8
राजा बेलसजरले राज्‍य गर्न सुरु गरेको तेस्रो वर्षमा, (मैले पहिला देखेको दर्शनपछि) म, दानिएलले अर्को दर्शन देखें । मैले हेरिरहँदा, दर्शनमा मैले आफूलाई एलाम प्रदेशको शूशनको किल्लामा भएको देखें । दर्शनमा म ऊलै नहरको छेउमा थिएँ । मैले माथि हेरें र मेरो सामु नहरको छेउमा दुईवटा सिङ भएको एउटा भेडालाई मैले देखें । एउटा सिङचाहिं अर्कोभन्दा लामो थियो, तर छोटोभन्दा लामो ढिला बढ्यो र छोटोले त्‍यसलाई जित्‍यो । अनि त्यो भेडाले पश्‍चिममा, त्‍यसपछि उत्तरमा, र त्यसपछि दक्षिणमा हानिरहेको मैले देखें । त्यसको सामु अरू कुनै पशु खडा हुन सकेन । तीमध्‍ये कुनैले पनि कसैलाई पनि त्यसको हातबाट बचाउन सकेन । आफूलाई जे मन लाग्‍यो, त्‍यसले त्‍यही गर्‍यो, र त्यो महान् भयो । जब मैले यसको बारेमा विचार गरिरहेको थिएँ, तब पश्‍चिमबाट आउँदै गरेको एउटा बोकोलाई मैले देखें, जो जमिनलाई नै नछोए जस्‍तो गरी द्रुत गतिमा दौडेर सम्‍पूर्ण पृथ्वीको सतहमा गयो । त्यो बोकोको आँखाहरूका बिचमा एउटा ठुलो सिङ थियो । दुईवटा सिङ भएको भेडाकहाँ त्यो आयो—त्यो भेडालाई नहरको किनारमा खडा भएको मैले देखेको थिएँ— र त्यो बोको उक्‍त भेडातर्फ शक्तिशाली क्रोधमा दौडियो । त्यो बोकोलाई उक्‍त भेडाको नजिक आएको मैले देखें । भेडासँग त्यो धेरै रिसाएको थियो, र त्यसले भेडालाई हिर्कायो र त्यसका दुईवटै सिङलाई भाँचिदियो । त्यसको सामु खडा हुनलाई त्यो भेडो शक्तिहीन थियो । बोकोले त्यसलाई भुइँमा ढाल्‍यो र त्यसलाई कुल्चियो । त्यसको शक्तिबाट त्यो भेडालाई बचाउने त्यहाँ कोही थिएन । तब त्यो बोको धेरै ठुलो भयो । तर जब त्यो शक्तिशाली भयो, त्यसको ठुलो सिङ भाँचियो, र त्यसको ठाउँमा अरू चार ठुला सिङ पलाए जसले आकाशका चारै बतासलाई देखाए । तीमध्येबाट अर्को एउटा सिङ पलायो, जुन पहिला सानो थियो, तर त्यो दक्षिणमा, पूर्वमा, र सुन्दरताको देशमा धेरै विशाल भयो । 10 त्यो यति विशाल भयो, कि त्यो स्वर्गको सेनासँग युद्ध गर्न तयार भयो । ती सेनामध्ये कोही र केही ताराहरू पृथ्वीमा फालिए, र त्यसले तीमाथि कुल्चियो । 11 त्यसले आफूलाई सेनाका कमान्‍डर जत्तिकै महान् बनायो । त्यसले उहाँबाट नियमित होमबलि खोसेर लग्यो, र उहाँको पवित्रस्थानलाई अशुद्ध पारियो । 12 विद्रोहको कारणले, त्‍यो सेनालाई बोकोको सिङकहाँ सुम्पिइनेछ, र होमबलि रोकिनेछ । त्यो सिङले सत्यतालाई तल जमिनमा फाल्नेछ, र त्यसले जे गर्छ त्यसमा त्यो सफल हुनेछ । 