6
यसैले सोलोमनले परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे । इस्राएलीहरू मिश्र देशबाट निस्केर आएको चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलमाथि राज्य गरेको चौथो वर्षको जीभ अर्थात् दोस्रो महिनामा कामको थालनी भएको थियो । सोलोमन राजाले परमप्रभुको निम्ति बनाएका मन्दिरको लमाइ साठी हात, चौडाइ बिस हात र उचाइ तिस हात थियो । मन्दिरको मुख्य सभाकक्षको सामुन्नेको दलान मन्दिरको चौडाइ बराबरको थियो अर्थात् बिस हातो लामो थियो, र त्यो मन्दिरको अगिल्तिर दस हातसम्म निस्केको थियो । तिनले मन्दिरको छानामुनिका साँघुरा झ्यालहरू बनाए । मुख्य सभाकक्षका भित्ताहरूको विपरीत तिनले यसको वरिपरि कोठाहरू बनाए अर्थात् तिनले भित्री र बाहिरी कोठा बनाए । तिनले चारैतिर कोठाहरू बनाए । सबैभन्दा मुनिको तलाको चौडाइ पाँच हात, बिचको तलाको चौडाइ छ हात र तेस्रो तलाको चौडाइचाहिँ सात हात थियो । तिनले मन्दिरका चारैपट्टि बाहिरतिर मन्दिरको भित्तामा केही नघुसाऊन् भनी पालीहरू निर्माण गरे । ढुङ्गाको खानीमा नै तयार पारिएका ढुङ्गाहरूबाट मन्दिर बनाइयो । यसको निर्माण हुँदा घन वा छिनु वा कुनै किसिमको फलामे औजारको आवाज सुनिएन । मन्दिरको दक्षिणपट्टि सबैभन्दा तल्लो तलाको प्रवेशद्वारा थियो, अनि त्यहाँबाट बिचको र तेस्रो तलामा जानलाई सिँढी थियो । यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए । तिनले मन्दिरलाई दलिन र देवदारुका फल्याकहरूले ढाके । 10 तिनले मन्दिरको भित्री कक्षको विपरीत किनाराका कोठाहरू बनाए र हरेक कोठाको उचाइ पाँच हात थियो । ती मन्दिरसँगै देवदारुका काठका सत्तरीले जोडिएका थिए । 11 परमप्रभुको यो वचन सोलोमनकहाँ आयो, 12 “तैँले बनाइरहेको यो मन्दिरको विषयमा भन्नुपर्दा, तैँले मेरा विधिविधानहरू पालन गरी न्याय कायम गरिस् र मेरा सबै आज्ञा पालन गरी तिनमा हिँडिस् भने मैले तेरा पिता दाऊदसित बाँधेको प्रतिज्ञा तँद्वारा नै पुरा गर्ने छु । 13 म इस्राएलका मानिसहरूका बिचमा बस्ने छु, र तिनीहरूलाई त्याग्ने छैनँ ।” 14 यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए । 15 तिनले देवदारुका फल्याकहरूले मन्दिरको भुइँदेखि दलिनसम्म भित्रपट्टिका भित्ताहरू बनाई मन्दिरको भुइँमा सल्लाका फल्याकहरू ओछ्याए । 16 तिनले मन्दिरको पछाडिपट्टि भुइँदेखि दलिनसम्म देवदारुका बिस हात लामा फल्याकहरू मिलाएर राखे । तिनले यसलाई भित्री कोठा अर्थात् महा-पवित्रस्थान बनाए । 17 महा-पवित्रस्थानको अगाडिपट्टि रहेको मुख्य कक्ष अर्थात् पवित्रस्थान चालिस हात लामो थियो । 18 मन्दिरको भित्रपट्टिको देवदारुको काठमा फक्रेका फुल र लौकाका बुट्टा कुँदिएका थिए । ती सबै देवदारुका थिए । एउटै पनि ढुङ्गा देखिँदैनथ्यो । 