9
बाह्रौँ महिना अर्थात् अदार महिनाको तेह्रौँ दिनमा राजाको कानुन र आदेशलाई कार्यान्वयन गर्ने दिन, यहूदीहरूका शत्रुहरूले तिनीहरूमाथि शक्ति जमाउनलाई आशा गरेको दिन जब आयो, परिणाम उल्‍टो भयो । यहूदीहरूले आफूलाई घृणा गर्नेहरूमाथि शक्ति पाए । यहूदीहरूमाथि विपत्ती ल्याउन कोसिस गर्नेहरूलाई आक्रमण गर्न राजा अहासूरसका सबै प्रान्तभरि नै तिनीहरूका आ-आफ्ना सहरहरूमा तिनीहरू भेला । तिनीहरूको विरुद्धमा कोही खडा हुन सकेन, किनकि सबै मानिसमाथि तिनीहरूको डर परेको थियो । सबै प्रान्तका अधिकारीहरू, प्रान्तीय गभर्नरहरू, सथानीय गभर्नरहरू र राजाका प्रशासकहरूले यहूदीहरूलाई मदत गरे किनकि तिनीहरूमाथि मोर्दकैको डर परेको थियो । मोर्दकै राजदरबारमा महान् मानिस थिए, अनि तिनको ख्याति सबै प्रान्तभरि फैलियो किनकि यी मानिस मोर्दकै झनझन महान् बन्दै थिए । यहूदीहरूले आफ्ना शत्रुहरूलाई तरवारले आक्रमण गरेर मारे र विनाश गरे अनि आफूलाई घृणा गर्नेहरूलाई आफ्नो इच्छाअनुसार गरे । शूशनको किल्लामा मात्रै यहूदीहरूले पाँच सय जना मानिसलाई मारेर नष्‍ट पारे । तिनीहरूले पर्शन्‍दाता, दल्‍फोन, अस्‍पाता, पोराता, अदलिया, अरीदाता, पर्मशता, अरीशै, अरीदै र बैजाता, 10 र हम्मदाताको छोरा यहूदीहरूका शत्रु हामानका दस जना छोरालाई मारे । तर तिनीहरूले कुनै कुरा पनि लुटेर लिएनन् । 11 त्यो दिन शूशनको किल्लामा मारिएकाहरूको सङ्ख्याको विवरण राजालाई दिइयो । 12 राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले हामानका दस छोरासहित शूशनको किल्लामा पाँच सय मानिसलाई मारेका छन् । तब राजाका बाँकी प्रान्तहरूमा तिनीहरूले झन् के गरेका होलान् ? अब तिम्रो बिन्ती के हो ? त्‍यो तिमीलाई दिइनेछ । तिम्रो अनुरोध के हो ? त्‍यो तिमीलाई दिइनेछ ।” 13 एस्तरले भनिन्, “राजालाई खुसी लागेमा शूशनमा भएका यहूदीहरूलाई आजको आदेश भोलीको निम्ति पनि कार्यान्वयन गर्न अनुमति दिइयोस् र हामानका दसै जना छोराका लाशलाई फाँसीको काठमा झुण्ड्याइयोस् ।” 14 त्यसैले राजाले त्यसै गरियोस् भनी आज्ञा दिए । शूशनमा एउटा आदेश निकालियो, र तिनीहरूले हामानका दसै जना छोरालाई झुण्ड्याए । 15 अदार महिनाको चौधौँ दिनमा शूशनमा भएका यहूदीहरू एकै ठाउँमा भेला भए, र शूशनमा थप तिन सय जना मानिसलाई मारे, तर तिनीहरूले लुटपाटमा हात हालेनन् । 16 राजाका प्रान्तहरूमा भएका बाँकी यहूदीहरू आफ्‍नो ज्यान जोगाउन एकै ठाउँमा भेला भए, र तिनीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाए, अनि आफूलाई घृणा गर्ने पचहत्तर हजार मानिसलाई मारे, तर आफूले मारेका मनिसहरूका मुल्‍यवान थोकहरूमा भने तिनीहरूले आफ्‍ना हात लगाएनन् । 17 यो अदार महिनाको तेह्रौँ दिनमा भएको थियो । चौधौँ दिनमा तिनीहरूले विश्राम लिए, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए । 18 तर शूशनमा भएका यहूदीहरूचाहिँ तेह्रौँ र चौधौँ दिनमा एकसाथ भेला भए । पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे, र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए । 