5
तिन दिनपछि एस्तरले आफ्नो राजकीय पोशाक पहिरिन्, र राजदरबारको सामु रहेको चोकमा खडा हुन गइन् । राजाचाहिँ राजदरबारको राजकीय सिंहासनमा बसेर मूल ढोकातर्फ हेरिरहेका थिए । जब राजाले एस्तरलाई चोकमा खडा भएको देखे, तब तिनका नजरमा उनले स्‍वीकृति पाइन् । तिनले आफ्नो हातमा भएको सुनको राजदण्ड उनीतिर पसारे । त्यसैले एस्तर नजिक गइन् र राजदण्डको टुप्पोलाई छोइन् । तब राजाले उनलाई भने, “रानी एस्तर, तिमी के चाहन्छ्यौ ? तिम्रो अनुरोध के छ ? मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु ।” एस्तरले भनिन्, “राजालाई खुसी लागेमा मैले हजुरको निम्ति तयार पारेको भोजमा हजुर र हामानको सवारी होस् ।” तब राजाले भने, “एस्तरले भनेकी कुरा गर्न हामानलाई झट्टै ल्याओ ।” त्यसैले राजा र हामान एस्तरले तयार पारेको भोजमा गए । भोजमा दाखमद्य टक्र्याइँदा राजाले एस्तरलाई भने, “तिम्रो बिन्ती के हो ? त्यो तिमीलाई दिइनेछ । तिम्रो अनुरोध के हो ? तिमीलाई आधा राज्यसम्म पनि दिइनेछ ।” एस्तरले जवाफ दिइन्, “मेरो बिन्ती र मेरो अनुरोध यही हो, मैले राजाको दृष्‍टिमा निगाह प्राप्‍त गरेकी छु भने र राजालाई मेरो बिन्ती पुरा गर्न र मेरो अनुरोधलाई आदर गर्न खुसी लाग्यो भने मैले हजुरको निम्ति भोली तयार गर्ने भोजमा राजा र हामानको सवारी होस्, अनि म राजाको प्रश्नको जवाफ दिनेछु ।” त्यस दिन हामान आनन्दित र हृदयमा प्रसन्‍न भएर गए । तर जब हामानले राजाको ढोकामा मोर्दकैलाई न खडा भएको न त तिनको सामु डरले थरथर काँपेको देखे, तब तिनी मोर्दकैको विरुद्धमा रिसले चुर भए । 10 तापनि हामानले आफैलाई नियन्त्रण गरी आफ्नो घर लागे । तिनले आफ्ना मित्रहरूलाई खबर पठाए र आफ्नी पत्‍नी जेरेशसहित तिनीहरूलाई एकसाथ भेला गरे । 11 हामानले तिनीहरूलाई आफ्नो धनदौलतको रवाफ, आफ्‍ना धेरै जना छोराहरू, राजाले तिनलाई दिएका सबै पदोन्‍नति अनि राजाका सबै अधिकारी र सेवकहरूभन्दा बढी तिनको प्रगति कसरी भयो भनेर बयान दिए । 12 हामानले भने, “रानी एस्तरले तयार पार्नुभएको भोजमा उहाँले राजासँगै आउन मबाहेक अरू कसैलाई निमन्त्रणा दिनुभएन । भोली पनि उहाँले राजासँगै मलाई निमन्त्रणा दिनुभएको छ । 13 तर मैले मोर्दकैलाई राजाको ढोकामा बसिरहेको देखेसम्म मेरा लागि यी सबै कुराले कुनै अर्थ राख्‍दैन ।” 14 तर तिनकी पत्‍नी जेरेशले हामान र तिनका सबै मित्रहरूलाई भनिन्, “तिनीहरूले पच्‍चिस मिटर अग्‍लो एउटा फाँसीको काठ बनाऊन् । बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित कुरा गर्नुहोस् । तब आनन्दित भएर राजासँगै भोजमा जानुहोस् ।” हामानलाई यो कुरा मन पर्‍यो, र तिनले एउटा फाँसीको काठ बनाउन लगाए ।