18
धेरै दिन बितेपछि खडेरीको तेस्रो वर्षमा परमप्रभुको वचन एलियाकहाँ आयो, “आहाबकहाँ गएर आफैलाई प्रकट गर्, र म देशमा वृष्टि ल्याउने छु ।” आफैलाई आहाबकहाँ प्रकट गर्न एलिया गए । सामरियामा घोर अनिकाल परेको थियो । आहाबले राजदरबारको जिम्मावाल ओबदियालाई बोलाए । ओबदियाले परमप्रभुलाई अत्यन्तै आदर गर्थे । किनकि ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा ओबदियाले एक सय अगमवक्तालाई लिएर तिनीहरूलाई पचास-पचास गरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएका थिए । आहाबले ओबदियालाई भने, “देशको चारैतिर भएका खोलानाला र त्यसका मुहानहरूमा जाऊ । सायद हामीले घाँस पाउनेछौँ अनि घोडा र खच्चरहरूलाई जीवितै राख्न सक्छौँ । यसरी हामीले सबै पशु गुमाउने छैनौँ । त्यसैले निरीक्षण र पानीको खोजीको लागि तिनीहरूले देश विभाजन गरे । आहाब एकलै एकातिर गए, र ओबदिया अर्कोतिर गए । ओबदिया बाटोमा जाँदै गर्दा एलियाले अकस्मात् तिनलाई भेटे । ओबदियाले तिनलाई चिनिहाले र भुइँतिर शिर निहुराए । तिनले भने, “के तपाईं मेरा मालिक एलिया हुनुहुन्न र ?” एलियाले तिनलाई जवाफ दिए, “म नै हुँ । 'हेर, एलिया यहीँ छन्' भनी गएर तिम्रो मालिकलाई बताइदेऊ ।” ओबदियाले भने, “मैले के पाप गरेको छु, कि तपाईं आफ्ना दासलाई आहाबको हातमा मर्नलाई सुम्पनुहुन्छ ?” 10 परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि यस्तो कुनै जाति वा राज्य छैन जहाँ मेरा मालिकले तपाईंलाई फेला पार्न मानिसहरू पठाएका छैनन् । 'एलिया यहाँ छैनन्' भनी कुनै जाति वा राज्यले बताउँदा तिनीहरूले फेला पार्न सकेनन् भनी आहाबले तिनीहरूलाई भाकल गर्न लगाउँछन् । 11 तथापि अहिले तपाईं भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।' 12 म यहाँबाट जानेबित्तिकै परमप्रभुका आत्माले तपाईंलाई मैले नचिनेको ठाउँमा लैजानुहुने छ । तब मैले आहाबलाई गएर बताउँदा तिनले तपाईंलाई फेला नपारेपछि तिनले मलाई मार्ने छन् । तापनि म तपाईंका दासले त मेरो बाल्यकालदेखि नै परमप्रभुको आराधना गरेको छु । 13 हे मेरा मालिक, ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा मैले परमप्रभुका एक सय जना अगमवक्तालाई पचास-पचास गरी कसरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएँ भन्ने कुरो तपाईंलाई बताइएको छैन र ? 14 अहिले तपाईं मलाई भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।' तिनले मलाई मार्ने छन् ।” 15 तब एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभु जसको अगि म खडा छु, उहाँको नाउँमा शपथ खाएर म भन्दछु, कि निश्चय नै म आजै आहाबकहाँ देखा पर्ने छु ।” 16 त्यसैले ओबदिया आहाबलाई भेट्न गए, र एलियाले भनेका कुरा तिनलाई बताए । 17 तब राजा एलियालाई भेट्न गए । जब आहाबले एलियालाई देखे, तिनले तिनलाई भने, “तिमी नै एलिया हौ ? इस्राएलमा कष्ट ल्याउने तिमी नै हौ!” 