21
“अब तैँले तिनीहरूका सामु राख्‍ने आदेशहरू यी नै हुन्: तिमीहरूले हिब्रू कमारा किन्यौ भने त्यसले छ वर्षसम्म सेवा गर्नुपर्छ, र सातौँ वर्षमा केही नतिरी त्यो मुक्त हुनेछ । त्यो एक्लै आएको हो भने त्यो एक्लै जाओस् । त्यो विवाहित हो भने त्यो आफ्नी पत्‍नीसँगै जाओस् । त्यसका मालिकले त्यसलाई पत्‍नी दिएका भए र त्यसले पतिको निम्ति छोराछोरीहरू जन्माएकी भए पत्‍नी र त्यसका छोराछोरीहरू मालिकको हुनेछन्, तर पतिचाहिँ मुक्त हुनेछ । तर कमाराले सफासँग “म मेरा मालिक, मेरी पत्‍नी र मेरा छोराछोरीलाई प्रेम गर्छु; म मुक्त भएर जान्‍नँ” भन्यो भने त्यसका मालिकले त्यसलाई परमेश्‍वरको सामु ल्याउनुपर्छ । मालिकले त्यसलाई ढोका वा ढोकाको सङ्घारमा ल्याई त्यसको कान सुतारोले छेडिदिनुपर्छ । तब त्यस कमाराले जीवनभर मालिकको सेवा गर्नेछ । कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेच्यो भने कमाराहरूजस्तै त्यो मुक्त भएर जानुहुँदैन । त्यसले आफ्ना मालिकलाई खुसी पारिन भने त्यसलाई मोल तिरेर छुटाइयोस् । त्यसलाई परदेशीकहाँ बेच्ने अधिकार मालिकलाई हुँदैन । मालिकले त्यसलाई छलपूर्वक व्यवहार गरेकोले त्योसित त्यस्तो अधिकार हुँदैन । मालिकले त्यसलाई आफ्नो छोरोकी पत्‍नी हुन दियो भने त्यसलाई आफ्नी छोरीलाई जस्तै व्यवहार गरोस् । 10 त्यसले आफ्नो लागि अर्की पत्‍नी ल्यायो भने त्यसले खानेकुरा, लुगाफाटा वा त्यसका वैवाहिक अधिकारहरू पुरा गर्नबाट नचुकोस् । 11 तर त्यसले पत्‍नीलाई यी तिनवटा कुरा उपलब्ध गराएन भने दाम नतिरीकनै त्यो मुक्त भएर जान सक्छे । 12 कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यसलाई निश्‍चय नै मारिनैपर्छ । 13 त्यसले जानाजानी यसो नगरी भवितव्य पर्न गएको रहेछ भने म त्यो भागेर जान सक्‍ने ठाउँ तोकिदिनेछु । 14 कुनै मानिसले जानाजानी आफ्नो छिमेकीलाई आक्रमण गरी धूर्त योजनामुताबिक मार्‍यो भने त्यो परमेश्‍वरको वेदीमा भए तापनि त्यसलाई मार्नलाई लगियोस् । 15 आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ । 16 जसले कुनै व्यक्तिलाई अपहरण गरी त्यसले उसलाई बेच्यो वा पक्रिँदा त्यसकै हातमा फेला पर्‍यो भने अपहरणकारीलाई मारिनैपर्छ । 17 आफ्नो बुबा वा आमालाई सराप्‍ने जोसुकै पनि निश्‍चय नै मारिनैपर्छ । 18 मानिसहरू एक-अर्कासित झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गाले वा मुक्‍काले हिर्कायो र त्यो व्यक्ति नमरी ओछ्यान पर्‍यो 19 र त्यो फेरि उठेर आफ्नो लट्ठीको सहायताले यताउता हिँड्न सक्यो भने हिर्काउनेले त्यसको समयको हर्जाना तिर्नुपर्छ । त्यसले ऊ पूर्ण निको नभएसम्म सबै खर्च पनि दिनुपर्छ । तर त्यो मानिस हत्याको दोषी भने हुँदैन । 