13
पापबाट शुद्ध 
 
1 “त्यस दिन दावीदको घराना र यरूशलेमका बासिन्दाहरूलाई पाप र अशुद्धताबाट शुद्ध गर्नलाई तिनीहरूका निम्ति एउटा पानीको मूल फुटेर निस्कनेछ।   
2 “त्यस दिन म देशबाट मूर्तिहरूका नामनिशानै मेटिदिनेछु, अनि कहिल्यै पनि तिनीहरूको सम्झना गरिनेछैन,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “म देशबाट अगमवक्ताहरू र अशुद्धताको आत्मा दुवैलाई हटाइदिनेछु।  
3 यदि कसैले अझै अगमवाणी गर्छ भने त्यसलाई यो भनिनेछ, ‘तँ बाँच्नेछैनस्; किनकि तैँले याहवेहको नाममा झूट बोलेको छस्।’ जसले अगमवाणी गर्छ, त्यसका आफ्नै आमाबुबाले त्यसलाई छुरीले रोपिदिनेछन्।   
4 “त्यस दिन हरेक अगमवक्ता तिनीहरूका अगमवाणीको दर्शनको कारण शर्ममा पर्नेछन्। तिनीहरूले धोका दिनलाई अगमवक्ताको रौँको वस्त्र लाउनेछैनन्।  
5 हरेकले भन्नेछ, ‘म अगमवक्ता होइनँ। म एक किसान मात्र हुँ; किनकि युवाअवस्थादेखि नै मेरो जीविका जमिनबाट चलेको छ।’  
6 यदि कसैले तिनीहरूलाई सोध्यो भने, ‘तिम्रो शरीरमा भएका यी चोटहरू के हुन्?’ तिनीहरूले जवाफ दिनेछन्, ‘यी मेरो मित्रहरूको घरमा मलाई दिइएका चोटहरू हुन्।’   
गोठालालाई हिर्काइएको, भेडाहरू तितरबितर भएका 
 
7 “हे तरवार, मेरो गोठालाको विरुद्धमा उठ्;  
तिनीहरूको विरुद्धमा, जो मेरो नजिक छन्!”  
सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।  
“गोठालोलाई प्रहार गर्,  
र भेडाहरू तितरबितर हुनेछन्;  
अनि म मेरो हात सानाहरूको विरुद्धमा फर्काउनेछु।”   
8 याहवेह घोषणा गर्नुहुन्छ,  
“सारा देशमा दुई तिहाइ मारिनेछन् र नष्ट हुनेछन्;  
तापनि त्यहाँ एक तिहाइ छोडिनेछन्।   
9 यस एक तिहाइलाई म आगोमा हालिदिनेछु;  
म तिनीहरूलाई चाँदीझैँ खार्नेछु,  
र तिनीहरूलाई सुनझैँ जाँच्नेछु।  
जब तिनीहरूले मेरो नाममा पुकार्नेछन्,  
तब म तिनीहरूलाई जवाफ दिनेछु;  
म तिनीहरूलाई भन्नेछु, ‘तिनीहरू मेरा प्रजा हुन्,’  
र तिनीहरूले भन्नेछन्, ‘याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ।’ ”