13 त्‍यसपछि एक जना पवित्र जनले बोल्‍दै गर्नुभएको र अर्को पवित्र जनले उहाँलाई यसो भनेर जवाफ दिंदै गर्नुभएको मैले सुनें, “यी दर्शनका कुराहरू रहने, होमबलि, सर्वनाश ल्याउने पाप, पवित्रस्थानको हस्तान्तरण, र स्वर्गका सेनाहरू कुल्चिइएका पूरा हुनलाई कहिलेसम्म लाग्‍छ ?” 14 उहाँले मलाई भन्‍नुभयो, “यो २,३०० साँझ र बिहानसम्म रहनेछ । त्यसपछि पवित्रस्थान फेरि शुद्ध पारिनेछ ।” 15 जब म, दानिएलले त्यो दर्शन देखें, तब मैले त्यो बुझ्ने कोसिस गरें । तब मेरो सामु एक जना खडा भए जो मानिसजस्तो देखिन्‍थे । 16 ऊलै नहरको किनाराहरूका बिचबाट एक जना मानिसले यस्तो भन्दै गरेको आवाज मैले सुनें । उहाँले भन्‍नुभयो, “ए गाब्रिएल, यो दर्शन बुझ्‍नलाई यस मानिसलाई मदत गर ।” 17 यसैले तिनी म उभिएको ठाउँ नजिक आए । जब तिनी आए, म भयभीत भएँ र आफूलाई भुइँमा लम्‍पसार पारेर दण्डवत् गरें । तिनले मलाई भने, “ए मानिसको पुत्र, यो दर्शन अन्तको समयको निम्ति हो भन्‍ने कुरा बुझ ।” 18 तिनले मसँग बोलिरहँदा, मेरो अनुहार भुइँमा घोप्‍टो पारेर म गहिरो निद्रामा निदाएँ । तब तिनले मलाई छोए र मलाई खडा गराए । 19 तिनले भने, “हेर, पछि क्रोधको समयमा के हुनेछ भनेर म तिमीलाई देखाउनेछु, किनभने यो दर्शन अन्त हुन तोकिएको समयको निम्ति हो । 20 तिमीले देखेका भेडाको बारेमा, जसका दुई सिङ थिए, ती मादी र फारसका राजाहरू हुन् । 21 त्यो बोकोचाहिं ग्रीसको राजा हो । त्यसका आँखाका बिचको सिङचाहिं पहिलो राजा हो । 22 अनि जुन सिङ भाँचियो, जसको ठाउँमा चारवटा अरू उम्रे, उसको राज्यबाट चारवटा राज्‍य खडा हुनेछन्, तर उसको महान् शक्तिमा होइन । 23 ती राज्यहरूको पछिल्लो समयमा, जब अपराधीहरूको पाप चरम सिमामा पुग्छ, एक जना हठी राजा खडा हुनेछ, जो धेरै बुद्धिमान् हुनेछ । 24 उसको शक्ति महान् हुनेछ— तर उसको आफ्नै शक्तिले होइन । उसले जे कुराको विनाश गर्छ, त्‍यसमा ऊ अचम्ममा पर्नेछ । काम गर्नेछ र सफल हुनेछ । उसले शक्तिशाली मानिसहरू, अर्थात् पवित्र जनहरूका बिचमा भएका मानिसहरूलाई सर्वनाश गर्नेछ । 25 आफ्नो धूर्तताले उसले आफ्नो हातमुनि छललाई सफल पार्नेछ । आफ्नै मनमा ऊ महान् हुनेछ । उसले अप्रत्‍यासित किसिमले धेरै मानिसहरूलाई नाश गर्नेछ । राजाहरूका राजाको विरुद्धमा पनि ऊ उठ्नेछ, र ऊ टुक्रा-टुक्रा पारिनेछ, तर मानिसका हातले होइन । 26 साँझ र बिहानको विषयमा बताइएका यी दर्शनहरू सत्य हुन् । तर यो दर्शनलाई मोहर लगाई बन्द गर, किनकि यसले भविष्यका धेरै दिनहरूलाई जनाउँछ ।” 27 अनि, म दानिएल थकित भएँ र केही दिनसम्म कमजोर भएँ । त्यसपछि, म उठें, र राजाको कामधन्धामा लागें । तर म दर्शनको कारणले भयभीत भएँ, र यसलाई बुझ्ने त्यहाँ कोही थिएन ।