18 एलियाले जवाफ दिए, “मैले इस्राएलमा कष्ट ल्याएको छैनँ, तर तपाईं र तपाईंको परिवारले परमप्रभुका आज्ञाहरू त्यागेर बाल देवताको पछि लागी कष्ट ल्याउनुभएको छ । 19 अब मलाई कर्मेल डाँडामा भेट गर्न सारा इस्राएलीलाई बोलाउनुहोस् । ईजेबेलको टेबुलमा बसेर खाने बालका चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्तालाई पनि ल्याउनुहोस् ।” 20 त्यसैले आहाबले सारा इस्राएलीलाई भेल हुन खबर पठाए, र तिनीहरू अगमवक्ताहरूसँगै कर्मेल डाँडामा जम्मा भए । 21 एलिया सबै मानिसका नजिक आई भने, “कहिलेसम्म तिमीहरू आफ्नो मन बद्लिरहन्छौ ? परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग । तर बाल परमेश्वर हो भने त्यसको पछि लाग ।” तापनि मानिसहरूले तिनलाई जवाफ दिएनन् । 22 तब एलियाले मानिसहरूलाई भने, “परमप्रभुको अगमवक्ताको रूपमा म एकलै छाडिएको छु, तर बालका अगमवक्ताहरू ४५० जना छन् । 23 तिनीहरूले हामीलाई दुईवटा साँढे देऊन् । तिनीहरू आफैले एउटा साँढेको छनोट गरी त्यसलाई टुक्राटुक्रा पारून्, अनि त्यसलाई दाउरामाथि राखून्, तर त्यसको मुनि आगो भने नलगाऊन् । त्यसपछि म अर्को साँढेलाई तयार पार्ने छु, र त्यसलाई दाउरामाथि राख्ने छु, तर त्यसको मुनि आगो भने लगाउँदिनँ । 24 तिमीहरूले आफ्नो देवतालाई पुकार गर, र म परमप्रभुलाई पुकार्ने छु । जसले आगोद्वारा जवाफ दिनुहुन्छ उहाँ नै परमेश्वर हुनुहुने छ ।” सबै मानिसले भने, “यो असल कुरो हो ।” 25 त्यसैले एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरूले एउटा साँढे छनोट गरी त्यसलाई तयार पार किनकि तिमीहरू सङ्ख्यामा धेरै छौ । त्यसपछि आफ्नो देवतालाई पुकार गर, तर साँढेको मुनि आगो नलगाओ ।” 26 तिनीहरूले तिनीहरूलाई दिइएको एउटा साँढे लिएर त्यसलाई तयार पारे, र बिहानदेखि दिउँसोसम्म यसो भन्दै बाललाई पुकार गरे, “हे बाल, हाम्रा कुरा सुन्नुहोस् ।” तर त्यहाँ कुनै आवाज आएन, न त कसैले जवाफ दियो । तिनीहरूले बनाएका वेदीको वरिपरि तिनीहरू नाचे । 27 मध्यान्हमा एलियाले तिनीहरूको खिसी गर्दै भने, “अझै चर्को गरी कराओ । त्यो पो देवता हो! उसले सोचविचार गर्दै होला वा काममा व्यस्त होला वा यात्रामा होला वा सुतिहरको छ होला । त्यसैले उसलाई ब्युँझाइनुपर्छ ।” 28 त्यसैले तिनीहरू अझै चर्को गरी चिच्च्याए, र तिनीहरूको आदतअनुसार तिनीहरूले आ-आफूलाई तरवार र भालाले प्रहार गरे । 29 मद्यदिन बितेर गयो, र तिनीहरू साँझको बलिदान चढाउने बेलासम्म तिनीहरू बरबराउँदै थिए, तर त्यहाँ कुनै आवाज सुनिएन न त कसैले जवाफ दियो । तिनीहरूका बिन्तीलाई ध्यान दिने कोही भएन । 30 तब एलियाले मानिसहरूलाई भने, “मेरो नजिक आओ ।” सबै मानिस तिनको नजिक आए । त्यसपछि तिनले परमप्रभुको भत्केको वेदी मर्मत गरे । 