34
परमप्रभुले मोशालाई भन्‍नुभयो, “पहिलेका जस्तै ढुङ्गाका दुईवटा पाटी काटेर ले । तैँले फुटाएका पहिलेका पाटीहरूमा मैले लेखेका वचनहरू म यी शिला-पाटीहरूमा लेख्‍नेछु । बिहानसम्म तयार हो, र सीनै पर्वतमा उक्लेर आइज र पर्वतको टाकुरमा मेरो सामु देखा पर् । तँसँग अरू कोही नआओस् । पर्वतको कुनै पनि भागमा कोही पनि नदेखियोस् । पर्वतको सामु कुनै भेडा-बाख्रा वा गाईवस्तु नचरोस् ।” त्यसैले मोशाले पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटे, र तिनी बिहानै उठेर सीनै पर्वतमा उक्ले जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो । मोशाले शिला-पाटीहरू आफ्ना हातमा लिएर गए । परमप्रभु बादलमा ओर्लनुभयो, र त्यहाँ मोशासित खडा हुनुभयो अनि उहाँले “परमप्रभु” नाउँको घोषणा गर्नुभयो । परमप्रभु तिनको सामु भएर जानुभयो र घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु, परमेश्‍वर करुणामय र अनुग्रही, रिस गर्नमा ढिलो अनि करारको विश्‍वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ । उहाँले हजारौँ पुस्तासम्म आफ्नो करार राख्‍नुहुन्छ, अधर्म, अपराध र पापको क्षमा दिनुहुन्छ । तर उहाँले दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन । उहाँले पिता-पुर्खाहरूका दण्ड तिनीहरूका छोराछोरीहरू र नातिनातिनाहरू अनि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ ।” मोशाले झट्टै भुइँतिर आफ्नो शिर झुकाएर आराधना गरे । तब तिनले भने, “हे प्रभु, अब मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने हाम्रा बिचमा भएर जानुहोस् किनकि यो जाति हठी छ । हाम्रा पाप र अधर्म क्षमा गरिदिनुहोस् र हामीलाई तपाईंको उत्तराधिकारको रूपमा स्वीकार गर्नुहोस् ।” 10 परमप्रभुले भन्‍नुभयो, “हेर्, मैले करार बाँध्‍न लागेको छु । तेरा सबै मानिसका सामु म यस्ता आश्‍चर्यका कामहरू गर्नेछु जुन सारा पृथ्वीमा कुनै पनि जातिमा गरिएको छैन । तिमीहरूका बिचमा भएका सबै मानिसले मेरा कार्यहरू देख्‍नेछन् किनकि तँसित मैले गर्न खोजिरहेको कुरो डरलाग्दो छ । 11 आज मैले आज्ञा गरेको कुरा पालन गर् । तेरो सामु मैले एमोरी, कनानी, हित्ती, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउन लाग्दै छु । 12 तँ गइरहेको देशका बासिन्दाहरूसित कुनै किसिमको करार नबाँध्‍न सावधन बस् नत्रता तिनीहरू तिमीहरूका बिचमा पासो बन्‍नेछन् । 13 बरु, तैँले तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्रा-टुक्रा पारिदिनू र तिनीहरूका अशेरा देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू । 14 किनकि तिमीहरूले म परमप्रभुबाहेक कुनै देवी-देवतालाई नपुज्नू । म डाह गर्ने परमेश्‍वर हुँ । 15 त्यसैले त्यस देशका बासिन्दाहरूसित करार नबाँध्‍न होसियार हो किनकि तिनीहरूका देवी-देवताहरूका लागि तिनीहरूले वेश्या-वृत्ति गर्छन् र तिनीहरूले बलि गर्छन् । तब तिनीहरूमध्ये एउटाले तिमीहरूलाई निमन्त्रणा गर्नेछ अनि तिमीहरूले त्यसको बलिदान खानेछौ, अनि तिनीहरूका केही छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनेछौ 16 अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्या-वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्या-वृत्तिमा लैजानेछन् । 