32
बाह्रौं वर्षको बाह्रौं महिनाको पहिलो दिनमा, परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “मानिसको छोरा, मिश्रदेशको राजा फारोको सम्‍बन्‍धमा विलाप गर् । त्यसलाई यसो भन्, ‘तँ जातिहरूका बिचमा जवान सिंहझैं छस्, तर समुद्रमा तँ विशाल पशुझैं छस् । तैंले पानीलाई मन्थन गर्छस्, आफ्नो खुट्टाले पानीलाई हल्लाउँछस्, र तिनीहरूका पानीलाई हिलो बनाउँछस् । परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः धेरै मानिसहरूका भीडमा म तँमाथि एउटा जाल फिंजाउनेछु, र तिनीहरूले तँलाई मेरो जालमा उठाउनेछन् । तँलाई म देशमा त्याग्‍नेछु । म तँलाई मैदानमा फल्‍नेछु र आकाशका सबै चरालाई तँमाथि बस्‍न लगाउनेछु । पृथ्वीका सारा जीवित पशुहरूको भोक तँद्वारा नै मेटिनेछ । किनकि पर्वतहरूमा म तेरो मासु छर्नेछु, र तेरो किरा-परेको लासहरूले बेसीहरूलाई भर्नेछु । तब पर्वतहरूमाथि म तेरो रगत खन्याउनेछु, र खोंचहरू तेरो रगतले भरिनेछ । त्‍यसपछि जब तँलाई म नष्‍ट गर्नेछु, तब म आकाश ढाक्‍नेछु र त्‍यसका ताराहरूलाई अँध्यारो पार्नेछु । म सूर्यलाई बादलले ढाक्‍नेछु, र चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन । आकाशमा भएका सबै चम्कने ज्योतिलाई म तँमाथि अँध्यारो पार्नेछु, र तेरो देशमाथि म अन्धकार ल्याउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । यसरी जातिहरूका बिचमा, तैंले नजानेका देशहरूका बिचमा जब म तेरो सर्वनाश ल्‍याउनेछु, तब तँलाई थाहा नभएका देशहरूका धेरै जना मानिसका हृदयलाई म भयभीत पार्नेछु । 10 तेरो विषयमा म धेरै जना मानिसलाई अचम्मित पार्नेछु । मैले तिनीहरूका अगि आफ्नो तरवार चलाउँदा, तेरो विषयमा तिनीहरूका राजाहरू डरले काँप्‍नेछन् । तेरो सर्वनाशको दिनमा, तेरो कारणले प्रत्‍येक व्‍यक्‍ति हर घडी काँप्‍नेछ । 11 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ । 12 तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्‍नेछु । हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्‍नेछ । यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ र त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ । 13 किनकि प्रशस्त पानीको छेउमा भएका सारा पशुलाई म सर्वनाश गर्नेछु । मानिसको खुट्टाले अबदेखि कहिल्यै पानीलाई हल्लाउनेछैन, न त पशुहरूका खुरले त्यो हल्लाउनेछ । 14 तब म तिनीहरूका पानीलाई शान्त पार्नेछु र तिनीहरूका नदीलाई तेलझैं बगाउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 15 जब म मिश्र देशलाई त्यागिएको ठाउँ बनाउनेछु, जब त्यो देश आफ्नो प्रशास्तता उजाड बनाइनेछ, जब म त्यसका सारा बासिन्दालाई आक्रमण गर्नेछु, तब म परमप्रभु हुँ भनेर तिनीहरूले जान्‍नेछन् । 16 त्यहाँ विलाप हुनेछ । जातिका छोरीहरूले त्यसमाथि विलाप गर्नेछन् । मिश्रदेश र त्यसका सारा भीडमाथि तिनीहरूले विलाप गर्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’ ” 17 अनि बाह्रौं वर्षमा, महिनाको पन्ध्रौं दिनमा, परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 18 “ए मानिसको छोरा, मिश्रदेश भीडका निम्ति रो, र त्यसलाई र वैभवशाली जातिहरूका छोरीहरूलाई तल खाडलमा गएकाहरूसँगै पृथ्वीको तल्लो भागमा लैजा । 