3
अब मोशा अझै पनि आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडा-बाख्रा चराउँदै थिए । तिनले भेडा-बाख्रालाई उजाड-स्थानको परसम्म लगी परमेश्‍वरको पर्वत होरेबसम्म लगे । त्यहाँ परमप्रभुका दूत जलिरहेको पोथ्रामा तिनीकहाँ देखा परे । मोशाले हेर्दा त्यो पोथ्रा जलिरहेको थियो तर भस्म भएको थिएन । मोशाले भने, “म एकातिर गएर यो गजबको दृश्य किन भस्म भएको रहेनछ भनी हेर्नेछु ।” जब तिनी हेर्नलाई एकातिर गएको परमप्रभुले देख्‍नुभयो तब उहाँले पोथ्राबाट तिनलाई भन्‍नुभयो, “मोशा, ए मोशा ।” तिनले भने, “म यहीँ छु ।” परमेश्‍वरले भन्‍नुभयो, “अझ नजिक नआइज । तेरो खुट्टाबाट तेरो जुत्ता फुकाल् किनकि तँ उभिएको भूमि मेरो लागि अलग गरिएको छ ।” उहाँले थप्‍नुभयो, “म तेरा पिता अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ ।” त्यसपछि मोशाले आफ्नो अनुहार ढाके किनकि तिनी परमेश्‍वरलाई हेर्न डराएका थिए । परमप्रभुले भन्‍नुभयो, “निश्‍चय नै मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍ट मैले देखेको छु । तिनीहरूका नाइकेहरूको कारणले तिनीहरूको रुवाइ मैले सुनेको छु किनकि मलाई तिनीहरूको दुःखकष्‍ट थाहा छ । तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्‍ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देश हो । अब इस्राएलका मानिसहरूको रुवाइ मकहाँ आइपुगेको छ । यसको अतिरिक्त, मिश्रीहरूद्वारा तिनीहरूमाथि गरिएको थिचोमिचोलाई पनि मैले देखेको छु । 10 अब म तँलाई फारोकहाँ पठाउनेछु ताकि तैँले मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट निकालेर लैजान सक् ।” 11 तर मोशाले परमेश्‍वरलाई भने, “फारोकहाँ गई मिश्रबाट इस्राएलीहरूलाई निकालेर ल्याउने म को हुँ र?” 12 परमेश्‍वरले जवाफ दिनुभयो, “निश्‍चय नै म तँसित हुनेछु । मैले तँलाई पठाएको हुँ भन्‍नाका लागि चिन्हचाहिँ यो हुनेछ । तैँले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याएपछि तैँले यही पर्वतमा मेरो आराधना गर्नेछस् ।” 13 मोशाले परमेश्‍वरलाई भने, “म इस्राएलीहरूकहाँ गई 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' भन्दा तिनीहरूले 'उहाँको नाउँ के हो' भनी सोधे भने मैले तिनीहरूलाई के जवाफ दिने?” 14 परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ जो म हुँ ।” उहाँले भन्‍नुभयो, “ तैँले इस्राएलीहरूलाई यसो भन्‍नू, 'म हुँ भन्‍नेले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' ।” 15 परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नैपर्छ, 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो । मेरो नाउँ सदासर्वादको लागि यही हो र यही नाउँद्वारा पुस्तौँसम्म मेरो सम्झना गरिनेछ ।' 16 गएर इस्राएलका धर्म-गुरुहरूलाई भेला गर् । तिनीहरूलाई यसो भन्‍नू, 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर अर्थात् अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर मकहाँ देखा परी भन्‍नुभयो, “मैले वास्तवमै तिमीहरूलाई अवलोकन गरेको छु र तिमीहरूलाई मिश्रमा के गरिएको छ भनी देखेको छु । 17 तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्‍ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु” ।' 18 तिनीहरूले तेरो कुरा सुन्‍नेछन् । तँ र इस्राएलका धर्म-गुरुहरू मिश्रका राजाकहाँ गई त्यसलाई यसो भन्‍नू, 'हिब्रूहरूका परमप्रभुले हामीलाई भेट्नुभएको छ । अब हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जाऔँ ताकि हाम्रा परमप्रभु परमेश्‍वरलाई हामीले बलिदान चढाउन सकौँ ।' 19 तर राजा बाध्य नपारिएसम्म त्यसले तिमीहरूलाई जान दिनेछैन भनी मलाई थाहा छ । 20 म मेरो हात फैलाई मैले मिश्रीहरूका बिचमा गर्ने सबै आश्‍चर्यकर्मले तिनीहरूलाई आक्रमण गर्नेछु । त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ । 21 म यस जातिमाथि मिश्रहरूलाई निगाह गर्न लगाउनेछु ताकि तिमीहरू जाँदा रित्तो हात जान नपरोस् । 22 हरेक स्‍त्रीले आ-आफ्ना मिश्री छिमेकीहरू र तिनीहरूका घरहरूमा बस्‍ने कुनै पनि स्‍त्रीहरूबाट सुन र चाँदीका गरगहनाहरूसाथै लत्ता कपडाहरू माग्‍नेछ । तिमीहरूले ती आ-आफ्ना छोराछोरीहरूलाई लगाइदिनेछौ । यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्नेछौ ।”