23
कसैको बारेमा झुटा गवाही नदेओ । बेइमानी गवाही दिने दुष्‍ट मानिससित नमिल । खराबी गर्न भिडको पछि नलाग, न त न्यायलाई बङ्ग्याउन भिडको पक्ष लेओ । गरिब मानिसको मुद्दामा उसको पक्षपात नगर । आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदेओ । तिमीहरूलाई घृणा गर्ने कुनै व्यक्तिको गधा भारीले थिचिएर भुइँमा लडेको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड । गधासँगै मदत गर । मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर । झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्‍टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ । कहिल्यै घुस नलेओ किनकि घुसले देख्‍नेहरूलाई अन्धो तुल्याइदिन्छ र इमानदार मानिसहरूका वचनलाई बङ्ग्याइदिन्छ । परदेशीलाई थिचोमिचो नगर किनकि तिमीहरू मिश्र देशमा परदेशी भएर बाँचेकाले परदेशीको जीवन कस्तो हुन्छ भनी तिमीहरू जान्दछौ । 10 छ वर्षसम्म तिमीहरूले आ-आफ्ना जमिनमा बिउ रोपी फसल जम्मा गर । 11 तर सातौँ वर्षमा चाहिँ हलो नजोती त्यसलाई बाँझै छाडिदेओ ताकि तिमीहरूका बिचमा भएका गरिब मानिसहरूले खान सकून् । तिनीहरूले छाडेका जङ्गली जनावरहरूले खानेछन् । तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्यसै गर । 12 छ दिनसम्म आफ्नो काम गर, तर सातौँ दिनमा चाहिँ विश्राम गर । तिमीहरूका गोरु र गधाले पनि विश्राम पाउन सकून् भनेर यसो गर अनि तिमीहरूका कमारीको छोरो र परदेशीले पनि ताजा महसुस गर्न सकून् भनेर यस गर । 13 मैले तिमीहरूलाई भनेका हरेक कुरामा ध्यान देओ । अरू देवी-देवताहरूको चर्चा नगर, न त तिमीहरूका मुखबाट तिनीहरूको नाउँ नै सुनियोस् । 14 मेरो निम्ति चाड मान्‍न हरेक वर्ष तिन पटक यात्रा गर । 15 तिमीहरूले अखमिरी रोटीको चाड मान्‍नू । मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानू । त्यस बेला तिमीहरू आबीब महिनामा मेरो सामु देखा पर्नू जुन यही उद्देश्यको लागि तयार पारिएको हो । तिमीहरू यही महिनामा मिश्रबाट बाहिर निस्केर आयौ । तर तिमीहरू खाली हात मेरो सामु देखा नपर्नू । 16 तिमीहरूले आफ्ना खेतहरूमा बिउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्‍नू । खेतहरूबाट तिमीहरूले अन्‍न बटुल्दा वर्षको अन्त्यमा तिमीहरूले अन्‍न भित्र्याउने चाड मनाओ । 17 तिमीहरूका सबै पुरुष हरेक वर्ष तिन पटक परमप्रभुको सामु देखा पर्नू । 18 मलाई चढाउने बलिको रगत खमिर हालेको रोटीसितै नचढाओ । मेरा चाडहरूमा चढाइने बलिदानहरूको बोसो रातभरि रहेर बिहानसम्म रहनुहुँदैन । 19 तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ । 20 बाटोमा तिमीहरूको सुरक्षा दिन र मैले तिमीहरूका निम्ति तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउन म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु । 21 तिनको कुरा सुनी तिनको आज्ञा पालन गर । तिनलाई नचिढ्याओ किनकि तिनले तिमीहरूका अपराधहरू क्षमा दिनेछैनन् । तिनैमा मेरो नाउँ छ । 22 तिमीहरूले वास्तवमै तिनका आज्ञा मान्यौ र मैले भनेका हरेक कुरा गर्‍यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु हुनेछु र तिमीहरूका वैरीहरूका वैरी हुनेछु । 23 मेरा दूत तिमीहरूका अगिअगि जानेछन् र तिनले तिमीहरूलाई एमोरी, हित्ती, परिज्‍जी, कनानी, हिव्वी र यबूसीहरूकहाँ ल्याउनेछन् । म तिनीहरूलाई नष्‍ट गर्नेछु । 24 तिमीहरू तिनीहरूका देवी-देवताहरूको सामु ननिहरनू, तिनीहरूको पूजा नगर्नू न त तिनीहरूले गरेजस्तै गर्नू । बरु तिमीहरूले तिनीहरूलाई बिलकुलै नाश गरिदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू । 25 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर्नू, अनि उहाँले तिमीहरूका अन्‍न र पानीमा आशिष् दिनुहुनेछ । म तिमीहरूका बिचबाट रोग हटाइदिनेछु । 26 तिमीहरूको देशमा कुनै पनि स्‍त्री बाँझी हुनेछैन न त कसैको गर्भ तुहिनेछ । 27 म तिमीहरूलाई दीर्घायु दिनेछु । तिमीहरू अगाडि बढ्ने देशमा म मेरो डर अगिअगि पठाउनेछु । म तिमीहरूले भेट्ने सबै मानिसलाई मार्नेछु । म तिमीहरूका सबै शत्रुलाई तिमीहरूको डरको कारणले भगाउनेछु । 28 म तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाउनेछु जसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूभन्दा अगाडि नै धपाउनेछन् । 29 म तिनीहरूलाई एकै वर्षमा तिमीहरूको सामुन्‍नेबाट धपाउनेछैनँ, नत्रता देश उजाड हुनेछ र जङ्गली जनावरहरू तिमीहरूका निम्ति अत्यधिक हुनेछन् । 30 बरु, तिमीहरूको वृद्धि भई तिमीहरू देशमा नभरिएसम्म म तिनीहरूलाई तिमीहरूकै सामु अलिअलि गरेर धपाउनेछु । 31 नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ । 32 तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्‍नू । 33 तिनीहरू तिमीहरूको देशमा बस्‍नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् । तिमीहरूले तिनीहरूका देवी-देवताहरूलाई पुजा गर्‍यौ भने निश्‍चय नै यो तिमीहरूका लागि पासो हुनेछ ।”