26
तैँले मसिनो सुती कपडा, निलो, बैजनी र रातो ऊन करूबहरूको रचनासहित दसवटा पर्दा भएको पवित्र वासस्थान बनाउनू । यो ज्यादै सिपालु शिल्पकारको काम हुनेछ । हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको होस् । सबै पर्दा उही आकारको हुनुपर्छ । पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू, र अन्य पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू । पहिलो गाँसिएको भागको बाहिरी छेउमा निलो सुर्काउनी बनाउनू । त्यसै गरी, दोस्रो गाँसिएको भागको बाहिरी छेउमा पनि निलो सुर्काउनी बनाउनू । पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको पर्दामा पनि पचासवटा सुर्काउनी बनाउनू । ती सुर्काउनीहरू आमनेसामने हुने गरी बनाउनू । सुनका पचासवटा अङ्कुसे बनाई पवित्र वासस्थान एउटै हुने गरी ती पर्दाहरूलाई अङ्कुसेहरूसित जोड्नू । पवित्र वासस्थानमाथि राखिने पालको निम्ति बाख्राका भुत्लाका पर्दाहरू बनाउनू । एघारवटा यस्ता पर्दा बनाउनू । हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको होस् । एघारवटै पर्दाको नाप उही होस् । पाँचवटा पर्दालाई एक-अर्कामा जोड्नू र बाँकी छवटालाई एक-अर्कामा जोड्नू । छैटौँ पर्दालाई चाहिँ पालको अगाडिपट्टि दोब्बर गर्नू । 10 पहिलो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू । 11 पचासवटा काँसाका अङ्कुसे बनाई तिनलाई सुर्काउनीहरूमा लगाउनू । त्यसपछि एउटै बनाउन पाललाई सँगसँगै जोड्नू । 12 पालको बाँकी रहेको आधा भाग अर्थात् पालका पर्दाहरूबाट झुण्डिरहको आधा भागलाई पवित्र वासस्थानको पछिल्तिर झुण्ड्याउनू । 13 एकापट्टि एक हात लामो र अर्कोपट्टि एक हात लामो पर्दा हुनुपर्छ । पवित्र वासस्थानलाई ढाक्‍न त्यसको दुवैपट्टि पालका पर्दाहरूको बाँकी भाग झुण्डिरहून् । 14 रातो रङले रङ्ग्याएका भेडाका छालाबाट पवित्र वासस्थानलाई ढाक्‍ने बनाउनू, र त्यसको माथि मसिनो छालाको ढकनी होस् । 15 पवित्र वासस्थानको लागि बबुल काठबाट ठाडा फल्याकहरू बनाउनू । 16 हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको होस् । 17 फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेक फल्याकमा दुईवटा काठका चोसा होऊन् । पवित्र वासस्थानका सबै फल्याक यसरी नै बनाउनू । 18 पवित्र वासस्थानको लागि फल्याकहरू बनाउँदा दक्षिणपट्टिको लागि बिसवटा फल्याक बनाउनू । 19 ती बिसवटा फल्याकको मुन्तिर राख्‍न चाँदीका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार र अन्य फल्याकहरूको मुन्तिर पनि दुई-दुईवटा आधार बनाउनू । 20 पवित्र वासस्थानको दोस्रो भाग अर्थात् उत्तरपट्टिको लागि बिसवटा फल्याक 21 र तिनका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार अनि दोस्रोको मुन्तिर दुईवटा आधार र बाँकीको निम्ति पनि यसरी नै बनाउनू । 22 पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्‍चिमपट्टि छवटा फल्याक बनाउनू । 23 पवित्र वासस्थानको पछाडिका कुनाहरूमा दुईवटा फल्याक बनाउनू । 24 यी फल्याकहरू तल छुट्टिएका होऊन् तर माथि भने जोडिएका होऊन् । दुवै कुनाका लागि यही किसिमले बनाउनू । 25 चाँदीका आधारहरू भएका आठवटा फल्याक बनाउनू । पहिलो फल्याकमुनि दुईवटा आधार, अर्को फल्याकमुनि दुईवटा आधार एवम् रितले जम्माजम्मी सोह्रवटा आधार होऊन् । 26 तैँले बबुल काठका बारहरू बनाउनू । पवित्र वासस्थानका एकापट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार, 27 पवित्र वासस्थानका अर्कोपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार र पवित्र वासस्थानको पश्‍चिमपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार बनाउनू । 28 फल्याकहरूका बिचमा भएको बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुगोस् । 29 तैँले फल्याकहरूलाई सुनले मोहोर्नू । बारहरूलाई अल्झाउन सुनका मुन्द्राहरू बनाउनू, र बारहरूलाई पनि सुनले मोहोर्नू । 30 तँलाई पर्वतमा देखाइएको नमुनाबमोजिम पवित्र वासस्थान खडा गर्नू । 31 निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट करूबहरूको रचनासमेत भएको एउटा पर्दा बनाउनू । यो सिपालु शिल्कारको काम होस् । 32 सुनले मोहोरिएको बबुल काठको चारवटा खम्बामा यस पर्दालाई झुण्ड्याउनू । यी खम्बाहरूमा सुनका अङ्कुसेहरू हुनुपर्छ जसमा चारवटा चाँदीका आधार राखिएका होऊन् । 33 पर्दालाई अङ्कुसेमुनि झुण्ड्याउनू, र गवाहीको सन्दुकलाई यसभित्र ल्याउनू । यो पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नुपर्छ । 34 प्रायश्‍चित्तको ढकनीलाई गवाहीको सन्दुकमाथि राख्‍नू जसलाई महा-पवित्रस्थानमा राखिन्छ । 35 पर्दाबाहिर टेबुललाई उत्तरपट्टि राख्‍नू । पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामुन्‍ने सामदान राख्‍नू । 36 पालको प्रवेशद्वारमा एउटा पर्दा बनाउनू । यो निलो, बैजनी, रातो सामग्री, मसिनो गरी बाटेको सुती कपडा र बुट्टा भर्नेको काम भएको होस् । 37 यस पर्दाको लागि बबुल काठको पाँचवटा खम्बा बनाई तिनलाई सुनले मोहोर्नू । तिनका अङ्कुसे सुनका होऊन् र तिनका लागि काँसाका पाँचवटा आधार होऊन् ।