52
प्रमुख संगीतकारलाई: जब एदोमी दोयेग शाऊल कहाँ गए र उनलाई भने, “दाऊद अहिमेलेको घरमा छ”। “दाऊदको मस्किल भन्ने भजन।” 
 
1 हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं?  
तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।   
2 तिमीले सधैं मूर्ख योजनाहरू तयार पाछौं अनि तिम्रो जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ।  
तिमीले सधैं झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्छौ।   
3 तिमीले असलभन्दा दुष्ट्याँई नै मन पराउँछौ।  
तिमी सत्य बोल्नु भन्दा झूटो बोल्नु नै मन पराउँछौ।   
   
 
4 तिमी र तिम्रो झूटो बोल्ने जिब्रोले मानिसहरूलाई कष्ट दिन मन पराँउछन्।   
5 यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ!  
उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिम्रो घरबाट धकेल्दै तान्नु हुनेछ, जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरैसँग तानेर निकाल्दछ।   
6 धर्मात्माहरूले यो देख्नेछन् र परमेश्वरको डर मान्ने छन्।  
परमेश्वरको आदर गर्नेछन्।  
तिनीहरू तिमीमाथि हाँस्ने छन् र भन्नेछन्।   
7 “हेर, परमेश्वरमाथि जो भर पर्दैन त्यस मानिसको गति कस्तो हुन्छ।  
उसले सोच्यो कि सम्पत्ति र झूटो कुराहरूले उसलाई रक्षा गर्नेछ।”   
   
 
8 तर म परमेश्वरको मन्दिरमा उम्रिने हरियो धुपीको रूख जस्तै हुँ।  
म सदा-सर्वदा परमेश्वरको स्नेहपूर्ण करूणामा भरोसा गर्नेछु।   
9 हे परमेश्वर, जुन कामहरू तपाईंले गर्नुभयो म ती कुराहरूको सदासर्वदा स्तुति गर्नेछु।  
म भक्तजनहरूका समक्ष तपाईंको नाउँ लिनेछु किनभने यो अति राम्रो छ!