2
परमप्रभुको वचन मकहाँ यसो भनेर आयो, “जा र यरूशलेमले सुन्‍ने गरी घोषणा गर् । यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्छः तेरो युवावस्थामा भएको करारको विश्‍वसनियता, हाम्रो मगनी भएको बेलाको तेरो प्रेम, बीउ नछरिएको त्यस देशको उजाड-स्थानमा तँ मेरो पछि लागेको समयलाई याद गर्न मैले तँलाई बोलाएको छु । परमपप्रभुको फसलको अगौटे फल इस्राएललाई उहाँको निम्ति अलग गरियो । अगौटे फलबाट खाने सबै जना दोषी ठहरिए । तिनीहरूमाथि विपत्ति आइपर्‍यो, यो परमप्रभुको घोषणा हो ' ।” हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन । परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए ? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए । तिनीहरूले यसो भनेनन्, 'हामीलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु कहाँ हुनुहुन्छ ? हामीलाई उजाड-स्थानमा, अराबाको देश र खाडलहरूमा, सुख्‍खा र घोर अन्धकारको देशमा, कोही नजाने र कोही नबस्‍ने देशमा अगुवाइ गर्नुहुने परमप्रभु कहाँ हुनुहुन्छ ? तर मैले तिमीहरूलाई कर्मेलको फल र अन्य असल खानेकुराहरू खान त्‍यस देशमा ल्याएँ । तापनि जब तिमीहरू आयौ, तिमीहरूले मेरो देशलाई दुषित पार्‍यौ । तिमीहरूले मेरो उत्तराधिकारलाई घृणित बनायौ । पुजारीले सोधेन, 'परमप्रभु कहाँ हुनुहुन्छ ?', र व्यवस्थाका ज्ञाताहरूले मेरो बारेमा वास्तै गरेनन् । गोठालाहरूले मेरो विरुद्धमा अपराध गरे । अगमवक्ताहरूले बाल देवताको लागि अगमवाणी बोले, र व्यर्थैका कुराहरूको पछि लागे । त्यसैले परमप्रभु घोषणा गर्नुहुन्छ, म अझै पनि तिमीहरूलाई दोष लगाउनेछु र तिमीहरूका छोराहरूलाई दोष लगाउनेछु । 10 किनकि कित्तीमका किनारहरू पार गर र हेर । केदारमा सन्देशवाहकहरू पठाओ र पत्ता लगाओ, र त्यहाँ यस्तो काम पहिले कहिल्यै भएको रहेछ कि भनी हेर । 11 के कुनै जातिले आफ्ना देवताहरू साटेका छन् ? यद्यपि ती देवताहरू नै थिएनन् । तर जुन कुराले मेरो जातिलाई मदत गर्न सक्दैन, तिनै कुरासित तिनीहरूले आफ्‍नो महिमालाई साटेका छन् । 12 यही कारणले गर्दा हे आकाशमण्डल, थरथर हो, चकित हो र डरले काँप, यो परमप्रभुको घोषणा हो । 13 किनकि मेरो जातिले मेरो विरुद्धमा दुईवटा दुष्‍ट काम गरेको छः तिनीहरूले जिउँदो पानीको मुललाई त्यागेका छन्, र तिनीहरूले आफ्नै निम्ति पानी चुहिने कुवाहरू खनेका छन् । 14 के इस्राएल दास हो ? के त्यो आफ्नो मालिकको घरमा जन्मेको थियो ? त्यसो भए, त्यो किन लुटको माल भएको छ त ? 15 जवान सिंहहरू त्यसको विरुद्धमा गर्जे । तिनीहरूले ठुलो स्‍वरले गर्जेका छन्, र त्यसको देशलाई त्रसित पारेका छन् । त्यसका सहरहरू बासिन्दाहरू नरहने गरी नष्‍ट पारिएका छन् । 16 साथै, मेम्फिस र तहपनेसका मानिसहरूले तेरो शिर खौरिनेछन् । 17 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अगुवाइ गरिरहनुहुँदा तिमीहरूले उहाँलाई त्यागेर के यो तिमीहरू आफ्‍नै निम्‍ति गरेका होइनौ र ? 18 त्यसैले अब, शिहोर नदीको पानी पिउन किन मिश्रदेशमा पुर्‍याउने बाटो भएर जान्छौ ? यूफ्रेटिस नदीको पानी पिउन किन अश्शूरमा पुर्‍याउने बाटो भएर जान्छौ ? 19 तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ । त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो । 20 किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ । मैले तेरा बन्धनहरू फुकाइदिएँ । तरै पनि तैंले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ!' किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्‍नो शिर झुकाइस्, तँ वेश्‍या होस् । 