19 परमप्रभुको करारको सन्दुक राख्नका लागि सोलोमनले मन्दिरको भित्री कोठा तयार पारे । 20 भित्री कोठा बिस हात लामो, बिस हात चौडा र बिस हात अग्लो थियो । सोलोमनले भित्ताहरू निखुर सुनले मोहोरी वेदीलाई देवदारुको काठले ढाके । 21 सोलोमनले मन्दिरको भित्री भाग निखुर सुनले मोहोरे, र भित्री कोठाको सामुन्ने तिनले सुनका सिक्रीहरू झुण्ड्याए । 22 मन्दिरको निर्माण नसकिएसम्म तिनले सम्पूर्ण भित्री भाग सुनले मोहोरे । भित्री भागमा भएको वेदीलाई पनि तिनले सुनले मोहोरे । 23 सोलोमनले भित्री कोठाको लागि जैतूनको काठबाट दुईवटा करूब बनाए । प्रत्येकको उचाइ दस हात थियो । 24 पहिलो करूबको एउटा पखेटा पाँच हात लामो थियो भने अर्को पखेट पनि पाँचै हात लामो थियो । एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्म दस हात थियो । 25 दोस्रो करूबको नाप पनि दसै हात थियो । दुवै करूबको कद र आकार उही थिए । 26 एउटा करूबको उचाइ दस हात थियो र अर्कोको उचाइ पनि उत्ति नै थियो । 27 सोलोमनले करूबहरूलाई सबैभन्दा भित्री कोठामा राखे । ती करूबका पखेटाहरू बाहिरतिर फैलिएका थिए । एउटा करूबको एउटा पखेटाले एकापट्टिको भित्तालाई र अर्को करूबको एउटा पखेटाले अर्कोपट्टिको भित्तालाई छुन्थे । तिनीहरूका अर्का पखेटाहरूले चाहिँ महा-पवित्रस्थानको बिच भागमा एक-अर्कालाई छुन्थे । 28 सोलोमनले करूबहरूलाई सुनले मोहोरे । 29 तिनले मन्दिरका चारैपट्टिका भित्री र बाहिरी कोठाहरूका सबै भित्तामा करूब, खजूरका बोट र फक्रेका फुलका बुट्टाहरू कुँदे । 30 सोलोमनले मन्दिरका भित्री र बाहिरी कोठाहरूका भुइँलाई सुनले मोहोरे । 31 सोलोमनले भित्री कोठाको प्रवेशद्वारको लागि पाँच पट्टिका थाम भएका जैतूनको काठका ढोकाहरू बनाए । 32 यसरी तिनले जैतूनको काठका दुईवटा ढोका बनाए, र तिनका करूब, खजूरका बोट र फक्रेका फुलका चित्रहरू खोपे । तिनले तिनमा निखुर सुनले मोहोरी करूबहरू र खजुरका बोटहरूलाई सुनले ढाके । 33 यसै गरी, सोलोमनले मन्दिरको मुख्य सभाकक्षको प्रवेशद्वारको निम्ति जैतूनको काठका चार पट्टिका थामहरू बनाए । 34 तिनले खोपिल्टामा घुम्ने दुईवटा खापा भएका सल्लाका दुईवटा ढोका पनि बनाए । 35 तिनले तिनमा करूब, खजुरका बोट र फक्रेका फुलका चित्रहरू कुँदी तिनलाई सुनले मोहोरे । 36 तिनले भित्री चोक काटेका ढुङ्गाका तिन लहर गरी र देवदारुको काठको सत्तरीको एक लहर गरी बनाए । 37 चौथो वर्षको जीभ महिनामा परमप्रभुको मन्दिरको जग बसालियो । 38 एघारौँ वर्षको बूल महिना अर्थात् आठौँ महिनामा निर्देशनमुताबिक मन्दिरका सबै भाग बनाएर सिद्ध्याइयो । मन्दर बनाउन सोलोमनलाई सात वर्ष लाग्यो ।