17
परमप्रभुको निर्देशन मानी इस्राएलीहरूको सारा समुदाय सीनको उजाड-स्थानबाट यात्रा गरे । तिनीहरूले रपीदीममा छाउनी हाले, तर त्यहाँ मानिसहरूलाई पिउन पानी थिएन । त्यसैले मानिसहरूले तिनीहरूको अवस्थाको निम्ति मोशालाई दोष लगाए र भने, “हामीलाई पिउन पानी दिनुहोस् ।” मोशाले भने, “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन परमप्रभुको जाँच गर्छौ?” मानिसहरू तिर्खाएका थिए । त्यसैले तिनीहरूले मोशाको विरुद्धमा गनगन गरे । तिनीहरूले भने, “तपाईंले हामीलाई मिश्रबाट किन निकालेर ल्याउनुभएको? हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई?” तब मोशाले परमप्रभुलाई पुकारा गरे, “यी मानिसहरूलाई मैले के गर्ने? तिनीहरू मलाई ढुङ्गा हान्‍न झण्डै तयार छन् ।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूभन्दा अगाडि जा, र इस्राएलका केही धर्म-गुरुहरूलाई पनि आफूसँगै लैजा । तैँले नदीमा प्रहार गरेको लट्ठी पनि सँगै लिएर जा । म होरेब पर्वतमा चट्टानमा तेरो सामु खडा हुनेछु, र तैँले चट्टानलाई हिर्का । मानिसहरूलाई पिउन चट्टानबाट पानी निस्केर आउनेछ ।” तब मोशाले इस्राएलका धर्म-गुरुहरूको दृष्‍टिमा त्यसै गरे । इस्राएलीहरूको गनगन र “परमप्रभु हाम्रा बिचमा हुनुहुन्छ कि हुनुहुन्‍न?” भनी तिनीहरूले प्रभुको जाँच गरेकाले तिनले त्यस ठाउँको नाउँ मस्साह र मेरीबा राखे । तब रपीदीममा अमालेक जातिका सेना आएर इस्राएललाई आक्रमण गरे । त्यसैले मोशाले यहोशूलाई भने, “केही मानिसहरू छानेर जाऊ र अमालेकीहरूसित युद्ध गर । भोलि म परमेश्‍वरको लट्ठी मेरो हातमा लिएर पर्वतको टुप्पोमा उभिनेछु ।” 10 त्यसैले मोशाको आज्ञामुताबिक यहोशू अमालेकीहरूको विरुद्धमा लडे जब कि मोशा, हारून र हूरचाहिँ पर्वतको टुप्पोमा उक्ले । 11 मोशाले आफ्ना हात माथि उठाउँदा इस्राएलले जित्थो भने तिनले आफ्ना हात तल झार्दा अमालेकीहरूले जित्‍न थाल्थे । 12 मोशाका हात थाक्दा हारून र हूरले एउटा ढुङ्गा ल्याएर तीमुनि राखिदिन्थे । त्यसै बेला हारून एकापट्टि र हूर अर्कोपट्टि बसेर तिनका हात माथि उठाउँथे । सूर्यास्त नहोउञ्‍जेलसम्म मोशाका हात थामिए । 13 अनि यहोशूले अमालेकीहरूलाई तरवारले पराजित गरे । 14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यो कुरा एउटा पुस्तकमा लेख् र त्यो यहोशूलाई बताइदे किनकि म अमालेकीहरूको स्मृति आकाशमुनिबाट पूर्ण रूपमा नामेट पारिदिनेछु ।” 15 तब मोशाले त्यहाँ एउटा वेदी बनाए र त्यसको नाउँ “परमप्रभु मेरो झण्डा हुनुहुन्छ” राखे । 16 तिनले भने, “पुस्तादेखि पुस्तासम्म परमप्रभु नै अमालेकीहरूसित लड्नुभएको होस् भनेर उहाँको सिंहासनतिर हात उचालिएको थियो ।”