46
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: भित्री चोकको पूर्वपट्टि फर्किएको ढोका कामको हप्‍ताको छ दिनसम्म बन्द हुनेछ, तर शबाथको दिनमा त्यो खोलिनेछ र औंसीको दिनमा त्यो खोलिनेछ । बाहिरबाट ढोका र त्यसको दलान हुँदै शासक बाहिरी चोकमा आउनेछन्, र पुजारीहरूले होमबलि र मेलबलि चढाउँदा तिनी भित्री ढोकाको चौकोसको छेउमा खडा हुनेछन् । तब तिनले भित्री ढोकाको सँघारमा आराधना गर्नेछन् र बाहिर जानेछन्, तर त्यो ढोका भने साँझसम्म नै बन्द हुनेछैन । शबाथ र औंसीमा देशका मानिसहरूले पनि यही ढोकामा परमप्रभुको आराधना गर्नेछन् । शासकले परमप्रभुलाई शबाथ दिनमा चढाउने होमबलि छवटा निष्खोट थुमा र एउटा निष्खोट भेडो हुनेछ । भेडोसँग चढाइने अन्‍नबलि एक एपा हुनेछ, र थुमासँग चढाइने अन्‍नबलि तिनले दिन चाहेजति हुनेछ, र अन्‍नको हरेक एपासँग एक हीन तेल होस् । औंसीको दिनमा तिनले बथानबाट एउटा निष्खोट साँढे, छवटा थुमा, र एउटा निष्खोट भेडो चढाउन् । तिनले साँढेको निम्ति एक एपा, भेडोको निम्ति एक एपा, र थुमाहरूका निम्ति तिनले दिन चाहेजति अन्‍नबलि चढाउन्, र अन्‍नको हरेक एपाको निम्ति एक हीन तेल होस् । जब शासक ढोका र त्यसको दलानको बाटोबाट आउँछन्, तब तिनी त्यही बाटोबाट भएर बाहिर जानुपर्छ । तर जब देशका मानिसहरू तोकिएका चाडहरूमा परमप्रभुको सामु आउँछन्, तब उत्तरी ढोकाबाट आउनेहरू दक्षिणी ढोकाबाट बाहिर जानुपर्छ, र दक्षिणी ढोकाबाट आउनेहरू उत्तरी ढोकाबाट बाहिर जानुपर्छ । कोही पनि आफू भित्र पसेको ढोकातिर फर्कनुहुँदैन, किनकि त्यो सिधै अगाडि जानुपर्छ । 10 शासक तिनीहरूका बिचमा हुनुपर्छ । तिनीहरू भित्र जाँदा उनी पनि भित्र जानुपर्छ, र तिनीहरू बाहिर निस्कँदा, उनी पनि बाहिर निस्कनुपर्छ । 11 चाडहरूमा साँढेको निम्ति एक एपा, र भेडोको निम्ति एक एपा, र थुमाहरूका तिनले दिने गरेजति अन्‍नबलि होस्, र हरेक एपाको निम्त एक हीन तेल होस् । 12 जब शासकले स्वइच्छा भेटी चढाउँछन्, चाहे त्यो परमप्रभुको निम्ति होमबलि होस् वा मेलबलि, पूर्वपट्टि फर्केको ढोका तिनको निम्ति खोलिनेछ । तिनले शबाथ दिनमा झैं होमबलि वा मेलबलि चढाउनुपर्छ । तब तिनी बाहिर जानुपर्छ, र तिनी बाहिर गएपछि, त्‍यो ढोका बन्द गरिनेछ । 13 यसका अतिरक्‍त, तिमीहरूले दैनिक रूपमा परमप्रभुलाई एक वर्षे निष्खोट भेडो होमबलिको रूपमा चढाउनु । यो तिमीहरूले हरेक बिहान गर्नुपर्छ । 14 त्योसँगै तिमीहरूले हरेक बिहान अन्‍नबलि चढाउनु, एक एपाको छैटौं भाग र परमप्रभुको निम्ति चढाइने अन्‍नबलिको पिठोलाई भिजाउनको निम्ति एक हीन तेलको एक-तिहाई भाग चढाउने अनन्तको विधि होस् । 15 तिनीहरूले थुमा, अन्‍नबलि र तेललाई हरेक बिहान तयार गर्नेछन् । यो सधैंको होमबलि हुनेछ । 16 परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: शासकले आफ्ना कुनै पनि छोरोलाई बकस दिन्‍छन् भने त्यो तिनको उत्तराधिकार हुनेछ । त्यो तिनका छोराहरूका सम्पत्ति, अर्थात् उत्तराधिकार हुनेछ । 17 तर तिनले आफ्नो उत्तराधिकारबाट आफ्ना सेवकमध्ये एक जनालाई बकस दिन्‍छन् भने, स्वन्त्रताको वर्ष नभएसम्म त्यो त्यस सेवकको हुनेछ, र त्यसपछि त्‍यो उक्‍त शासकलाई फिर्ता हुनेछन् । तिनको उत्तराधिकार निश्‍चय पनि तिनका छोराहरूकै हुनेछ । 18 शासकले मानिसहरूका उत्तराधिकार कब्‍जा गरेर तिनीहरूलाई आफ्नो सम्पत्तिबाट अलग गर्नुहुँदैन। तिनले आफ्ना छोराहरूलाई आफ्नै सम्पत्तिबाट दिनुपर्छ ताकि मेरा मानिसहरू आफ्नो सम्पत्तिबाट तितर-बितर हुनेछैनन् ।’ ” 19 त्यसपछि ती मानिसले मलाई ढोकाबाट पुजारीहरूका पवित्र कोठाहरूमा लगे, जुन उत्तरतर्फ फर्केका थिए । पश्‍चिमतर्फ एउटा ठाउँ थियो । 20 तिनले मलाई भने, “यो त्यही ठाउँ हो जहाँ पुजारीहरूले पापबलि र दोषबलिलाई उमाल्छन् र जहाँ तिनीहरूले अन्‍नबलिलाई पोल्छन् । तिनीहरूले ती बलिहरूलाई बाहिरी चोकमा लानुहुँदैन, किनकि त्‍यसो गरे मानिसहरू पवित्र हुनेछन् ।” 21 तब तिनले मलाई बाहिरी चोकमा ल्याए र तिनले मलाई त्यस चोकका चार कुनाबाट हिंड्न लगाए, र मैले चोकका हरेक कुनामा अर्को एउटा चोक देखें । 22 बाहिरी चोकको चार कुनामा चारवटा स-साना, चालिस हात लामो र तिस हात चौडा चोकहरू थिए । चारै चोकका एउटै नाप थियो । 23 ती चारैको वरिपरि ढुङ्गाको एउटा लहर थियो, र ती ढुङ्गाको लहरमुनि चुलाहरू थिए । 24 ती मानिसले मलाई भने, “यी ठाउँहरूमा मन्दिरका सेवकहरूले मानिसहरूका बलिहरूलाई उमाल्नेछन् ।”