17 तिमीहरूले आफ्ना ढलौटे मूर्तिहरू नबनाउनू । 18 तिमीहरूले अखमिरी रोटीको चाड मान्‍नू । मैले तिमीहरूलाई आज्ञा दिएबमोजिम आबीब महिनाको तोकिएको समयमा सात दिनसम्म खमिर नहालेको रोटी खानू किनकि आबीब महिनामै तिमीहरू मिश्रबाट बाहिर आयौ । 19 सबै पहिला जन्मेकाहरू मेरा हुन् । तिमीहरूका गाईवस्तु, गोरु, भेडाका हरेक नर मेरा हुन् । 20 गधाको पहिलो जन्मेको बछेडोलाई थुमा दिएर छुटाउनू, तर त्यसलाई छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू । तिमीहरूका सबै जेठा छोराहरूलाई केही दिएर छुटाउनू । कोही पनि मेरो सामु रित्तो हात नआओस् । 21 तिमीहरूले छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू । हलो जोत्‍ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू । 22 गहुँको फसलको पहिलो उब्जनीसँगै साताहरूको चाड मान्‍नू, र वर्षको अन्त्यमा अन्‍न भित्र्याउने चाड मान्‍नू । 23 वर्षको तिन पटक तिमीहरूका सबै पुरुष परमप्रभु इस्राएलका परमेश्‍वरको सामु देखा पर्नू । 24 किनकि म तिमीहरूका सामु जाति-जातिहरूलाई धपाउनेछु र तिमीहरूका सिमाना बढाइदिनेछु । तिमीहरू वर्षमा तिन पटक परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु देखा पर्न जाँदा कसैले पनि आफ्नो अधिकारको रूपमा तिमीहरूको देश कब्जा गर्ने इच्छा गर्नेछैन । 25 खमिरसहित मेरो बलिदानको रगत नचढाउनू, न त निस्तार-चाडमा चढाइने बलिको कुनै भाग बिहानसम्म उब्रोस् । 26 तिमीहरूले आ-आफ्ना खेतहरूबाट सबैभन्दा असल अगौटे फलहरू मेरो घरमा ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।” 27 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी कुराहरू लेख् किनकि यी वचनअनुसार नै मैले तँ र इस्राएलसित करार बाँधेको छु ।” 28 मोशा परमप्रभुसित त्यहाँ चालिस दिन र चालिस रातसम्म बसे । तिनले न कुनै खाना खाए न पानी पिए । तिनले करारका वचनहरू अर्थात् दस आज्ञा शिला-पाटीहरूमा लेखे । 29 मोशा आफ्ना हातमा करारका आज्ञाहरू लिखित दुईवटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्लंदा र तिनी परमेश्‍वरसित बोल्दा तिनको अनुहारको छाला चम्कँदै थियो भनी तिनलाई थाहै भएन । 30 जब हारून र इस्राएलीहरूले मोशालाई देखे तिनको अनुहार चम्कँदै थियो, र तिनीहरू तिनको नजिक आउन डराए । 31 तर मोशाले तिनीहरूलाई डाके, अनि हारूनसाथै समुदायका सबै अगुवा तिनीकहाँ आए । तब मोशा तिनीहरूसित बोले । 32 यसपछि इस्राएलका सबै मानिस मोशाकहाँ आए, अनि परमप्रभुले सीनै पर्वतमा तिनलाई बताउनुभएका सबै आज्ञा तिनले मानिसहरूलाई बताए । 33 तिनीहरूसित बोलिसकेपछि मोशाले आफ्नो अनुहारमा घुम्टो हाले । 34 मोशा परमप्रभुको सामु उहाँसित बोल्न जाँदा तिनी बाहिर नआउञ्‍जेलसम्म तिनले घुम्टो उघार्थे । तिनी बाहिर आउँदा तिनलाई बताउन आज्ञा गरिएको कुरा तिनले इस्राएलीहरूलाई बताउँथे । 35 इस्राएलीहरूले मोशाको अनुहार चम्किरहेको देख्दा तिनी परमप्रभुसित बोल्नलाई भित्र नगएसम्म तिनले फेरि आफ्नो अनुहारमा घुम्टो हाल्थे ।