साटो प्राण नै भर्ना दिओस् ।  
19 यदि कसैले आफ्नो छिमेकीलाई घाइते बनायो भने, त्यसले आफ्नो छिमेकीलाई जे गरेको थियो त्यसलाई पनि त्यही गरियोस्,  
20 चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत । त्यसले अर्को मानिसलाई घाइते बनाएको कारण त्यसलाई पनि त्यस्तै गरियोस् ।  
21 जसले कुनै पशुलाई मार्छ त्यसले त्यसको भर्ना तिरोस्, र जसले अर्को मानिसलाई मार्छ त्यो मारियोस् ।  
22 परदेशी र स्वदेशमै जन्मिएको इस्राएली दुवैका निम्ति नियम एउटै होस्, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’ ।”  
23 यसैकारण मोशाले इस्राएलका मानिसहरूलाई यी कुरा बताए, र ती मानिसहरूले परमप्रभुलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाले । तिनीहरूले त्यसलाई ढुङ्गाले हाने । इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाको पालन गरे ।