21 मैले तँलाई पूर्ण रूपले शुद्ध बीउबाट असल दाखको बोटको रूपमा रोपेको थिएँ । तब तैंले आफैलाई भ्रष्‍ट र बेकम्मा दाखको बोटको रूपमा कसरी परिवर्तन गरिस् ? 22 तैंले आफैलाई नदीमा सफा गरिस् वा साबुनले धोइस् भने पनि, तेरो अधर्म मेरो सामु दागझैं छ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 23 'म बिटुलो पारिएको छैनँ! म बाल देवताको पछि लागेको छैनँ' भनी तैले कसरी भन्‍न सक्छस् ? तैंले उपत्यकाहरूमा के गरिस्, सो हेर् । तैंले गरेको कुरालाई विचार गर् । तँ यताउता कुदिहिंड्ने चञ्चल पोथी ऊँट हो, 24 तँ उजाड-स्थानमा बस्‍न आदत भएको कामातुर भएर हावा सुँघ्‍दै हिंड्ने वन-गधैनी हो। त्यसको कामवासनालाई कसले नियन्त्रण गर्न सक्छ ? त्यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन । मैथुनको समयमा तिनीहरूले त्यसलाई फेला पार्नेछन् । 25 तेरो खुट्टालाई नाङ्गो हुनबाट र तेरो घाँटीलाई तिर्खाउनबाट तैंले नियन्त्रण गर्नुपर्छ । तर तैंले भनेको छस्, 'यो आशारहित छ! अहँ, म परदेशीहरूलाई प्रेम गर्छु र तिनीहरूकै पछि लाग्छु ।' 26 चोर समातिंदा त्यो लज्‍जित भएझैं, इस्राएलको घराना लज्‍जित हुने छ । तिनीहरू, तिनीहरूका राजाहरू, तिनीहरूका राजकुमारहरू, र तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू लज्‍जित हुनेछन् । 27 यी तिनै हुन् जसले रुखलाई भन्‍छन्, 'तिमी मेरा पिता हौ', र ढुङ्गालाई 'तिमीले मलाई जन्म दियौ' । किनकि तिनीहरूले मतर्फ पिठिउँ फर्काउँछन्, आफ्‍ना अनुहार होइन । तापनि सङ्कष्‍टको समयमा तिनीहरू भन्छन्, 'उठ्नुहोस् र हामीलाई बचाउनुहोस्!' 28 तापनि तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कहाँ छन् ? तिमीहरूको सङ्कष्‍टको समयमा तिमीहरूलाई बचाउन तिनीहरूको इच्छा भए तिनीहरू उठून्, किनकि हे यहूदा, तेरा जति सहरहरू छन्, त्यति नै तेरा मुर्तिहरू छन् । 29 त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस् ? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो । 30 मैले तेरो जातिलाई व्यर्थैमा दण्ड दिएको छु । तिनीहरूले अनुशासनलाई स्वीकार गर्दैनन् । तिमीहरूको तरवारले तिमीहरूका अगमवक्ताहरूलाई विनाश गर्ने सिंहले झैं निलेको छ । 31 हे यस पुस्ताका मानिस हो, मेरा वचन, परमप्रभुको वचनमा ध्यान देओ । के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र ? किन मेरो जातिले यसो भन्छ, 'हामी वरिपरि घुम्‍न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौं' ? 32 के कन्याले आफ्नो गरगहना, दुलहीले आफ्ना घुम्टो भुल्छे र ? तरै पनि मेरो जातिले मलाई गन्‍नै नसक्‍ने दिनदेखि भुलेको छ । 33 प्रेमको खोजी गर्न कसरी तैंले आफ्नो मार्ग बनाउँछेस् ? तैंले दुष्‍ट स्‍त्रीहरूलाई पनि आफ्ना मार्गहरू सिकाएको छेस् । 34 तेरा वस्‍त्रहरूमा निर्दोष गरिब मानिसहरूको जीवनको रगत भेट्टाइएको छ । यी मानिसहरू घरमा चिरी गरिरहँदा भेट्टाइएका होइनन् । 35 तरै पनि तँ भन्छेस्, 'म निर्दोष छु । निश्‍चय नै उहाँको क्रोध मबाट तर्केर गएको छ ।' तर हेर! 'मैले पाप गरेको छैनँ' भनी तैंले भनेको हुनाले म तँमाथि इन्साफ ल्याउनेछु । 36 तेरा मार्गमा यो बद्लाउलाई तँ किन निकै हलुकासित लिन्छेस् ? जसरी अश्शूरले तँलाई निरुत्साही पार्‍यो, त्यसै गरी मिश्रदेशले पनि तँलाई निरुत्साही पार्नेछ । 37 आफ्नो शिरमा आफ्ना हात राखेर तँ त्यहाँबाट दुःखी भएर जानुपर्ने हुन्छ, किनकि तैंले जस-जसमाथि भरोसा गरेको छेस्, तिनीहरूलाई परमप्रभुले इन्कार गर्नुभएको छ । त्यसैले तिनीहरूबाट तैंले मदत पाउनेछैनस् ।