34
तब परमप्रभुको वचन यसो भेनर मकहाँ आयो, “ए मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा अगमवाणी गर् । अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर गोठालाहरूलाई यसो भन्‍नुहुन्छ: इस्राएलका गोठालाहरूलाई धिक्‍कार जसले आफ्नै गोठालो गर्छन् । के गोठालाहरूले त बगालको सुरक्षा गर्नुपर्दैन र? तिमीहरू बोसे भागहरू खान्छौ र तिमीहरू ऊनको वस्‍त्र लगाउँछौ । तिमीहरू बगालको मोटा-मोटा पशुलाई मार्छौ । तिमीहरूले गोठालाको काम गर्दै गर्दैनौ । रोगीहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, न त बिरामीहरूलाई तिमीहरूले निको पारेका छौ । भाँचिएकाहरूलाई तिमीहरूले पट्टी बाँधेका छैनौ, र निर्वासितहरूलाई पुनर्स्थापित गरेका छैनौ वा हराएकालाई खोजेका छैनौ । त्‍यसको साटोमा, तिमीहरू तिनीहरूमाथि बल र हिंसामा शासन गर्छौ । तब तिनीहरू गोठालाबिना छरपष्‍ट भएका थिए, र तिनीहरू मैदानका जीवित पशुहरूका निम्ति आहारा बने । मेरो बगाल सारा पर्वतहरू र सबै अग्ला पहाडहरूमा भट्किन्छन्, र तिनीहरू पृथ्वी सारा सतहभरि नै छरिएका छन् । तापनि कसैले तिनीहरूको खोजी गर्दैन । यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, किनभने मेरो बागल लुटिएका र मैदानका सबै पशुका आहारा बनेका छन्, किनभने त्यहाँ कोही गोठाला थिएनन् र मेरा गोठालामध्‍ये कसैले पनि मेरो बगालको खोजी गरेनन्, तर ती गोठालाहरूले आफ्नै सुरक्षा गरे र मेरो बगालको सुरक्षा गरेनन् । यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः 10 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, म गोठालाहरूका विरुद्धमा छु, र म तिनीहरूका हातबाट आफ्नो बगाललाई लिनेछु । त्यसपछि तिनीहरूलाई बगालको सुरक्षा गर्ने कामबाट म हटाउनेछु । ती गोठालाहरूले अब उसो आफ्नै घोठालो पनि गर्नेछैनन् किनभने मैले मेरो बगाललाई म तिनीहरूका मुखबाट खोस्‍नेछु, ताकि मेरो बगाल तिनीहरूका निम्ति फेरि कहिल्यै आहारा हुनेछैनन् । 11 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, मेरो बगालको खोजी म आफैं गर्नेछु र तिनीहरूको रेखदेख गर्नेछु, 12 जसरी गोठाला आफ्नो छरपष्‍ट भएको बगालको बिचमा भएको दिनमा उसले आफ्‍नो बगलाको खोजी गर्छ । त्‍यसरी नै म आफ्‍नो बगालको खोजी गर्नेछु, अनि बादल र अन्धकारको दिनमा तिनीहरू छरपष्‍ट भएका सबै ठाउँबाट म तिनीहरूलाई बचाउनेछु । 13 तब तिनीहरूलाई मानिसहरूका बिचबाट म बाहिर ल्याउनेछु । तिनीहरूलाई देशहरूबाट भेला गराउनेछु र तिनीहरूलाई आफ्‍नै देशमा ल्‍याउनेछु । तिनीहरूलाई इस्राएलको पर्वतहरूमा भएका खर्कहरूमा, खोलाहरूका छेउमा, र देशका हरेक वस्तीहरूमा म राख्‍नेछु । 14 तिनीहरूलाई असल खर्कमा म राख्‍नेछु । इस्राएलका अग्ला पर्वतहरू तिनीहरू चर्ने ठाउँहरू हुनेछन् । तिनीहरू असल ठाउँहरूमा र प्रशस्त खर्कहरूमा चर्नको निम्ति बस्‍नेछन्, र तिनीहरू इस्राएलका पहाडहरूमा चर्नेछन् । 