44
त्‍यसपछि ती मानिसले मलाई पूर्व फर्केको बाहिरी पवित्र स्थानको ढोकामा ल्याए । त्यो बलियो गरी बन्द थियो । परमप्रभुले मलाई भन्‍नुभयो, “यो ढोकाको बन्द गरी मोहर लगाइएको छ । यो खोलिनेछैन । कोही पनि मानिस त्यहाँबाट जानेछैन, किनकि परमप्रभु, इस्राएलका परमेश्‍वर त्यहाँबाट आउनुभएको छ, यसैले त्यो बलियो गरी बन्द गरिएको छ । इस्राएलको शासक परमप्रभुको अगि भोजन गर्नलाई त्यहाँ बस्‍नेछ । त्यो ढोकाको दलानबाट भित्र आउनेछ र त्यही बाटो बाहिर जानेछ ।” तब तिनले मलाई उत्तरी ढोकाको बाटो हुँदै मन्दिरको अगाडि लगे । मैले हेरें, र हेर, परमप्रभुको महिमाले परमप्रभुको मन्‍दिरलाई ढाक्यो, र मैले आफ्‍नो शिर घोप्टो पारें । तब परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, मैले तँलाई घोषणा गर्ने सबै कुरा, परमप्रभुको मन्‍दिरका सबै विधि र त्‍यसका सबै नियमतिर आफ्नो हृदयलाई तयार पार् र ती आफ्ना आँखाले हेर् र कानले सुन् । मन्‍दिरका भित्र आउने ढोकाको र बाहिर निस्कने ढोकाहरूका बारेमा विचार गर् । तब विद्रोही इस्राएलको घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: ए इस्राएलको घराना, तेरा सबै घिनलाग्दा कामहरू अब अति भएका छन्, तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा, खतना नभएका हृदय र खतना नभएका शरीरका परदेशीहरूलाई तिमीहरूले मेरो पवित्र-स्थानमा ल्याएर मेरो मन्‍दिरलाई अशुद्ध बनयौ । तिमीहरूका घिनलाग्दा कामहरूले तिमीहरूले मेरो करार भङ्ग गरेका छौ । मेरा पवित्र कुराहरूका बारेमा तिमीहरूले आफ्ना कर्तव्य पुरा गरेका छैनौ, तर तिमीहरूले आफ्ना कर्तव्यहरू पुरा गर्न अरू नियुक्त गर्‍यौ र तिमीहरूले तिनीहरूलाई नै मेरो पवित्र स्थानको रेखदेख गर्न लगायौ । परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: इस्राएलका मानिसहरूका बिचमा बसोबास गर्ने कोही परदेशी जसको हृदय र शरीरको खतना भएको छैन, त्यो मेरो पवित्र ठाउँमा प्रवेश नगरोस् । 10 तापनि लेवीहरू भने मबाट टाढा भए— आफ्ना मूर्तिहरूका पछि लागेर तिमीहरू मबाट टाढा भट्‍किए, तर तिनीहरूले आफ्ना पापको मोल तिर्नेछन् । 11 तिनीहरू मेरो पवित्र-स्थानमा सेवकहरू हुन्, र तिनीहरूले मन्‍दिरका ढोकाहरूका रेखदेख गर्छन् र मन्‍दिरमा सेवा गर्छन् र तिनीहरूले होमबलि र मानिसहरूका बलिदानहरूलाई मार्छन्, र तिनीहरू मानिसहरूको अगि खडा हुन्‍छन् र तिनीहरूको सेवा गर्छन् । 12 तर तिनीहरूले आफ्ना मूर्तिहरूका अगाडि बलिदान चढाएका हुनाले, इस्राएलको घरानाको निम्ति तिनीहरू पापको कारण बने । यसैकारण म आफ्नो हात उठाएर तिनीहरूको विरुद्ध शपथ खान्छु, कि तिनीहरूले आफ्नो दण्ड पाउनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 13 तिनीहरू मेरा पुजारीहरूको काम गर्न वा मेरा पवित्र, अति पवित्र कुराहरू भएको ठाउँमा मेरो नजिक आउनेछैनन् । बरु, तिनीहरूले गरेका घिनलाग्दा कामहरूको कारण तिनीहरूले निन्दा र दोष भोग्‍नेछन् । 14 तर म तिनीहरूलाई मेरो मन्‍दिरमा त्यसका सारा कर्तव्यहरू र त्यहाँ गरिने सबै कुरामाथि जिम्मा दिनेछु । 