29
निर्वासितहरूका बिचमा बाँकी रहेका धर्म-गुरुहरू, पुजारीहरू, अगमवक्ताहरू र सबै मानिस जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको मुट्ठोमा लिखित वचनहरू यी नै हुन् । राजा यहोयाकीन, राजमाता, उच्‍च अधिकारीहरू, यहूदाका र यरूशलेमका अगुवाहरू र कारीगरहरू यरूशलेमबाट निर्वासनमा लगिएपछि यो वचन लेखियो । तिनले यो मुट्ठो शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याहको हातबाट पठाएका थिए, जसलाई यहूदाका राजा सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरकहाँ पठाएका थिए । मुट्ठामा यस्तो लेखियो, “मैले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेका सबै कैदीलाई, म, सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍छु, 'घरहरू बनाओ र तिनमा बस । बारीहरूमा बीउ रोप र तिनको फल खाओ । बिहेबारी गर र छोराहरू र छोरीहरू जन्माओ । त्यसपछि आफ्ना छोराहरूका लागि पत्‍नीहरू ल्याओ, र आफ्ना छोरीहरू तिनीहरूका पतिहरूलाई देओ । तिनीहरूले छोराहरू र छोरीहरू जन्माऊन्, र त्यहाँ आफ्नो सङ्ख्या बढाओ, घटाउने होइन । मैले तिमीहरूलाई जहाँ निर्वासित गरेको छु, त्यस सहरको शान्ति खोज, र यसको पक्षमा मलाई अन्तर-बिन्ती चढाओ, किनकि यो शान्तिमा रह्‍यो बने तिमीहरूलाई शान्ति हुनेछ ।' किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूका बिचमा भएका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्, र तिमीहरू आफैले देखेका सपनाका कुराहरू नमान । किनकि तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई छलको अगमवाणी बोल्दैछन् । मैले तिनीहरूलाई पठाइनँ, यो परमप्रभुको घोषणा हो ।' 10 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'बेबिलोनले तिमीहरूमाथि सत्तरी वर्षसम्म शासन गरिसकेपछि म तिमीहरूलाई मदत गर्नेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउछु भन्‍ने मेरो असल वचन पुरा गर्नेछु । 11 किनकि तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु, यो परमप्रभुको घोषणा हो, तिमीहरूलाई एउटा भविष्य र आशा दिनलाई ती शान्तिका योजनाहरू हुन्, विपत्तिका होइनन् । 12 तब तिमीहरूले मलाई पुकार्नेछौ, र जानेछौ र मलाई प्रार्थना चढाउनेछौ, र म तिमीहरूको प्रार्थना सुन्‍नेछु । 13 किनकि तिमीहरूले मलाई खोज्‍नेछौ र भेट्टाउनेछौ, किनभने तिमीहरूले मलाई आफ्‍ना सारा हृदयले खोज्नेछौ । 14 तब तिमीहरूले मलाई भेट्टाइनेछौ, यो परमप्रभुको घोषणा हो, र म तिमीहरूका सुदिन फर्काउनेछु । मैले तिमीहरूलाई छरपष्‍ट पारेका सबै जाति र ठाउँहरूबाट म तिमीहरूलाई जम्मा गर्नेछु, यो परमप्रभुको घोषणा हो, मैले तिमीहरूलाई जुन ठाउँबाट निर्वासित गरें, त्यहाँबाट म तिमीहरूलाई फर्काएर ल्याउनेछु ।' 15 परमेश्‍वरले हाम्रा निम्ति बेबिलोनमा नै अगमवक्ताहरू खडा गर्नुभएको छ भनी तिमीहरूले भनेकको हुनाले, 16 दाऊदको सिंहासनमा बस्‍ने राजा र त्यस सहरमा बसोबास गरेका सबै मानिसलाई परमप्रभु यसो भन्‍नुहुन्छ, तिमीहरूका दाजुभाइ जो तिमीहरूसँग निर्वासनमा गएका छैनन्— 17 हेर, तिनीहरूकहाँ मैले तरवार, अनिकाल र विपत्ति ल्याउनै लागेको छु, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ । किनकि म तिनीहरूलाई कुहेका अञ्जीरहरूजस्तै तुल्याउनेछु जुन खानलाई असाध्‍ये खराब हुन्‍छन्‌ । 