5
बेलसजर राजाले आफ्ना एक हजार भारदारहरूका निम्ति एउटा ठुलो भोजको आयोजना गरे, र ती सबै एक हजार मानिसहरूका सामु तिनले दाखमद्य पिए । जब बेलसजरले दाखमद्ये चाखे, तिनले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर ल्‍याएका सुन वा चाँदीका भाँडाहरू ल्याउन आज्ञा दिए, जसबाट तिनी, तिनका भारदारहरू, तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले पिउन सकून् । यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्‍याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए । राजा, तिनका भारदारहरू, र तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले ती भाँडाहरूबाट पिए । तिनीहरूले दाखमद्य पिएपछि सुन र चाँदी, काँसा, फलाम, काठ, र ढुङ्गाले बनेका आफ्‍ना मूर्तिहरूको प्रशंसा गरे । त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्‍न थाले । त्यो हातले लेख्दै गर्दा, राजाले त्‍यसको केही भाग देख्‍न सक्थे । तब राजाको अनुहार बद्लियो र तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए । तिनका गोडाहरूले तिनलाई धान्‍न सकेनन्, र तिनका घुँडाहरू कामेर ठोक्‍किन थाले । मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूलाई भित्र ल्याउनको निम्ति राजाले आदेश दिए । बेबिलोनमा आफ्ना बुद्धिको निम्ति ख्‍याति पाएकाहरूलाई राजाले यसो भने, “जसले यो लेख र यसको अर्थ बताउन सक्छ उसलाई बैजनी लुगा पहिराइनेछ र उसको घाँटीमा सुनको सिक्री लगाइनेछ । त्यसलाई यस राज्यको तेस्रो उच्‍च शासकको अधिकार दिइनेछ ।” अनि आफ्नो बुद्धिको निम्‍ति ख्‍याति पाएका राजाका सबै मानिसहरू आए, तर तिनीहरूले त्यो लेख पढ्न अनि राजालाई त्यसको अर्थ बताउन सकेनन् । अनि राजा बेलसजर धेरै डराए र तिनको अनुहारको स्‍वरूप परिवर्तन भयो । तिनका भारदारहरू अलमल्ल भए । 10 राजा र तिनका भारदारहरूले भनेका कुरा सुनेर रानी भोजको घरमा आईन् । रानीले भनिन्, “राजा, अमर रहून्! हजुरका विचारहरूले हजुरलाई विचलित नपारोस् । हजुरको अनुहारको स्‍वरूपमा परिवर्तन नहोस् । 11 हजुरको राज्यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा छ । हजुरका बुबाका समयमा, उनमा देवताहरूका जस्तै प्रकाश र समझ र बुद्धि पाइएको थियो । महाराजा नबूकदनेसर, हजुरका बुबा, महाराजाले उनलाई जादूगरहरू, मृतसँग बोल्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूका प्रमुख बनाउनुभयो । 12 यी मानिस, दानिएलमा उत्कृष्‍ट आत्मा, ज्ञान, समझ, सपनाको अर्थ खोल्न सक्‍ने, अड्को फुकाउन सक्‍ने र समस्याहरू हल गर्न सक्‍ने विशेषताहरू थिए, जसलाई राजाले बेलतसजर नाउँ दिनुभयो । अब दानिएललाई बोलाउनुहोस् र लेखिएको कुराको अर्थ तिनले हजुरलाई बताउनेछन् ।” 13 तब दानिएललाई राजाको सामु ल्याइयो । राजाले तिनलाई भने, “तिमी यहूदाका निर्वासितमध्ये एक जना मानिस, त्यही दानिएल हौ, जसलाई मेरा बुबाले यहूदाबाट ल्याउनुभयो । 14 देवताहरूका आत्मा र प्रकाश तथा समझ र उत्कृष्‍ट बुद्धि तिमीमा छन् भनेर मैले तिम्रो विषयमा सुनेको छु । 15 बुद्धिको निम्ति ख्‍याति पाएका मानिसहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई यो लेख पढ्न र त्यसको अर्थ खोल्‍नलाई भित्र मेरो सामु ल्याइएको छ, तर तिनीहरूले त्यसको अर्थ जानकारी गराउन सकेनन् । 