15 मेरो बगालको गोठालो म आफैंले गर्नेछु र तिनीहरूलाई म आफैंले बसाल्‍नेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, 16 म हराएकाहरूलाई खोज्नेछु र निर्वासितहरूलाई पुनर्स्थापित गर्नेछु । भाँचिएका भेडालाई पट्टी बाँध्‍नेछु र बिरामी भेडालाई निको पार्नेछु तर मोटा र बलियालाई म नष्‍ट गर्नेछु । म न्यायको साथमा गोठालोको काम गर्नेछु । 17 यसैले, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, अब ए मेरा बगाल, हेर, भेडा-भेडाको बिचमा, र भेडा र बोकाको बिचमा म एक जना न्यायकर्ता हुनेछु । 18 के असल खर्कमा चर्नु पर्याप्‍त छैन र तिमीहरू खर्कमा बाँकी रहेको कुरालाई कुल्चन्छौ, अनि स्वच्छ पानीबाट पिउनु पर्याप्‍त छैन र नदीहरूलाई आफ्ना खुट्टाहरूले तिमीहरू धमिलो बनाउँछौ? 19 के तिमीहरूले आफ्ना खुट्टाहरूले कुल्चेको कुराबाट मेरा भेडाहरूले खानु, र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्छ? 20 यसकारण, परमप्रभु परमेश्‍वर तिनीहरूलाई यसो भन्‍नुहुन्छ: हेर, मोटा र दुब्‍ला भेडाहरूका बिचमा म आफैंले न्याय गर्नेछु, 21 किनकि तिमीहरूले तिनीहरूलाई आफ्ना कुइना र कुमले धकेल्छौ, अनि सबै कमजोरहरू देशबाट छरपष्‍ट नभएसम्म तिमीहरूले तिनीहरूलाई आफ्ना सिङ्ले हान्‍छौ । 22 म आफ्‍नो बगाललाई बचाउनेछु, र तिनीहरू फेरि लुटिनेछैनन् अनि एउटा भेडा र अर्कोको बिचमा म न्याय गर्नेछु! 23 मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्‍यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ । 24 किनकि म परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनेछु, र मेरो दास दाऊद तिनीहरूका बिचमा एउटा शासक हुनेछ । म, परमप्रभुले यो घोषणा गरेको छु । 25 त्‍यसपछि म तिनीहरूसँग शान्तिको करार गर्नेछु र देशबाट दुष्‍ट जङ्गली पशुहरूलाई हटाउनेछु, ताकि तिनीहरू उजाड-स्‍थान सुरक्षित बस्‍नेछन् र जङ्गलहरूमा सुरक्षित सुत्‍नेछन् । 26 तिनीहरूमाथि र मेरो पहाडको वरिपरिका ठाउँहरूमा म आफ्‍नो आशिष् ल्याउनेछु, किनकि म ठिक ऋतुमा झरी पठाउनेछु । यी आशिष्‌का झरी हुनेछन् । 27 तब मैदानका रूखहरूले आफ्ना फल उब्‍जाउनेछन् र पृथ्वीले आफ्नो उब्जनी दिनेछ । मेरा भेडाहरू आफ्नै देशमा सुरक्षित हुनेछन् । जब तिनीहरूका जुवाको काठ म भाँचिदिन्‍छु र जब तिनीहरूलाई दास बनाउनेको हातबाट तिनीहरूलाई म बचाउँछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् । 28 तिनीहरू फेरि जातिहरूका निम्‍ति लुट हुनेछैनन्, र पृथ्वीका जङ्गली पशुहरूले तिनीहरूलाई खानेछैनन् । किनकि तिनीहरू सुरक्षित बस्‍नेछन्, र तिनीहरूलाई कसैले पनि त्रासमा पार्नेछैन । 29 किनकि प्रशस्त अन्‍न उब्जनी हुने देश म तिनीहरूलाई दिनेछु । यसरी तिनीहरू फेरि देशमा अनिकालको शिकार हुनेछैनन्, र तिनीहरूले जातिहरूको गिल्ला सहनुपर्नेछैन । 30 तब तिनीहरूले म परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु भनी जान्‍नेछन् । इस्राएलको घराना मेरा मानिसहरू हुन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 31 किनकि तिमीहरू मेरा भेडा हौ, मेरो खर्कका बगाल, र मेरा मानिस हौ, र म तिमीहरूका परमेश्‍वर हुँ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’ ”