41
त्‍यसपछि ती मानिसले मलाई मन्दिरको पवित्र स्थानमा ल्याए र ढोकाका चौकोसहरू नापे । ती दुवैपट्टि छ हात चौडा थिए । ढोकाको चौडाइ दश हात थियो । हरेक तर्फको भित्ता पाँच हात थियो । तब ती मानिसले पवित्र स्थानको क्षेत्रफल नापे । त्यो चालिस हात लामो र बिस हात चौडा थियो । त्यसपछि ती मानिस महा-पवित्र स्थानभित्र गए र ढोकाको चौकोसहरू नापे । ती दुई हात थिए, र ढोकाको चौडाइ छ हात थियो । दुवैतिरका भित्ताका चौडाइ सात हात थियो । तब तिनले कोठाको लमाइ बिस हात नापे । मन्दिरको सभामन्‍दिरको अगाडिको भागसम्म त्यो बिस हात चौडा थियो । अनि तिनले मलाई भने, “यो महा-पवित्र स्थान हो ।” त्‍यसपछि ती मानिसले मन्‍दिरको भित्ता नापे । त्यो छ हात बाक्लो थियो । मन्‍दिर वरिपरि भएका छेउका कोठाहरू चार हात चौडा थिए । छेउका कोठाहरू तिन तहमा थिए, एउटामाथि अर्को कोठा, र दुवैतिर तिस कोठा थिए । छेउका सबै कोठालाई टेवा दिनको निम्ति मन्‍दिर भित्तामाथि पालीहरू थिए, किनभने मन्‍दिरका भित्तामा टेवाको निम्ति केही पनि राखिएको थिएन । ती छेउका कोठाहरू जति माथि-माथि गए ती त्यति नै फराकिलो भए, र त्यो मन्‍दिर चारैतिर झन्-झन् अग्लो हुँदै गयो र मन्‍दिर जति अग्लो हुँदै गयो कोठाहरू पनि त्यति नै फराकिलो हुँदै गए, र तल्लो तहदेखि माथिल्लो तहसम्म एउटा भर्‍याङ थियो । अनि मैले मन्‍दिरको चारैतिर उठेको भाग देखें, जुन छेउका कोठाहरूका निम्ति जग थिए । त्यो एक लौरो अग्लो अर्थात् छ हात थियो । छेउका कोठाहरूका बाहिरी भागको चौडाइ पाँच हात थियो । पवित्र-स्थानमा यी कोठाहरूको बाहिरपट्टि खुला ठाउँ थियो । 10 यस खुला ठाउँको अर्को पट्टि पुजारीहरूका बाहिरी भागका कोठाहरू थिए । पवित्र-स्थानभरि नै त्यसको चौडाइ बिस हात थियो । 11 भित्री कोठाहरूका निम्ति अर्को खुला ठाउँबाट ढोकाहरू थिए । एउटा ढोकाको उत्तर भागमा थियो र अर्कोचाहिं दक्षिण भागमा । यो खुला ठाउँको चौडाइ चारैतिर पाँच हात थियो । 12 पश्‍चिमबाट चोक तर्फ फर्केको भवन सत्तरी हात चौडा थियो । त्यसको भित्ता सबैतिर पाँच हात बाक्लो थियो, र त्यसको लमाइ नब्बे हात थियो । 13 अनि ती मानिसले पवित्र-स्थानको नाप लिए । त्यसको लमाइ एक सय हात थियो । बेग्लै रहेको भवनको भित्ता र चोक पनि एक सय हात लामो थियो । 14 पवित्र-स्थानको अगाडिको चोकको अगाडि भागको चौडाइ पनि एक सय हात थियो । 15 अनि ती मानिसले पवित्र-स्थानको पछाडिको पश्‍चिममा रहेको भवन, र दुवैपट्टिको बार्दलीको लमाइ नापे, ती एक सय हात थिए । पवित्र-स्थान र दलान, 16 भित्री भित्ताहरू र झ्यालहरू, साना झ्यालहरू, र तिनै तहमा वरिपरि भएका बार्दलीहरू काठले मोहोरिएका थिए । 17 भित्री पवित्र-स्थानको ढोकामाथि र भित्ताहरूमा भएका खाली ठाउँमा एउटा ढाँचा थियो । 18 त्यो करूबहरू र खजूरका रूखहरूले सुसज्‍जित थिए । हरेक करूबका बिचमा एउटा खजूरको रूख थिए, र हरेक करूबका दुईवटा अनुहार थिएः 19 एकापट्टि मानिसको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो, र अर्को पट्टि जवान सिंहको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो । ती मन्‍दिरको सबैतिर खोपिएका थिए । 20 जमिनदेखि माथि ढोकासम्म, करूबहरू र खजूरका रूखहरू मन्‍दिरको बाहिरी भित्तामा खोपिएका थिए । 21 पवित्र-स्थानका ढोकाको चौकोस वर्गाकार थिए । हेर्दा तिनीहरूको बनावट, 22 पवित्र-स्थानको अगाडिको काठको वेदीजस्‍तो थियो, जुन सबैतिर तिन हात अग्लो र दुई हात लामो थियो । त्यसको कुनाका चौकोसहरू, आधार, र पाटाहरू काठले बनेका थिए । अनि ती मानिसले मलाई भने, “यो त्यो टेबल हो जुन परमप्रभुको सामु रहन्छ ।” 23 पवित्र-स्थान र महा-पवित्र स्थानका निम्ति दुईवटा ढोका थिए । 24 यी ढोकाहरूमा दुईवटा खापा थिए, एउटा ढोकाको निम्ति दुई वटा खापा र अर्कोको निम्ति दुईवटा । 25 पवित्र-स्थानका ढोकाहरूमा खोपिएका करूबहरू र खजूरका रूखहरू भित्ताहरूका जस्‍तै थिए, र अगाडिको भागमा दलानमाथि काठको पाली-छानो थियो । 26 दलानको दुवै भागमा साँघुरा झ्यालहरू र खजूरका रूखहरू थिए । यी मन्‍दिरका छेउका कोठाहरू थिए, र यी कोठाहरूमा पनि पाली-छानोहरू थिए ।