7
यसपछि फारसका राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट एज्रा आए । एज्राका पुर्खाहरू यिनै थिएः सरायाह, अजर्याह, हिल्कियाह, शल्लूम, सादोक, अहीतूब, अमर्याह, अजर्याह, मरायोत, जरयाह, उज्‍जी, बुक्‍की, अबीशू, पीनहास, एलाजार । एलाजार प्रधान पुजारी हारूनका छोरा थिए । एज्रा बेबिलोनबाट आए, र इस्राएलका परमप्रभु परमेश्‍वरले दिनुभएका मोशाको व्यवस्थामा तिनी निपुण अध्यापक थिए । परमप्रभुको हात तिनीमाथि भएको हुनाले तिनले मागेका हरेक कुरा राजाले दिए । राजा अर्तासास्तको सातौं वर्षमा इस्राएलका केही सन्तानहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका गायकहरू, द्वारपालहरू र मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू पनि यरूशलेममा गए । तिनी त्‍यही वर्षको पाँचौं महिनामा यरूशलेममा आइपुगे । पहिलो महिनाको पहिलो दिनमा तिनी बेबिलोनबाट हिंडेका थिए । परमेश्‍वरको असल हात तिनीमाथि रहेको हुनाले तिनी पाँचौं महिनाको पहिलो दिनमा यरूशलेममा आइपुगे । 10 परमप्रभुको व्यवस्थाका विधिहरू र आज्ञाहरू अध्ययन गर्न, पालन गर्न र सिकाउन एज्राले आफ्नो ह्रदय समर्पित गरेका थिए । 11 राजा अर्तासास्तले इस्राएलका लागि परमप्रभुका विधिहरू र आज्ञाहरू सिकाउन पुजारी र अध्यापक एज्रालाई दिएको आदेशको प्रतिलिपी यही हो, 12 “राजाहरूका राजा अर्तासास्तबाट स्वर्गका परमेश्‍वरको व्यवस्थाका अध्यापक पुजारी एज्रालाई, 13 इस्राएलबाट आएका मेरो राज्यमा भएका कुनै पनि व्‍यक्‍ति आफ्‍ना पुजारी र लेवीहरूका साथमा यरूशलेममा जाने इच्छा गर्छ भने त्यो तिमीसँगै जान सक्छ भनी म हुकुम दिंदैछु। 14 तिम्रो हातमा भएको परमेश्‍वरको व्यवस्थामुताबिक यहूदा र यरूशलेमको बारेमा सोधखोज गर्न म राजा र मेरा सात जना सल्लाहकारले तिमीलाई पठाएका छौं । 15 यरूशलेममा बास गर्नुहुने इस्राएलका परमेश्‍वरलाई तिनीहरूले सित्तैंमा चढाएका चाँदी र सुन लिएर जानू । 16 बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्‍ने जति चाँदी र सुनसाथै यरूशलेममा आफ्‍ना परमेश्‍वरका मन्दिरको निम्ति मानिसहरू र पुजारीहरूले खुसीसाथ जुन भेटीहरू दिन्छन्, ती पनि तिमीले लैजानू । 17 त्यसैले यस रकमले प्रशस्त मात्रामा गोरुहरू, भेडाहरू, थुमाहरू, अन्‍नबलि र अर्घबलि किन्‍नू । यरूशलेममा तिम्रा परमेश्‍वरको मन्दिरको वेदीमा ति चढाउनू । 18 तिम्रा परमेश्‍वरलाई खुसी तुल्याउन तिमी र तिम्रा दाजुभाइलाई असल लागेअनुसार बाँकी चाँदी र सुनको प्रयोग गर्नू । 19 तिमीलाई सित्तैंमा दिइएका चिजहरू यरूशलेममा तिम्रा परमेश्‍वरको मन्दिरको सेवाको लागि उहाँको सामु राख्‍नू । 20 तिम्रा परमेश्‍वरको मन्दिरको लागि आवश्यक कुनै पनि थोक किन्‍नलाई मेरो कोषबाट पैसा लिनू । 21 म अर्तासास्तले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै कोषाध्यक्ष यो आदेश दिन्छु, कि एज्राले तिमीहरूबाट मागेका कुनै पनि थोक प्रचुर मात्रामा दिनू, 22 अर्थात् एक सय तोडा चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल र नूनचाहिं असिमित रूपमा दिनू । 23 स्वर्गका परमेश्‍वरबाट आउने कुनै पनि आज्ञा आउँछ भने उहाँको मन्दिरको लागि भक्तिसहित पुरा गर्नू । किनकि म र मेरा छोराहरूको राज्यमाथि उहाँको क्रोध पर्न किन दिनू? 24 पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू वा मन्दिरको सेवामा नियुक्त गरिएका मानिसहरू र परमेश्‍वरको मन्दिरका सेवकहरूमा तिमीहरूले कुनै महसुल वा कर नलगाउनु भनेर हामीले तिनीहरूलाई जानकारी गराउँदैछौं । 25 एज्रा, तिमीलाई परमेश्‍वरले दिनुभएको बुद्धिले तिमीले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै मानिसको न्याय गर्न र तिम्रो परमेश्‍वरको व्यवस्था जान्‍ने सबैको सेवा गर्न न्यायकर्ताहरू र अधिकारीहरू नियुक्त गर्नू । व्यवस्था नजान्‍नेहरूलाई पनि तिमीले सिकाउनुपर्छ । 26 परमेश्‍वरको व्यवस्था वा राजाको व्यवस्थालाई पूर्ण रूपमा पालन नगर्ने जोकसैलाई मृत्युदण्ड, देश निकाला, तिनीहरूका थोकहरू जफत वा कैद गरेर दण्ड दिनू । 27 हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्‍नुभयो, 28 अनि राजा, तिनका सल्लाहाकारहरू र तिनका सबै शक्तिशाली अधिकारीहरूका सामु मलाई उहाँको करारको विश्‍वास्‍तता देखाउनुभयो । म परमप्रभु मेरा परमेश्‍वरको हातद्वारा बलियो बनाइएको छु, र मैले आफूसित जानलाई इस्राएलका अगुवाहरूलाई भेला गरें ।