15 अनि इस्राएलका मानिसहरू मबाट टाढा भट्‍किरहेका बेलामा, मेरो पवित्र-स्थानका कर्तव्यहरूलाई पुरा गर्ने सादोकका छोराहरू अर्थात् लेवी पुजारीहरू मेरो अगि मेरो आराधना गर्न आउनेछन् । मलाई बोसो र रगत चढाउन तिनीहरू मेरो अगि खडा हुनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 16 तिनीहरू मेरो पवित्र-स्थानमा आउनेछन् । मेरो आराधना गर्न र मेरो निम्ति आफ्ना कर्तव्यहरू पुरा गर्न तिनीहरू मेरो टेबल नजिक आउनेछन् । 17 यसरी तिनीहरू भित्री चोकका ढोकाहरूमा आउँदा, तिनीहरूले सूतिको कपडा लगाउनुपर्छ, किनभने चोकको ढोका र मन्‍दिरभित्र आउन तिनीहरूले ऊनको वस्‍त्र लगाउनुहुँदैन । 18 तिनीहरूका शिरमा सूतिको फेटा र कम्मरमा सूतिको भित्री लुगा हुनुपर्छ । तिनीहरूले पसिना आउने कुनै पनि लुगा लगाउनुहुँदैन । 19 जब तिनीहरू मानिसहरूकहाँ बाहिरी चोकमा जान्छन्, तब तिनीहरूले सेवा गर्दा लगाइरहेको वस्‍त्र खोल्‍नुपर्छ । तिनीहरूले ती खोल्‍नैपर्छ र ती पवित्र कोठामा राक्‍नुपर्छ, ताकि ती विशेष पहिरनको छुवाइले तिनीहरूले अरू मानिसहरूलाई पवित्र नबनाऊन् । 20 तिनीहरू आफ्नो कपाल खौरिन पनि हुँदैन, न त ती खुला छोड्‍न हुन्‍छ, तर तिनीहरूले आफ्ना शिरका कपाललाई छोटो गरी काटून् । 21 भित्री चोकमा आउँदा कुनै पनि पुजारीले दाखमद्य पिएको हुनुहुँदैन , 22 त्यसले विधवा वा सम्‍बन्‍ध-विच्‍छेद भएकी स्‍त्रीलाई आफ्नी पत्‍नी बनाउनुहुँदैन, तर त्यसले इस्राएलको घरानाको कन्ये केटी वा पुजारीसँग विवाह गरेर विधवा भएकीसँग मात्र विवाह गरोस् । 23 किनकि तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र अपवित्र बिचको भिन्‍नताबारे सिकाउनेछन् । तिनीहरूले उनीहरूलाई शुद्ध र अशुद्ध बारे चिनाउनेछन् । 24 कुनै विवाद भएमा, तिनीहरूले मेरा विधिहरूअनुसार न्याय गर्नेछन् । तिनीहरू न्यायपूर्ण हुनुपर्छ । तिनीहरूले हरेक चाडमा मेरा नियम र विधिहरू पालना गर्नेछन्, र तिनीहरूले मेरा पवित्र शबाथहरू मनाउनेछन् । 25 तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन्, तर आफ्‍ना बुबा, आमा, छोरो , छोरी, दाजुभाइ, वा कन्ये दिदीबहिनी भएमा तिनीहरू जान सक्छन् । नत्रता तिनीहरू अशुद्ध हुनेछन् । 26 कुनै पुजारी अधुद्ध भएपछि, तिनीहरूले त्यसको निम्ति सात दिन गन्‍नेछन् । 27 अनि त्यो पवित्र-स्थानमा, अर्थात् पवित्र-स्थानमा सेवा गर्नलाई भित्री चोकमा प्रवेश गर्ने दिनमा, त्यसले आफ्नो निम्ति पापबलि ल्याओस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 28 तिनीहरूको उत्तराधिकार यही हुनेछ: म नै तिनीहरूको उत्तराधिकार हुँ, र इस्राएलमा तिमीहरूले तिनीहरूलाई कुनै सम्पत्ति नदिनू । म नै तिनीहरूको सम्पत्ति हुनेछु । 29 तिनीहरूले अन्‍नबलि, पापबलि, र दोषबलिबाट खानेछन्, र इस्राएलमा परमप्रभुको निम्ति चढाइएको हरेक कुरा तिनीहरूकै हुनेछ । 30 सबै कुराका पहिलो फलबाट असल फल र तिमीहरूका सबै उपहारहरू पुजारीहरूकै हुनेछन्, र तिमीहरूले तिमीहरूका भोजनबाट उत्कृष्‍ट अन्‍नबलि पुजारीहरूलाई दिनू ताकि तिमीहरूको घरमा आशिष् आओस् । 31 जङ्गली पशुले मारेको चरा वा पशुको सिनुबाट पुजारीहरूले खानुहुँदैन ।