3
यी कुरापछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई बढुवा गरे, र तिनीसित भएका सबै अधिकारीभन्दा तिनको अधिकारको पद माथि राखिदिए । राजाको ढोकामा भएका सबै सेवकले हामानको सामु घुँडा टेक्‍नु र लम्पसार परेर दण्‍डवत् गर्नु भन्‍ने आदेश राजाबाट भएको थियो । तर मोर्दकैले न घँडा टेके, न लम्पसार परे । तब राजाको ढोकामा बस्‍ने राजाका सेवकहरूले मोर्दकैलाई भने, “राजाको आज्ञालाई तपाईं किन अटेर गर्नुहुन्‍छ ?” तिनीहरूले दिनप्रतिदिन तिनीसित उही कुरा गरे तापनि तिनले उनीहरूका इच्‍छाको बेवास्ता गरे । त्यसैले मोर्दकैको बारेमा त्यस्तै रहन्छ कि रहँदैन भनी तिनीहरूले त्यो कुरा हामानलाई बताए किनकि मोर्दकै यहूदी थिए भनी उनले तिनीहरूलाई भनेका थिए । हामानको सामु मोर्दकैले घुँडा नटेकेको र ननिहुरेको कुरा जब हामानले देखे, तब तिनी रिसले चूर भए । मोर्दकैलाई मात्र मार्नुपर्छ भन्‍ने विचारलाई तिनले टेरेनन् किनकि मोर्दकैका मानिसहरू को थिए भनी राजाका सेवकहरूले तिनलाई बताएका थिए । हामानले अहासूरसको सम्पूर्ण राज्यमा भएका सारा यहूदी अर्थात् मोर्दकैको जातिलाई सखाप पार्न चाहन्थे । राजा अहासूरसको बाह्रौँ वर्षको पहिलो महिनामा (जुन नीसान महिना हो) दिन र महिनाको छनोट गर्न हामानको सामु पुर अर्थात् चिट्ठा हालियो । चिट्ठा बाह्रौँ महिनामा (जुन अदार महिना हो) नपरेसम्म तिनीहरूले चिट्ठा हालिरहे । तब हामानले राजा अहासूरसलाई भने, “एउटा कोही मानिसहरू छन् जुन हजुरको राज्यका सारा प्रान्तभिर छरिएर रहेका छन् । तिनीहरूको व्यवस्था अरू मानिसहरूको भन्दा फरक छ, र तिनीहरूले राजाको व्यवस्था पालन गर्दैनन् । त्यसैले तिनीहरूलाई छोडिदिनु राजाको लागि उचित होइन । राजालाई खुसी लागेमा तिनीहरूलाई मार्ने आदेश दिनुहोस्, र यो काम गर्ने राजाका कर्मचारीहरूका निम्ति म राजकोषमा जम्मा गर्न तिन लाख किलो चाँदी दिनेछु ।” 10 तब राजाले आफ्नो हातबाट छाप-औँठी निकाले र यहूदीहरूका शत्रु अगागी हम्मदाताका छोरा हामानलाई त्‍यो दिए । 11 राजाले हामानलाई भने, “तिमी र तिम्रा मानिसहरूलाई रुपियाँ-पैसा फिर्ता दिइएको म हेर्नेछु । तिमीलाई इच्छा छ त्‍यही त्‍यसले गर ।” 12 तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो, र हामानको आदेश समावेश गर्ने गरी एउटा उर्दी लेखेर राजा प्रान्तीय गभर्नरहरू, सबै प्रान्तका अधिकारीहरू, विभिन्‍न जातिका सबै गभर्नरहरू, सबैजातिका अधिकारीहरूलाई हरेक प्रान्‍तमा तिनीहरूको आफ्नै लिपि र हरेक जातिको आफ्नै भाषामा पठाइयो । यसलाई राजा अहासूरसको नाउँमा लेखिएको र त्यसलाई तिनको औँठीद्वारा छाप लगाइएको थियो । 13 बाह्रौँ महिना (जुन अदार महिना हो) को तेह्रौँ दिनमा युवादेखि वृद्धसम्म, बालबालिका र महिला सबै यहूदीलाई एकै दिनमा नामेट पार्न, मार्न र नाश गर्न अनि तिनीहरूका धन-सम्पत्ति खोस्‍न राजाका सारा प्रान्तमा पत्रवाहकहरूद्वारा चिठ्ठीहरू पठाइए । 14 हरेक प्रान्तमा उक्‍त चिट्ठीको एकप्रतिलाई कानुन बनाइयो । तिनीहरू त्यही दिन तयार हुनुपर्छ भनेर हरेक प्रान्तमा सबै मानिसलाई जानकारी गराइयो । 15 राजाको आदेशलाई वितरण गर्न पत्रवाहकहरू हतारिए गए । शूशनको किल्लाभित्र पनि उर्दी बाँडियो । राजा र हामान पिउनलाई बसे, तर शूशन सहरमा भने हलचल मच्‍चियो ।