18 त्‍यसपछि म तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले खेद्‍नेछु, अनि म तिनीहरूलाई पृथ्वीका सबै राज्यमा घृणाको दृश्‍य, मैले तिनीहरूलाई छरपष्‍ट पारेका सबै जातिका बिचमा तिनीहरूलाई त्रास, सराप र गिल्लाको पात्र र लाजका कुरा बनाउनेछु । 19 तिनीहरूकहाँ मेरा दासहरू र अगमवक्ताहरूमार्फत मैले पठाएको मेरो वचन तिनीहरूले नसुनेको कारणले यसो हुनेछ, यो परमप्रभुको घोषणा हो । मैले तिनीहरूलाई पटक-पटक पठाएँ, तर तिमीहरूले सुनेनौ, यो परमप्रभुको घोषणा हो ।' 20 त्यसैले हे सबै निर्वासितहरू हो, जसलाई उहाँले यरूशलेमबाट बेबिलोनमा पठाउनुभएको छ, तिमीहरू आफूले भने परमप्रभुको वचन सुन । 21 'कोलायाहका छोरा आहाब र मासेयाहका छोरा सिदकियाह, जसले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी बोल्‍छन्, हेर्, तिनीहरूको विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा दिनै लागेको छु । उसले तिनीहरूलाई तिमीहरूकै आँखाको सामु मार्नेछ । 22 त्‍यसपछि बेबिलोनमा भएका यहूदाका सबै निर्वासितद्वारा यी व्यक्तिहरूको बारेमा सरापको वचन बोलिनेछ । सराप यस्‍तो हुनेछ, 'परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबजस्तै बनाऊन्, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए । 23 तिनीहरूले आफ्ना छिमेकीहरूका पत्‍नीहरूसित व्यभिचार गरेर अनि मैले तिनीहरूलाई भन्‍नलाई कहिल्यै आज्ञा नगरेका झूटा कुराहरू मेरो नाउँमा घोषणा गरेर, तिनीहरूले इस्राएलमा गरेका लज्‍जित कुराहरूका कारणले यस्‍तो हुनेछ । किनकि मलाई यो कुरा थाहा छ, र म साक्षी हुँ, यो परमप्रभुको घोषणा हो । 24 नेहेलामवासी शमायाह बारेमा यसो भन्, 25 “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'यरूशलेमका सबै मानिस, पुजारी मासेयाहका छोरा सपन्याह र सबै पुजारीलाई तेरो आफ्‍नै नाउँमा चिट्ठीहरू लेखेर यसो भनिस्, 26 'पुजारी यहोयादाको सट्टामा परमप्रभुले तिमीलाई परमप्रभुको मन्दिरको जिम्मा लिन पुजारी बनाउनुभएको छ । तिमी बरबराएर आफैलाई अगमवक्ताहरू बनाउने सबै मानिसको नियन्त्रणमा छौ । तिमीहरूले तिनीहरूलाई साङ्लाले बाँधेर ठिंगुरोमा हाल्नू । 27 त्यसैले अब, तिम्रो विरुद्धमा आफैलाई अगमवक्ता बनाउने अनातोतको यर्मियालाई किन हप्काएनौ ? 28 किनकि बेबिलोनमा उसले हामीलाई यस्तो चिट्ठी पठाएको छ र भनेको छ, 'निर्वासन लामो समयसम्म हुनेछ । घरहरू बनाओ र तिनमा बस, र खेतबारीमा बीउ रोप र तिनको फल खाओ' ।” 29 यर्मिया अगमवक्ताले सुन्‍ने गरी पुजारी सपन्याहले यो पत्र पढे । 30 तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो, 31 “सबै निर्वासितकहाँ यो खबर पठा र यसो भन्, 'नेहेलामवासी शमायाहको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छः म आफैले शमायाहलाई नपठाउँदा पनि उसले तिमीहरूलाई अगमवाणी बोलेको र उसले तिमीहरूलाई झूटा कुराहरूमा विश्‍वास गर्न डोर्‍याएको छ, 32 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छः नेहेलामवासी शमायाह र त्यसका सन्तानहरूलाई मैले दण्ड दिनै लागेको छु । यस जातिको बिचमा बस्‍न त्यसको लागि कुनै मानिस हुनेछैन । मैले आफ्‍ना मानिसहरूलाई गर्ने भलाइ त्यसले देख्‍नेछैन, यो परमप्रभुको घोषणा हो, किनकि उसले परमप्रभुको विरुद्धमा विद्रोहको घोषणा गरेको छ' ।”