19 त्यसकारण दुर्गम गाउँहरूतिर घर बनाएका यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई हर्ष र चाडको एउटा दिन अनि एक-अर्कालाई खानेकुराका उपहारहरू पठाउने दिनको रूपमा मान्छन् । 20 मोर्दकैले यी कुराहरूका विवरण गरे, अनि राजा अहासूरसका टाढा र नजिकका सबै प्रान्तमा भएका सबै यहूदीलाई चिट्ठीहरू पठाए, 21 जसमा हरेक वर्ष अदार महिनाको चौधौँ र पन्ध्रौ दिनलाई तिनीहरूले अनिवार्य मान्‍नुपर्ने गराए । 22 यी दिनमा नै यहूदीहरूले आफ्‍ना शत्रुहरूबाट छुटकारा पाए, र यही महिनामा नै तिनीहरूको दुःख आनन्दमा र शोक उत्सवमा परिणत भएको थियो । ति दिनलाई तिनीहरूले चाड र हर्षका दिनको रूपमा मनाउनुपर्ने अनि एक-अर्कालाई र गरिबहरूलाई खनेकुरा उपहार पठाउनुपर्ने भनी स्‍थापित गरियो । 23 त्यसैले मोर्दकैले तिनीहरूलाई जे लेखेका थिए त्‍यो गरेर यहूदीहरूले थालनी गरेका उत्सवलाई तिनीहरूले निरन्तरता दिए । 24 त्यस बेला सारा यहूदीका शत्रु अगागी हम्मदाताको छोरा हामानले, यहूदीहरूलाई नष्‍ट गर्न तिनीहरूको विरुद्धमा षड्यन्त्र रचेको थियो, र तिनीहरूलाई थिचोमिचो गर्न र नाश पार्न उसले ‘पुर’ अर्थात् चिट्ठा हाल्‍यो । 25 तर जब त्यो कुरो राजाको सामु पुग्यो, तब यहूदीहरूको विरुद्धमा हामानले रचेको दुष्‍ट योजना त्यसकै थाप्लोमा परोस् अनि ऊ र उसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनी राजाले चिट्ठीहरू लेखेर आदेश दिए । 26 त्यसकारण तिनीहरूले यी दिनलाई “पूरीम” भने जुन “पूर” नामबाट आएको थियो । यस पत्रमा लेखिएको र तिनीहरूले देखेका र तिनीहरूमाथि आइपरेका हरेक कुराको कारणले गर्दा, 27 यहूदीहरूले नयाँ चलन र कर्तव्यलाई स्वीकार गरे । यो चलन तिनीहरू, तिनीहरूका सन्तानहरू र तिनीहरूसँग मिल्ने हरेकको लागि थियो । हरेक वर्ष तिनीहरूले यी दुई दिनको उत्सव मनाउनुपर्ने भयो । हरेक वर्ष उही समयमा तिनीहरूले विशेष तवरले यो चाड मान्‍नुपर्ने भयो । 28 हरेक पुस्ता, हरेक परिवार, हरेक प्रान्त र हरेक सहरमा यी दिनमा उत्सव मनाउनुपर्ने र पालन गर्नुपर्ने भयो । पूरीमका यी दिनहरूलाई यहूदीहरूले कहिल्यै नबिर्सून् भनेर तिनीहरू र तिनका सन्तानहरूले विश्‍वस्ततासाथ यो उत्सव मान्‍न कहिल्यै पनि छोड्‍दैनन् । 29 अबीहेलकी छोरी रानी एस्तर र यहूदी मोर्दकैले पुरा अधिकारसाथ लेखे र पूरीमको बारेमा यो दोस्रो चिट्ठीले पुष्‍टि गरे । 30 यहूदीहरूको सुरक्षा र सत्यताको कामना गर्दै चिट्ठीहरू अहासूरसका राज्यका एक सय सत्ताइसवटै प्रान्तका सबै यहूदीहरूकहाँ पठाइए । 31 यहूदी मोर्दकै र रानी एस्तरले यहूदीहरूलाई आज्ञा दिएझैँ तिनीहरूको तोकिएको समयमा पूरीमका यी दिन मान्‍न चिट्ठीहरूले निश्‍चयता दिए । यहूदीहरूले उपवास र विलापको समयलाई स्वीकार गरेझैँ तिनीहरूले आफू र आफ्ना सन्तानहरूका लागि यस कर्तव्यलाई पनि स्वीकार गरे । 32 एस्तरको आज्ञाले पूरीमको सम्बन्धमा यी नियमहरूलाई पक्‍का गर्‍यो, र यसलाई पुस्तकमा लेखियो ।