7
परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्‍वरजस्तै बनाएको छु । तेरो दाजु हारून तेरो अगमवक्ता हुनेछ । मैले तँलाई आज्ञा गरेको हरेक कुरो तैँले भन्‍नू । फारोको देशबाट इस्राएलका मानिसहरूलाई जान दिइयोस् भन्‍नाका लागि तेरो दाजु हारूनले फारोसित बोल्नेछ । तर म फारोको ह्रदय कठोर पार्नेछु, र मिश्र देशमा मेरो शक्तिमा धेरै चिन्हहरू, अचम्मका कामहरू देखाउनेछु । तर फारोले तेरो कुरा सुन्‍नेछैन । त्यसैले म मेरो हात मिश्रमाथि पसारी ठुला-ठुला दण्डका क्रियाकलापहरूद्वारा मेरा योद्धाहरू, मेरो जाति र इस्राएलका सन्तानहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनेछु । मैले मिश्रमाथि मेरो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बिचबाट ल्याएपछि म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।” परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे । फारोसित कुरा गर्दा मोशा असी वर्षका थिए भने हारून त्रियासी वर्षका थिए । परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “फारोले तिमीहरूलाई 'आश्‍चर्यकर्म गर्' भन्दा तैँले हारूनलाई भन्‍नू, 'तपाईंको लट्ठी लिएर त्यसलाई फारोको सामुन्‍ने फ्याँक्‍नुहोस् अनि त्यो सर्प बन्‍नेछ' ।” 10 तब मोशा र हारून फारोकहाँ गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे । हारूनले फारो र तिनका अधिकारीहरूका सामु आफ्नो लट्ठी फ्याँके र त्यो सर्प भयो । 11 तब फारोले आफ्ना बुद्धिमानी मानिस र टुनामुना गर्नेहरूलाई डाके । तिनीहरूका जादुद्वारा तिनीहरूले पनि उही कुरो गरे । 12 हरेक मानिसले आ-आफ्नो लट्ठी फ्याँके र ती लट्ठीहरू सर्प बने । तर हारूनको लट्ठीले तिनीहरूका सर्पहरूलाई निलिदियो । 13 फारोको ह्रदय कठोर पारियो, र परमप्रभुले पहिले भन्‍नुभएझैँ तिनले उनीहरूका कुरा सुनेनन् । 14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारोको ह्रदय कठोर छ, त्यसले मानिसहरूलाई जान दिन इन्कार गर्छ । 15 फारो नदीतिर जाने बेलामा बिहानै त्यसकहाँ जा । त्यसलाई भेट्न नदीको तटमा उभेर बस् र सर्प बनेको लट्ठी तेरो हातमा लिएर जा । 16 त्यसलाई भन्, 'हिब्रूहरूका परमेश्‍वर परमप्रभुले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'मेरो जातिलाई जान दे ताकि तिनीहरू उजाड-स्थानमा गएर मेरो आराधना गर्न सकून् । तैँले अहिलेसम्म मानेको छैनस् ।' 17 परमप्रभु यसो भन्‍नुहुन्छ, 'यसद्वारा म परमप्रभु हुँ भनी तैँले थाहा पाउनेछस् । मेरो हातमा भएको यस लट्ठीले म नील नदीको पानीलाई प्रहार गर्नेछु र नदी रगतमा परिणत हुनेछ । 18 नदीमा भएका माछाहरू मर्नेछन्, र नदी गन्हाउनेछ । मिश्रीहरूले नदीबाट पानी पिउन सक्‍नेछैनन् ।' 19 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, 'तेरो लट्ठी लिई मिश्रका पानी, नदीहरू, खोलाहरू, तालहरू र पोखरीहरूमा तेरो हात पसार् र ती पानी रगत बन्‍नेछन् । यसो गर् ताकि मिश्र देशभरि जताततै रगत होस्, यहाँसम्म कि काठ र ढुङ्गाहरूका भाँडाकुँडाहरूमा पनि रगत होस्' ।” 20 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे । हारूनले लट्ठी उठाएर फारो र तिनका अधिकारीहरूका सामुन्‍ने त्यसलाई नदीमा पसारे । सबै पानी रगतमा परिणत भए । 21 नदीका माछाहरू मरे र पानी गन्हाउन थाल्यो । मिश्रीहरूले नदीको पानी पिउन सकेनन्, र मिश्र देशैभरि जताततै रगतै-रगत थियो । 22 तर मिश्रका जादुगरहरूले पनि आफ्नो जादुद्वारा त्यसै गरे । त्यसकारण परमप्रभुले भन्‍नुभएझैँ फारोको ह्रदय कठोर भयो र तिनले मोशा र हारूनको कुरा सुनेनन् । 23 तब फारो फर्केर आफ्नो घर गए । तिनले यसमा ध्यान पनि दिएनन् । 24 सबै मिश्रीले पिउने पानीको लागि नदीको वरिपरि खने, तर तिनीहरूले नदीकै पानी भने पिउन सकेनन् । 25 परमप्रभुले नदीमा आक्रण गर्नुभएको सात दिन भएको थियो ।