31 एलियाले बाह्रवटा ढुङ्गा लिए । प्रत्येकले याकूबका बाह्र छोराको प्रतिनिधित्व गर्थ्यो । यी तिनै याकूब हुन् जसकहाँ परमप्रभुको यस्तो वचन आएको थियो, “तेरो नाउँ इस्राएल हुने छ ।” 32 ती ढुङ्गाहरूले तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए, र त्यस वेदीको वरिपरि पन्ध्र लिटर जति बिउ जाने ठुलो खाडल खने । 33 तिनले आगो लगाउन दाउराको बन्दोवस्त गरे, साँढेलाई टुक्राटुक्रा पारे, र ती टुक्राहरूलाई दाउरामाथि राखे । तिनले भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्याइदेओ ।” 34 त्यसपछि तिनले भने, “दोस्रो पटक पनि यसै गर ।” तिनीहरूले दोस्रो पटक पनि त्यसै गरे । फेरि एक पटक तिनले भने, “तेस्रो पटक पनि यसै गर ।” तिनीहरूले तेस्रो पटक पनि त्यसै गरे । 35 पानी वेदीको चारैतिर पोखियो र खाडल भरियो । 36 साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता नजिक आएर भने, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईं इस्राएलका परमेश्वर हुनुहुन्छ र म तपाईंका दास हुँ र यी सबै कुरा मैले तपाईंको वचनअनुसार गरेको छु भनी आज थाहा होस् । 37 हे परमप्रभु, मेरो कुरा सुन्नुहोस्, तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ र तपाईंले नै यी मानिसहरूका ह्रदय फर्काउनुभएको छ भनी यी मानिसहरूले जानून् ।” 38 तब परमप्रभुको आगो खसी होमबलि, दाउरा, ढुङ्गाहरू, धूलोलाई नष्ट पार्‍यो, र खाडलको पानी पनि सुकाइदियो । 39 जब सबै मानिसले यो देखे तिनीहरूले आ-आफ्ना शिर झुकाई भने, “परमप्रभु नै परमेश्वर हुनुहुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!” 40 त्यसैले एलियाले तिनीहरूलाई भने, “बालका अगमवक्ताहरूलाई पक्र । एउटै पनि भाग्न नपाओस् ।” त्यसैले तिनीहरूले बालका अगमवक्कताहरूलाई पक्रे र तिनीहरूलाई कीशोन खोलामा ल्याई मारे । 41 एलियाले आहाबलाई भने, “उठ्नुहोस्, खानपान गर्नुहोस् र पिउनुहोस् किनकि ठुलो झरीको आवाज आउँदै छ ।” 42 त्यसैले आहाब खानपान गर्न र पिउनलाई गए । तब एलिया कर्मेल डाँडाको टाकुरामा उक्ले, भुइँमा आफ्नो शिर झुकाई आफ्ना घुँडाहरूका बिचमा आफ्नो मुहार राखे । 43 तिनले आफ्नो नोकरलाई भने, “गएर समुद्रतिर गएर हेर् ।” तिनको नोकर गएर हेर्‍यो र फर्केर आई भन्यो, “त्यहाँ केही छैन ।” त्यसैले एलियाले भने, “सातपल्ट गएर हेर् ।” 44 सातौँ पटकमा नोकरले भन्यो, “हेर्नुहोस्, मानिसको हातजस्तै समुद्रबाट सानो बादल उठिरहेको छ ।” एलियाले जवाफ दिए, “गएर आहाबलाई भन्, 'आफ्नो रथ तयार गरेर तल जानुहोस् नत्रता पानीले तपाईंलाई रोक्ने छ ।” 45 केही क्षणमा नै बादल कालो भयो र हुरी चल्यो, अनि त्यहाँ ठुलो झरी पर्‍यो । आहाब रथमा चढेर यिजरेलमा गए, 46 तर परमप्रभुको हात एलियामाथि थियो । तिनले आफ्नो खास्टो पटुकामा कसे, र यिजरेलको प्रवेशद्वारसम्मै आहाबको अगिअगि कुदे ।