14
परमप्रभुले याकूबलाई दया गर्नुहुनेछ । उहाँले फेरि पनि इस्राएललाई रोज्‍नुहुनेछ र तिनीहरूलाई आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ । परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् र आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन् । जातिहरूले तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन् । तब इस्राएलको घरानाले तिनीहरूलाई सेवक र सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन् । तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् र तिनीहरूले आफ्‍ना अत्याचारीहरूमाथि राज्‍य गर्नेछन् । त्‍यो दिनमा तिमीहरूका कष्‍ट र पीडाबाट, अनि तिमीहरूले गर्नुपर्ने कडा परिश्रमबाट परमप्रभुले तिमीहरूलाई विश्राम दिनुहुन्‍छ, तब तिमीहरूले बेबिलोनको राजाको विरुद्ध यो गिल्लाको गीत गाउनेछौ, “अत्याचारीको अन्त्‍य कसरी भएको छ, घमण्डी क्रोधको अन्त्‍य भयो ! परमप्रभुले दुष्‍टहरूको लट्ठी र ती शासकहरूको राजदण्ड भाँच्‍नुभएको छ, जसले मानिसहरूलाई क्रोधमा निरन्‍तर रूपमा प्रहार गर्‍यो, जसले अनियन्त्रित रूपमा आक्रमण गरेर जातिहरूमाथि क्रोधमा राज्‍य गर्‍यो । सम्‍पूर्ण पृथ्वी नै विश्राममा छ र शान्त छ । तिनीहरूले गीत गाउँदै उत्सव मनाउन सुरु गर्छन् । सल्लाका रूखहरू लेबनानको देवदारुहरूसँगै तँलाई देखेर रमाउँछन् । तिनीहरू भन्छन्, 'तँलाई तल खसालिएको हुनाले, हामीलाई काटेर ढाल्न काठ काट्ने कुनै मानिस माथि आउनेछैन ।' तँ चिहानमा जाँदा, तँलाई भेट्न चिहान उत्सुक हुन्छ । पृथ्वीका सबै राजालाई, जातिहरूका सबै राजालाई, आफ्‍ना सिंहासनबाट माथि खडा हुन लगाएर तेरो निम्ति त्‍यसले मृतहरूलाई जगाउँछ । 10 तिनीहरू सबै बोल्नेछन् र तँलाई यसो भन्‍नेछन्, 'तँ पनि हामीजस्तै कमजोर भएको छस् । तँ पनि हामीजस्तै भएको छस् । 11 तेरो तडकभडकलाई तेरो वीणाहरूको आवाजसँगै चिहनामा ल्याइएको छ । तँमुनि औंसाहरू फैलिएका छन् र तँलाई किराहरूले ढाकेको छ ,' 12 ए दिनको तारा, बिहानको पुत्र, तँ कसरी स्‍वर्गबाट तल झरेको छस् ! जातिहरूमाथि विजय पाएको, तँलाई कसरी भूइँमा ढालिएको छ ! 13 तैंले आफ्नो हृदयमा भनेको थिइस्, 'म स्वर्गमा चढ्‍नेछु, परमेश्‍वरका ताराहरूभन्दा माथि म आफ्‍नो सिंहासनलाई उचाल्नेछु, र सभाको पहाडमाथि सूदूर उत्तरमा म विराजमान हुनेछु । 14 बादलहरूको उचाइभन्दा माथि म चड्‍नेछु । म आफैलाई सर्वोच्‍च परमेश्‍वरजस्तै बनाउनेछु ।' 15 तापनि तँलाई अब चिहानमा, खडालको गहिराइमा तल खसालिएको छ । 