3
उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, तैंले जे पाएको छस् त्‍यो खा । यो मुट्ठो खा, र गएर इस्राएलको घरानालाई भन् ।” यसैले मैले आफ्‍नो मुख खोलें, र उहाँले त्‍यो मुट्ठो मलाई खुवाउनुभयो । उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, मैले तँलाई दिएको त्‍यो मुट्ठो खा र यसले तेरो पेट भर ।” यसैले मैले त्‍यो खाएँ, र त्‍यो मेरो मुखमा महझैं गुलियो थियो । तब उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरो कुरा भन्‌ । किनकि तँ कुनै अनौठो बोली र कठिन भाषा बोल्‍ने मानिसहरूकहाँ पठाइएको छैनस्, तर इस्राएलको घरानाकहाँ— अनौठो बोली र कठिन भाषा बोल्‍ने धैरै जना मानिसकहाँ होइन, जसको भाषा तैंले बुझ्‍दैनस्‌ । मैले तँलाई त्‍यस्‍ताहरूकहाँ पठाएको भए, उनीहरूले निश्‍चय नै तेरा कुरा सुन्‍नेथिए । तर इस्राएलका घरानाले त तेरो कुरा सुन्‍ने इच्‍छा गर्नेछैनन्, किनभने तिनीहरू मेरो कुरा सुन्‍न इच्‍छा गर्दैनन् । यसैले इस्राएलका सारा घराना नै अटेरी र कठोर हृदयका छन्‌ । हेर, मैले तेरो अनुहारलाई तिनीहरूका अनुहारजस्‍तै हठी र तेरो निधाारलाई तिनीहरूको निधारजस्तै कठोर तुल्‍याएको छु । मैले तेरो निधारलाई दर्शनढुङ्गाभन्‍दा कडा एउटा हिराजस्‍तै पारेको छु। तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूदेखि नडरा, न त तिनीहरूको अनुहार देखेर भयभीत हो ।” 10 अनि उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, मैले तँलाई भनेका सबै कुरा — ती आफ्‍नो मनमा राख् र ती आफ्ना कानले सुन् । 11 त्‍यसपछि कैदमा परेका तेरा मानिसहरूकहाँ जा, र तिनीहरूलाई भन् । तिनीहरूले सुने पनि नसुने पनि तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ' ।” 12 तब आत्‍माले मलाई माथि उठाउनुभयो, र मैले आफ्‍नो पछिल्‍तिर ठुलो भुकम्पको आवाज सुनेंः “परमप्रभुको महिमा उहाँको वासस्‍थानमा धन्‍यको होस् !” 13 त्‍यो आवाज ती जीवित प्राणीहरूका पखेटाले एउटाले अर्कालाई छुँदा निस्‍केको र तिनीहरूसँग भएका ती पाङ्‌ग्राहरूका आवाज थियो, र एउटा ठुलो भुकम्पको आवाज थियो । 14 आत्‍माले मलाई माथि उठाउनुभयो र मलाई टाढा लानुभयो, र म आफ्‍नो आत्‍माको क्रोधमा तीतोपन लिएर गएँ, किनकि परमप्रभुको बलिष्‍ठ बाहुलीले मलाई शक्तिसाथ थिचिरहेको थियो । 15 तब म कबार नहरको नजिक बस्‍ने ती कैदीहरूकहाँ तेल-अबीबमा गएँ, र त्यहाँ सात दिनसम्‍म तिनीहरूसँग आश्‍चर्यले व्याकुल भएर म बसें । 16 तब सात दिनको अन्‍त्‍यमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 17 “ए मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको रक्षक तुल्‍याएको छु, यसैले मैरो मुखको वचन सुन् र तिनीहरूलाई मेरो चेताउनी दे । 18 जब म एक जना दुष्‍ट मानिसलाई 'तँ निश्‍चय नै मर्नेछस्‌' भन्‍छु, र त्‍यसको प्राण बचाउनलाई तैंले त्‍यसलाई चेताउनी दिइनस्, वा त्‍यसको दुष्‍ट चालको लागि त्‍यसको विरुद्ध सल्‍लाह दिइनस्‌—भने, त्‍यो मानिस पापको कारण मर्नेछ, तर म त्‍यसको रगत तेरो हातबाट लिनेछु । 19 तर तैंले त्‍यस दुष्‍ट मानिसलाई चेताउनी दिइस्‌ र त्‍यो आफ्‍नो दुष्‍ट्याइँ अथवा आफ्‍नो दुष्‍ट कामहरूदेखि फर्कंदैन भने, त्‍यो आफ्‍नो पापको कारण मर्नेछ, तर तैंले चाहिं आफ्‍नो प्राण बचाएको हुनेछस्‌ । 20 धर्मी मानिस आफ्‍नो धार्मिकताबाट फर्केर दुष्‍ट्याइँ गर्छ, र त्‍यसको लागि ठक्‍कर खाने ढुङ्गो मैले राखें भने त्‍यो मर्नेछ । तैंले त्‍यसलाई चेताउनी नदिएको हुनाले त्‍यो आफ्‍नै पापमा मर्नेछ, र त्‍यसले गरेका धर्मिक कामहरूको सम्‍झना म राख्‍नेछैन, तर त्‍यसका रगत लेखा म तेरो हातबाट लिनेछु । 21 तर त्‍यस धर्मी मानिसलाई पाप नगर्‌ भनी तैंले चेताउनी दिइस्‌ ताकि त्‍यसले पाप गरेन भने, उसले चेतावनी पाएको कारणले त्‍यो निश्‍चय नै बाँच्‍नेछ । अनि तैंले आफ्‍नो प्राण बचाएको हुनेछस्‌ ।” 22 यसरी त्‍यहाँ परमप्रभुको हात ममाथि रह्‍यो र उहाँले मलाई भन्‍नुभयो, “उठ्, मैदानमा जा, र त्‍यहाँ म तँसित बोल्‍नेछु ।” 23 म उठें र बाहिर मैदानमा गएँ, र कबार नहरको किनारमा मैले देखेको जस्‍तो परमप्रभुको महिमा त्‍यहाँ पनि थियो । यसैले म घोप्‍टो परें । 24 आत्‍मा ममा आउनुभयो, र मलाई खुट्टामा उभ्‍याउनुभयो; र उहाँले मसित बोल्‍नुभयो, र मलाई भन्‍नुभयो, “जा, र आफ्‍नो घरभित्र आफूलाई थुन्, 25 किनकि अब ए मानिसको छोरो, तिनीहरूले तँलाई डोरीले बाँध्‍नेछन्, र तँ बाँधिनेछस्, यसैले तँ तिनीहरूका बिचमा जान सक्दैनस् । 26 तेरो जिब्रो म तेरो तालुमा टाँसिदिनेछु, यसरी तँ गूँगो हुनेछस्, र तैंले तिनीहरूलाई हप्‍काउन सक्‍नेछैनस्, किनकि तिनीहरू विद्रोही घरानाका हुन्‌ । 27 तर जब म तँसित कुरा गर्छु, तब म तेरो मुख खोलिदिनेछु, यसरी तैंले तिनीहरूलाई भन्‍नेछस्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ।' सुन्‍ने व्‍यक्‍तिले सुन्‍नेछ । नसुन्‍ने व्‍यक्‍तिले सुन्‍नेछैन, किनकि तिनीहरू विद्रोही घरानाका हुन्‌ ।”