31
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, मैले यहूदाको कुलबाट हूरको नाति, ऊरीको छोरो बजलेललाई डाकेको छु । सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन मेरा आत्माले भरिपूर्ण पारेको छु । त्यसले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछ । सबै किसिमका कारीगरीका काम गर्न त्यसले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छ । त्योबाहेक मैले दानको कुलबाट अहीसामाकको छोरो ओहोलीआबलाई नियुक्त गरेको छु । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिनीहरूले बनाउन सकून् भनेर सबै बुद्धिमानीहरूका ह्रदयमा मैले सिप हालिदिएको छु । तिनीहरूले बनाउने सामग्रीहरू यिनै हुन्: भेट हुने पाल, गवाहीको सन्दुक, सन्दुकमाथि राखिने प्रायश्‍चित्तको ढकनी, पालका सबै सरसामान अर्थात् टेबुल र यसका भाँडाकुँडाहरू, शुद्ध सामदानसहित यसका सबै सामान, धूपको वेदी, होमबलिको लागि वेदीसहित यसका सबै सामान र आधार भएको ठुलो बाटा । 10 यसमा राम्ररी बुनेको पोशाकहरू अर्थात् हारून पुजारी र त्यसका छोराहरूका निम्ति पवित्र पोशाकहरू पनि पर्छन् । पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरू मेरो लागि अलग गरिएका हुन् । 11 पवित्रस्थानको लागि अभिषेक गर्ने तेल र सुगन्धित धूप पनि यसमा पर्छन् । मैले तँलाई आज्ञा गरेबमोजिम यी कारीगारहरूले यी सबै थोक बनाऊन् ।” 12 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, 13 “इस्राएलीहरूलाई भन्, 'तिमीहरूले निश्‍चय नै परमप्रभुको शबाथ-दिन मान्‍नू किनकि तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो तिमीहरू र मेरो बिचमा एउटा चिन्ह हुनेछ ताकि तिमीहरूलाई मेरो निम्ति अलग गर्ने परमप्रभु म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ । 14 त्यसैले तिमीहरूले शबाथ मान्‍नू किनभने यो मेरो लागि अलग गरिएको तिमीहरूद्वारा मान्‍नुपर्ने पवित्र दिन हो । यसलाई अशुद्ध गर्ने कुनै पनि व्यक्ति निश्‍चय नै मारिनेछ । जसले शबाथमा काम गर्छ, त्यो व्यक्ति निश्‍चय नै आफ्नो जातिबाट बहिष्कृत हुनेछ । 15 छ दिनसम्म काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभुको सामु पूर्ण विश्रामको पवित्र शबाथ हुनेछ । शबाथ-दिनमा काम गर्ने जोसुकै पनि निश्‍चय मारिनेछ । 16 त्यसकारण, इस्राएलीहरूले शबाथलाई मान्‍नैपर्छ । एउटा स्थायी विधिको रूपमा तिनीहरूका पुस्तौँ-पुस्तासम्म तिनीहरूले यसको पालना गर्नुपर्छ । 17 शबाथ सधैँ म परमप्रभु र इस्राएलीहरूका बिचमा एउटा चिन्ह हुनेछ किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले कामबाट विश्राम लिनुभयो ।” 18 सिनै पर्वतमा परमप्रभु मोशासित बोलिसक्‍नुभएपछि उहाँले तिनलाई आफ्नै हातले लेखेका करारका दुईवटा शिला-पाटी दिनुभयो ।