23
टुरोसको बारेमा एउटा घोषणाः ए तर्शीशका पानी जहाजहरू हो कराओ । किनकि त्यहाँ न घर छ न बन्दरगाह नै छ । साइप्रसको देशबाट यो कुरा तिनीहरूलाई प्रकट गरिएको छ । ए समुद्री तटका बासिन्दाहरू हो, मौन बस । समुद्रमा यात्रा गर्ने सीदोनका व्यापारीहरूले तिमीहरूलाई भरिदिएका छन् । ठुला पानीमाथि सिहोरको अन्‍न थियो, नील नदीको उत्पादन त्यसको उब्‍जनी थियो । अनि त्‍यो जातिहरूको व्यापार भयो । ए सीदोन, लज्‍जित हो, किनकि समुद्रले, समुद्रको शक्तिशालीले बोलेको छ । त्यसले भन्छ, “म प्रसव वेदनामा परेको छैन, न बालक जन्माएको छु, न मैले छोराहरू हुर्काएको छु, न छोरीहरू हुर्काएको छु ।” मिश्रदेशमा खबर आउँदा, टुरोसको विषयमा तिनीहरूले शोक गर्नेछन् । तर्शीशपारि जाओ । ए समुद्र तटका बासिन्दाहरू हो, तिमीहरू विलाप गर । ए आनन्दित सहर, के तँलाई यस्तो भएको छ, जसको उत्‍पत्ति प्राचीन समयमा नै भएको छ, जसका खुट्टाले त्यसलाई बसोबास गर्न विदेशी भूमिमा पुर्‍याएको छ ? मुकुटहरू दिने टुरोसको विरुद्धमा यो योजना कसले बनाएको हो, जसका व्यापारीहरू शासकहरू छन्, जसका व्यापारीहरू पृथ्वीमा नै आदरणिय छन्? त्यसका घमण्ड र त्‍यसका सबै गौरवलाई अपमान गर्न, त्‍यसका पृथ्वीकै आदरणियलाई लज्‍जित पार्न सर्वशक्तिमान् परमप्रभुले नै यो योजना बनाउनुभएको हो । 10 ए तर्शीशकी छोरी हो, नील नदीलाई जोतेझैं आफ्नो खेत जोत् । टुरोसमा अब फेरि बजार-क्षेत्र छैन । 11 परमप्रभुले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ र उहाँले राज्यहरूलाई हल्लाउनुभएको छ । फोनिकेको विषयमा त्‍यसका किल्लाहरूलाई नाश गर्ने आज्ञा उहाँले दिनुभएको छ । 12 उहाँले भन्‍नुभयो, “ए सीदोनकी अत्‍याचारमा परेकी कन्या छोरी, तैले फेरि आनन्द मनाउने छैनस् । उठ्, साइप्रसमा पारि जा । तर तैंले त्यहाँ पनि विश्राम पाउनेछैनस् ।” 13 कल्दीहरूको देशलाई हेर् । यी मानिहरू समाप्‍त भएका छन् । अश्‍शूरीहरूले त्‍यसलाई जङ्गली जनावरहरूको निम्ति उजाड-स्‍थान बनाएका छन् । तिनीहरूले आफ्‍ना घेरा-मचान खडा गरेका छन् । तिनीहरूले त्‍यसका दरबारहरू नष्‍ट गरे । तिनीहरूले त्‍यसलाई भग्‍नावशेषको थुप्रो बनाए । 14 ए तर्शीशका पानी जहाजहरू हो, कराओ । किनकि तिमीहरूका शरणस्थान विनाश गरिएको छ । 15 त्यो दिनमा, राजाका समयमा झैं टुरोसलाई सत्तरी वर्षसम्म बिर्सिइनेछ । सत्तरी वर्षको अन्‍तमा टुरोसमा वेश्यको गीतमा जस्तै कुनै कुरा हुनेछ । 16 ए बिर्सिएकी वेश्‍या, एउटा वीणा लि र सहरमा जा । त्‍यो राम्ररी बजा, धेरै गीतहरू गा, ताकि तेरो सम्झना गरिनेछ । 17 सत्तरी वर्षपछि त्‍यो दिन यस्‍तो हुनेछ, परमप्रभुले टुरोसलाई सहायता गर्नुहुनेछ र त्यसले फेरि वेश्यवृत्ति गरेर पैसा कमाउन सुरु गर्नेछे, र त्यसले आफ्ना सेवाहरू पृथ्वीका सबै राज्यहरूलाई दिनेछे । 18 त्यसका नाफाहरू र कमाइहरू परमप्रभुको निम्ति अलग गरिनेछ । ती भण्डारमा राखिने वा कोषमा जम्‍मा गरिने छैन, किनकि त्यसका नाफाहरू पमप्रभुको उपस्थितिमा बस्‍नेहरूलाई दिइनेछ र तिनीहरूलाई प्रशस्त खाना आपुर्ती गर्न प्रयोग गरिनेछ, र यसरी तिनीहरूसँग उत्तम गुणस्तर लुगा हुनेछ ।