16 तँलाई देख्‍नेहरूले तँलाई टुलुटुलु हेर्नेछन् र तिनीहरूले तँलाई ध्यान दिनेछन् । तिनीहरूले सोध्‍नेछन्, 'के यो त्‍यही मानिस हो, जसले पृथ्वीलाई थर्कमान पार्‍यो, जसले राज्यहरूलाई हल्‍लायो, 17 जसले संसारलाई उजाड-स्‍थानजस्‍तो बनायो, जसले सहरहरूलाई नष्‍ट पार्‍यो र आफ्‍ना कैदीहरूलाई घर जान दिएन?' 18 जातिहरूका सबै राजा, तीमध्‍ये सबै जना, हरेक व्‍यक्‍ति आ-आफ्ना चिहानमा आदरसाथ सुत्‍छन् । 19 तर एउटा हाँगालाई फालेझैं, तेरो चिहानबाट तँलाई बाहिर फालिएको छ । तरवारले छेडेर मारिएका खाल्डोका ढुङ्गाहरूतिर जाने मृतकहरूले तँलाई कपडाले झैं ढाक्‍छन् । 20 तैंले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन । दुष्‍ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन ।” 21 त्यसका सन्‍तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् । 22 “तिनीहरू विरुद्धमा म खडा हुनेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो । “म बेबिलोनबाट नाउँ, सन्तान र वंशज नष्‍ट पार्नेछु,”— यो परमप्रभुको घोषणा हो । 23 “म त्यसलाई लाटोकोसेरोको अधीनमा र पानीको तलाउमा राख्‍नेछु, र विनाशको कुचोले म त्यसलाई बढार्नेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो । 24 सर्वशक्तिमान् परमप्रभुले शपथ खानुभएको छ, “निश्‍चय नै, जस्तो मैले इच्‍छा गरेको छु, त्यस्तै हुनेछ । अनि जे उद्देश्य मैले राखेको छु, त्‍यो पुरा हुनेछ । 25 अश्शूरलाई म आफ्‍नो देशमा चकनाचूर पार्नेछु र मेरो पर्वतमा म त्‍यसलाई खुट्टामुनि कुल्चिनेछु । तिनीहरूका काँधबाट त्यसको जुवा हटाइनेछ र तिनीहरूका पिठ्यूबाट त्यसको भारी निकालिनेछ ।” 26 सम्‍पूर्ण पृथ्वीको निम्ति इच्‍छा गरिएको योजना यही हो र सारा जातिहरूमाथि पसारिएको बहुली यही हो । 27 किनकि सर्वशक्तिमान् परमप्रभुले नै यो योजना गर्नुभएको छ । उहाँलाई कसले रोक्‍न सक्छ र? उहाँको हात उचालिएको छ र त्‍यसलाई कसले फर्काउने छ र? 28 आहाज राजा मरेको वर्षमा यो घोषणा आयोः 29 ए सारा पलिश्‍तीहरू हो, तिमीहरूलाई प्रहार गर्ने छडी भाँचिएको छ भनेर आनन्दित नहोओ । किनकि साँपको वंशबाट झन् विषलु सर्प बढ्‍नेछ, र त्यसको सन्तान डरलाग्‍दो उड्ने सर्प हुनेछ । 30 गरीबको जेठा छोरोले मेरो खर्कहरूमा आफ्‍ना भेडाहरू चराउनेछन्, र खाँचामा परेकाहरू सुरक्षासँग पल्टिनेछन् । तेरो वंशलाई म अनिकाले मार्नेछु जसले तेरा बाँचेका सबैलाई मृत्युमा पुर्‍याउनेछ । 31 ए ढोका करा । ए सहर चिच्या । हे पलिश्‍ती, तिमीहरू सबै पग्‍लेर हराउनेछौ । किनकि उत्तरबाट धूँवाको बादल आउँछ र त्यसको पङ्तिमा धरमराउने कोही छैन । 32 जातिका दूलहरूलाई तिनीहरूले कसरी जवाफ दिनेछन् ? “परमप्रभुले सियोनलाई बसाल्नुभएको छ, त्यसमा कष्‍टमा परेका मानिसहरूले शरण लिनेछन् ।”