20 कुनै मानिसले आफ्नो कमारा वा कमारीलाई लट्ठीले हिर्काउँदा मुक्‍का लागेर मर्‍यो भने त्यस मानिसलाई निश्‍चय नै दण्ड दिइनुपर्छ । 21 तर त्यो एक-दुई दिनसम्म बाँच्यो भने मालिकलाई दण्ड दिइनुहुँदैन किनकि उसले नोकरको क्षति भोग्‍नेछ । 22 मानिसहरू सँगसँगै झगडा गर्दा गर्भवती महिलालाई हानि पुगी त्यसको बच्‍चा तुहियो तर त्यो आफैलाई कुनै चोट लागेन भने त्यस स्‍त्रीको पतिले मागेबमोजिम दोषी मानिसलाई हर्जाना तिराइनुपर्छ, र न्यायकर्ताहरूले तोकेबमोजिम त्यसले तिर्नुपर्छ । 23 तर गम्भीर चोट लागेको रहेछ भने त्यस मानिसलाई प्राणको सट्टा प्राण 24 आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा 25 डामको सट्टा डाम, चोटको सट्टा चोट र कुटाइको सट्टा कुटाइ मिलोस् । 26 कुनै मानिसले आफ्नो कमारा वा कमारीको आँखामा हिर्काएर त्यसलाई नष्‍ट गरिदियो भने उसले आँखाको साटो त्यसलाई स्वतन्त्र भएर जान दिओस् । 27 उसले आफ्नो कमारा वा कमारीको दाँत निकालिदियो भने उसले दाँतको साटो त्यसलाई स्वतन्त्र भएर जान दिओस् । 28 कुनै गोरुले पुरुष वा स्‍त्रीलाई सिङले हानेर मार्‍यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनुपर्छ, र त्यसको मासु खाइनुहुँदैन । 29 तर गोरुको मालिकचाहिँ निर्दोष होस् । तर गोरुको विगतमा हान्‍ने बानी थियो र त्यसको मालिकलाई यसबारे चेताउनी दिँदा पनि उसले बाँधेर राखेको रहेनछ र गोरुले पुरुष वा महिलालाई मार्‍यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनैपर्छ र त्यसको मालिकलाई पनि मारिनैपर्छ । 30 त्यसको जीवनको लागि कुनै मूल्य माग गरिएको छ भने मागेजति मालिकले दिनुपर्छ । 31 गोरुले कुनै मानिसको छोरो वा छोरीलाई हानेको छ भने त्यसको मालिकले नियमअनुसार तिर्नुपर्ने हुन्छ । 32 गोरुले कमारा वा कमारीलाई हान्यो भने त्यसको मालिकले चाँदीको तिस सिक्‍का देओस् र गोरुलाई चाहिँ ढुङ्गाले हानेर मारियोस् । 33 कुनै मानिसले खाडललाई उदाङ्गै राख्यो वा त्यसले खाडल खनेर त्यसलाई ढाकेन र त्यसभित्र गोरु वा गधा खस्यो भने 34 खाडल खन्‍नेले हर्जाना तिर्नुपर्छ । त्यसले मृत पशुको मालिकलाई रुपियाँ तिर्नपर्छ र त्यो मरेको पशु त्यसको हुनेछ । 35 एउटा मान्छेको गोरुले अर्को मान्छेको गोरुलाई चोट पुर्‍याएर त्यो मर्‍यो भने त्यसले जिउँदो गोरुलाई बेची तिनीहरूले त्यसको मूल्य बाँडफाँड गर्नुपर्छ र तिनीहरूले मरेको गोरुलाई पनि बाँडफाँड गर्नुपर्छ । 36 तर त्यस गोरुको विगतमा पनि हान्‍ने बानी रहेछ र त्यसको मालिकले त्यसलाई बाँधेर राखेको रहेनछ भनी थाहा हुन आयो उसले गोरुको सट्टा गोरु तिर्नुपर्छ अनि मरेको पशु त्यसको मालिकको हुनेछ ।