19 ‘के तँ अरू कुनै व्‍यक्‍तिभन्दा धेरै सुन्दर छस् र? तल जा र खतना नभएकाहरूसँग भुइँमा पल्टेर बस् ।’ 20 तरवारद्वारा मारिएकाहरूका बिचमा तिनीहरू मर्नेछन् । तरवार थुतिएको छ! त्यो तरवारलाई दिइएको छ । तिनीहरूले त्यसलाई र त्यसका भिडलाई कब्‍जा गर्नेछन् । 21 चिहानमा भएको सबैभन्दा शक्तिशाली योद्धाले मिश्रदेश र त्यसका मित्रराष्‍ट्रहरूका बारेमा यो घोषणा गर्नेछन्, ‘तिनीहरू यहाँ तल आएका छन्! तिनीहरू तरवारले मारिएका खतना नभएकाहरूसँग रहनेछन् ।’ 22 अश्शूर देश आफ्ना सारा मानिससँगै त्यहाँ छ । त्यसको चिहानले त्यसलाई घेर्दछ । तिनीहरू सबै जना तरवारले मारिएका थिए । 23 त्यो खाडलका भित्तामा चिहान भएकाहरू त्यसका सबै मानिससँगै त्यहाँ छन् । जीवितहरूका देशमा आतंक ल्याउने ती तरवारले मारिएकाहरू सबै जनालाई त्यसको चिहानले घेर्दछ । 24 एलाम आफ्नो सबै भीडसँगै त्यहाँ छ । त्यसको चिहानले त्‍यसलाई घेर्दछ । ती सबै जना मारिएका थिए । तरवारले मारिएकाहरू, पृथ्वीका तल्ला भागहरूमा खतना नभई गएकाहरू, जीवितहरूको देशमा आतंक ल्याएकाहरू, र आफैलाई लाजमा पारेकाहरू खाडलमा जानेहरूसँगै तल जान्छन् । 25 मारिएकाहरूका बिचमा तिनीहरूले एलाम र त्यसका सबै भीडका निम्ति एउटा विश्राम-स्थल तयार गरे । त्यसको चिहानले त्यसलाई घेर्छ । तिनीहरू सबै खतना नभएका, तरवारद्वारा घोचिएका हुन्, किनभने तिनीहरूले जीवितहरूका देशमा आतंक ल्याएका थिए । यसैले मारिएकाहरूका बिचमा तल खाडलमा जानेहरूसँगै तिनीहरूले आफ्नो लाज आफै बोक्छन् । एलाम मारिएकाहरूका बिचमा छ । 26 मेशेक, तूबल, र तिनीहरूका सारा भीड त्यहाँ छन्! तिनीहरूका चिहानले तिनीहरूलाई घेर्छ । तिनीहरू सबै जना खतना नभएका र तरवारले मारिएकाहरू हुन्, किनभने तिनीहरूले जीवितहरूको देशमा आतंक ल्याएका थिए । 27 युद्धका आफ्ना सारा हतियारहरू, र आफ्ना शिरमुनि राखेका तरवारहरू, र आफ्ना हड्‍डीहरूमाथि आफ्ना पापहरूसँगै तल चिहानमा गएका खतना नभएका मृत योद्धाहरूसँग तिनीहरू रहँदैनन् । किनकि तिनीहरू जीवितहरूको देशमा योद्धाहरूका आतंक थिए । 28 यसैकारण तँ, मिश्रदेश, खतना नभएकाहरूका बिचमा टुक्रिनेछस्! तरवारले छेडिएकाहरूका छेउमा तँ रहनेछस् । 29 एदोम आफ्ना राजाहरू र आफ्ना सबै अगुवासँगै त्यहाँ छ । तरवारले मारिएकाहरूसँगै तिनीहरूलाई तिनीहरूकै शक्तिमा राखिएको छ । खतना नभएकाहरू, तल खाडलमा गएकाहरूसँगै तिनीहरू रहन्छन् । 30 उत्तरका शासकहरू सबै जना र छेडिएकाहरूसँगै तल गएका सबै सिदोनीहरू त्यहाँ छन् । तिनीहरू शक्तिशाली थिए र अरूलाई भयभीत पारे, तर अब खतना नभएकै अवस्थामा तरवारद्वारा छेडिएकाहरूसँगै तिनीहरू त्यहाँ लाजमा परेका छन् । तल खाडलमा जानेहरूसँगै तिनीहरू आफ्नो लाज आफैं बोक्छन् । 31 फारोले हेर्नेछ, अनि त्यो र त्यसका सबै भीडले तरवारले छेडिएका सेनाहरूका खातिर सान्त्वना पाउनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 32 जीवितहरूका देशमा मैले त्यसलाई आतंक फैलाउनलाई राखें, तर त्यो र त्यसका भीड खतना नभएकाहरू, र तरवारले छेडिएकाहरूका बिचमा ढल्‍नेछन्, य परमप्रभु परमेश्‍वरको घोषणा हो ।”