47
ए बेबिलोनकी कन्ये छोरी, तल आइज र धूलोमा बस् । ए कल्दीकी छोरी सिंहासनविना नै जमिनमा बस् । तँलाई कदापि सुकुमार र कोमल भनिनेछैन । जाँतो लि र पीठो पिंध् । तेरो घुम्टो हटा, तेरो लामो वस्‍त्र उतार, तेरा गोडाहरू नाङ्गो पार्, खोलाहरू तर् । तेरो नाङ्गोन देखिनेछ, हो, तेरो लाज देखिनेछ । म बद्ला लिनेछु र एक जना मानिसलाई पनि छोड्नेछैन । सर्वशक्तिमान् परमप्रभु हाम्रा उद्धारक, इस्राएलको परमपवित्र उहाँको नाउँ हो । कल्दीकी छोरी, शान्‍त बस् र अँध्यारोमा जा । किनकि तँलाई कदापि राज्यहरूको रानी भनिनेछैन । म आफ्‍ना मानिसहरूसित रिसाएको थिएँ । मैले मेरो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ र तिनीहरूलाई तेरो हातमा सुम्‍पें, तर तैंले तिनीहरूलाई कुनै दया देखाइनस् । वृद्ध मानिसहरूमाथि तैंले धेरै गह्रौं जुवा बोकाइस् । तैंले भनिस्, “म सदासर्वदा प्रभुत्‍वशाली रानी भएर राज्‍य गर्नेछु ।” यी कुराहरूलाई तैंले मनमा राखिनस्, न ती के हुनेछन् भनी तैंले विचार गरिस् । त्यसैले अब यो कुरा सुन, तिमीहरू जो विलासिता रुचाउँछौ र निष्फिक्रि बस्छौ । तिमीहरू जसले आफ्नो मनमा भन्छौ, “म अस्तित्वमा छु, र मजस्तो त्‍यहाँ अरू कोही छैन । म कहिल्यै विधवाझैं बस्‍नेछैन, न छोराछोरी नाश भएको अनुभव म कहिल्यै गर्नेछु ।” तर यी दुई कुराहरू एकै दिनमा एकै छिनमा तँलाई हुनेछन्ः छोराछोरीको नाश र विधवापन । तँसँग मन्त्रतन्त्र, टुनामुना र जन्तरहरू भए पनि ती तँमाथि पुरा शक्‍किका साथ आउनेछन् । 10 तैंले आफ्‍ना दुष्‍टतामा भरोसा गरिस् । तैंले भनेको छस्, “मलाई कसैले देख्दैन ।” तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्‍नो मनमा भन्छस्, “म अस्तित्वमा छु, त्‍यहाँ मजस्‍तो अरू कोही छैन ।” 11 तँमाथि विपत्ति आइपर्नेछ । आफ्‍नो मन्त्रतन्त्रले तैंले त्‍यो धपाउन सक्‍नेछैनस् । तँमाथि विनाश आउनेछ । तैंले त्‍यसलाई तर्काउन सक्‍नेछैनस् । तैंले थाहा पाउनुअगि नै विपत्तिले तँलाई अचानक प्रहार गर्नेछ । 12 आफ्‍नो तन्त्रमन्त्र र आफ्‍ना धेरै टुनामुनामा निरन्‍तर लाग्, जसलाई तैंले आफ्‍नो बाल्यकालदेखि नै विश्‍वस्‍ततासाथ उच्‍चारण गरेको छस् । सायद तँ सफल हुनेछस्, सायद तैंले विपत्तिलाई भगाउनेछस् । 13 तेरा धेरै सल्लाहरूदेखि तँ थाकेको छस् । ती मानिसहरू खडा होऊन् र तँलाई बचाऊन्— तिनीहरू जसले आकाशको मानचित्र बनाउँछन्, र ताराहरू हेर्छन्, जसले औंसीको घोषणा गर्छन्— तँलाई जे हुनेछ सोबाट तिनीहरूले नै तँलाई बचाऊन् । 14 हेर, ती परालको झ्‍यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्‍वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्‍नलाई आगो छैन ! 15 तेरो निम्ति तिनीहरू यस्तै भएका छन्— जससँग तैंले काम गरेको छस्, अनि तिनीहरूसँग तैंले आफ्‍नो जवानीखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए । तँलाई छुटकारा दिने सक्‍ने त्‍यहाँ कोही छैन ।”