26
यसैले यो एघारौं वर्षमा, महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “ए मानिसको छोरो, किनभने यरूशलेमको विरुद्धमा टुरोस सहरले 'अहा! भनेको छ ।मानिसहरूका ढोकाहरू भत्‍केका छन् । त्‍यो मतिर फेर्केको छ । म भरपूर हुनेछु, किनभने त्‍यो भग्‍नावशेष भएको छ ।' यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘हेर्, ए टुरोस, म तेरो विरुद्धमा छु, र समुद्रमा छालहरू उठेझैं धेरै जातिहरूलाई तेरो विरुद्धमा म ल्‍याउनेछु । उनीहरूले टुरोसका पर्खालहरू भत्‍काउनेछन्, र त्‍यसका धरहराहरू ढाल्‍नेछन्‌ । म त्‍यसको धूलो उडाउनेछु र त्यसलाई उजाड चट्टान बनाउनेछु । त्‍यो समुद्रको बिचमा जालहरू सुकाउने ठाउँ हुनेछ, किनभने मैले नै यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— र त्‍यो जातिहरूका निम्‍ति लूटको माल हुनेछ । मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन्‌, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ । किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्‍याउनेछु । त्‍यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्‍यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्‍ने किल्‍ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ । तेरो पर्खालमा हिर्काउनलाई त्‍यसले मूढाहरू राख्‍नेछ, र त्‍यसका हतियारले तेरा धरहराहरू ढाल्‍नेछ । 10 त्‍यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्‍नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्‍केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्‍यो तेरा ढोकाहरूभित्र पस्‍छ । 11 त्‍यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्‍चिनेछ । त्‍यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्‍नेछन्‌ । 12 उनीहरूले तेरा धन-सम्‍पत्तिहरू लुट्‌नेछन्, र तेरा व्‍यापारका मालहरू लुट्‌नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्‍नेछन्‌ र तेरा आरामदायी घरहरू भत्‍काउनेछन्‌ । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्‍नेछन्‌ । 13 तेरो गीतको हल्ला म बन्‍द गर्नेछु । तेरा वीणाहरूका आवाज फेरि कहिल्‍यै सुनिनेछैन । 14 म तँलाई उजाड चट्टान बनाउनेछु । तँ जालहरू सुकाउने ठाउँ बन्‍नेछस्‌ । फेरि कहिल्‍यै तँलाई बनाइनेछैन, किनकि म परमप्रभु परमेश्‍वर नै बोलेको हुँ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 15 परमप्रभु परमेश्‍वर टुरोस सहरलाई यसो भन्‍नुहुन्‍छ, 'जब तेरो बिचमा डरलाग्दो मारकाट हुन्‍छ, तब ढलेहरूका सोर र घाइतेहरूले सुस्‍केराले के टापुहरू काम्‍नेछैनन्‌ र? 16 तब समुद्र किनारका सबै जना शासक आ-आफ्‍ना सिंहासनबाट ओर्लनेछन् र आ-आफ्‍नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्‍त्रहरू फुकाल्‍नेछन्‌ । तिनीहरूले आफैंमा कम्पका पोशाक लगाउनेछन्, तिनीहरू भूइँमा बस्‍नेछन्, र हरेक क्षण काम्‍नेछन्, र तँलाई देखेर तिनीहरू भयभीत हुनेछन्‌ । 17 तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन्‌ र तँलाई यसो भन्‍नेछन्‌: नाविकहरू बसोबास गर्ने, तँ कसरी नष्‍ट भइस्‌ । शक्तिशाली र प्रसिद्ध सहर अब समुद्रबाट हराएको छ । त्यसका बासिन्‍दाहरूले आफ्‍ना नजिक बस्‍ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए । 18 अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्‍छन्‌ । तँ आफ्नो ठाउँमा नभए हुनाले टापूहरू त्रासमा परेका छन्‌ ।' 19 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जब मानिसहरू बसोबास नगरेको अरू सहरझैं म तँलाई एउटा उजाडिएको सहर तुल्‍याउँछु, र जब म गहिरो सागरलाई तेरो विरुद्ध उठाउनेछु, र जब ठुला छालहरूले तँलाई ढाक्‍छन्, 20 तब म तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्‍वीमुनि, प्राचीन भग्‍नावशेषमा जस्‍तै, मृत-लोकमा जानेहरूसित बस्‍न लाउनेछु । जसको कारण तँ फेरि कहिल्‍यै जीवितहरूको देशमा फर्केर बस्‍नेछैनस्‌ । 21 तँमाथि म विपति ल्याउनेछु, र सधैंको निम्‍ति तँ फेरि कहिलै हुनेछैनस् । तब तेरो खोजी हुनेछ तर तँलाई फेरि कहिलै भेट्टाइनेछैन— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”