16 तिमीले अर्थहरू खोल्न सक्छौ र समस्याहरू हल गर्न सक्छौ भनी मैले सुनेको छु । अब तिमीले यो लेख पढ्न सक्यौ र मलाई यसको अर्थ बतायौ भने, तिमीलाई बैजनी कपडा पहिराइनेछ र तिम्रो घाँटीमा सुनको सिक्री लगाइनेछ, र यस राज्यमा तिमीलाई तेस्रो उच्‍च शासकको अधिकार हुनेछ ।” 17 तब दनिएलले राजाको सामु जवाफ दिए, “हजुरका उपहारहरू हजुरकै निम्ति होऊन्, र हजुरका इनामहरू अर्को व्यक्तिलाई दिनुहोस् । तापनि, म यो लेख, महाराजा, हजुरको निम्ति पढिदिनेछु, र हजुरलाई यसको अर्थ बताउनेछु । 18 हे महाराजाका, सर्वोच्‍च परमेश्‍वरले हजुरका पिता नबूकदनेसरलाई राज्य, महान्‌ता, आदर, र ऐश्‍वर्य दिनुभयो । 19 परमेश्‍वरले उहाँलाई दिनुभएको महान्‌ताको कारणले, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू थरथर भए र उहाँको भय माने । उहाँले जसको प्राण लिने इच्‍छा गर्नुभयो, त्‍यसको प्राण उहाँले लिनुभयो, र उहाँले जसलाई जीवित राख्‍ने इच्‍छा गर्नुभयो, त्‍यसलाई उहाँले जीवित राख्‍नुभयो । जसलाई उहाँले चाहनुभयो त्‍यसलाई उचाल्‍नुभयो, र जसलाई उहाँले इच्‍छा गर्नुभयो त्‍यसलाई उहाँले होच्‍याउनुभयो । 20 तर जब उहाँको हृदयमा अहंकारी र उहाँको आत्मा कठोर भयो, जसको कारण उहाँले हठपूर्ण किसिमले काम गर्नुभयो, तब उहाँको आफ्नो राजकीय सिंहासनबाट उहाँलाई तल खसालियो, र तिनीहरूले उहाँको सबै ऐश्‍वर्य हटाए । 21 उहाँ मानिसजातिबाट लखेटिनुभयो । उहाँमा पशुको मन थियो, र उहाँ जङ्गली गधाहरूसँग रहनुभयो । उहाँले गोरुले झैं घाँस खानुभयो । सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र उहाँले आफ्नो इच्छाअनुसार मानिसहरूमाथि शासक नियुक्त गर्नुहुन्छ भनेर उहाँले स्‍वीकार नगरेसम्‍म आकाशका शीतहरूले उहाँको शरीर भिज्यो । 22 हजुर, बेलसजर, उहाँका छोराले यी सबै थाहा भएर पनि आफ्नो हृदयलाई नम्र बनाउनुभएको छैन । 23 हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ । उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजुर, हजुरका भारदारहरू, हजुरका पत्‍नीहरू, र उप-पत्‍नीहरूले दाखमद्य पिउनुभयो र हजुरले चादी र सुन, काँसा, फलाम, काठ र ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्दैनन्, र केही पनि जान्दैनन् । हजुरको सास आफ्नो हातमा लिनुहुने र हजुरका सबै मार्ग जान्‍नुहुने परमेश्‍वरलाई हजुरले आदर गर्नुभएको छैन । 24 अनि परमेश्‍वरले आफ्नो उपस्थितिबाट एउटा हात पठाउनुभयो र यो लेख लेखियो । 25 त्यो लेखिएको कुरा यस्तो छः ‘मेने, मेने, टेकेल, पर्सिन ।’ 26 यसको अर्थ यो होः ‘मेने,’ ‘परमेश्‍वरले हजुरको राज्यको गन्ती गर्नुभएको छ र त्यसको अन्त्य गर्नुभएको छ ।’ 27 ‘टेकेल,’ ‘तराजुमा हजुरको नाप लिइयो र हजुरमा कमी भेट्टाइयो ।’ 28 ‘पेरेस,’ ‘हजुरको राज्य विभाजित भएको छ र त्यो मादी र फारसीहरूलाई दिइएको छ ।’ ” 29 अनि बेलसजरले आज्ञा दिए, र दानिएललाई बैजनी कपडा पहिराइयो । उनको घाँटीमा सुनको सिक्री लगाइयो, र त्यस राज्यमा उनमा तेस्रो उच्‍च शासकको अधिकार हुनेछ भनेर राजाले घोषणा गरे । 30 त्यही रात बेबिलोनका राजा बेलसजर मारिए, 31 अनि मादी दाराले करीब बैसठ्ठी वर्षको उमेरमा त्यो राज्य प्राप्‍त गरे ।