5
अगुवाहरूले इस्राएल अनि यहूदालाई पाप गर्न लगाए 
 
1 “हे पूजाहारीहरू! हे इस्राएलका कुलहरू! तथा राजाका कुल हो! मेरो कुरा ध्यान दिएर सुन, किनभने न्यायको फैसला तिमीहरूको विरूद्धमा छ।  
“किनभने तिमीहरू मिस्पामा पासो र ताबोरका जाल भएकाछौ।  
2 शित्तीमका खाल्डाहरू तिनीहरूले खुब गहीरा पारेकाछन्। तर म तिनीहरू सबैलाई दण्ड दिनेछु।  
3 म एप्रैमलाई चिन्दछु औ इस्राएल मबाट लुकेको छैन। हे एप्रैम! तैंले व्यभिचार गरिस्। इस्राएल अशुद्ध भएकोछ।  
4 तिनीहरूका कामले तिनीहरूलाई आफ्ना परमेश्वर तिर फर्कन दिनेछैन, किनकि व्यभिचारी मन तिनीहरूको बीचमा छ र तिनीहरूले परमप्रभुलाई चिन्दैनन्।  
5 इस्राएलको अहंकारले आफ्नै विरूद्धमा सबूत दिन्छ। यसकारण, एप्रैम र यहूदा दुवै आ-आफ्नो दोषसित ठोकिनेछन्।   
6 “तिनीहरू आफ्ना ‘भेडा-बाख्रा’ र ‘गाई गोरू’ लिएर परमप्रभुलाई खोज्न आउँछन्, तर तिनीहरूले उहाँलाई पाउनेछैनन्। उहाँ तिनीहरूदेखि हट्नु भएको छ।  
7 तिनीहरूले परमप्रभुको विरूद्धमा विश्वासघात गरेकाछन्। किनकि तिनीहरूले बतासे छोरा-छोरीहरू जन्माएका छन्। यसर्थ उसले तिनीहरू र तिनीहरूका जमीनहरू नष्ट पार्नेछ।   
इस्राएलीहरूको पतन हुने अगमवाणी 
 
8 “गिबामा सींङ फुक।  
अनि रामामा तुरही फुक।  
बेतावनमा खतराको घन्टी बजाऊ।  
हे बिन्यामीन, थरथर होऊ।   
9 दण्डको दिनमा एप्रैम उजाड हुनेछ।  
जे कुरो निश्चय हुनेवाला छ  
त्यो इस्राएलका सारा कुलहरूलाई  
मैले जनाएको छु।   
10 यहूदाका शासकहरू ती मानिसहरू जस्तै हुन जो आफ्नो सीमा रेखा बढाउछन्।  
म मेरो रिस तिनीहरूमाथि पानी झैं खन्याउनेछु।   
11 एप्रैम कष्टमा परेको छ,  
मेरो न्यायमा त्यो चूर्ण भएको छ,  
किनभने व्यर्थका कुरा पछि लाग्न त्यसले निश्चय गर्यो।   
12 अत म एप्रैमलाई नाश पार्ने एउटा कीरा  
अनि यहूदाको घरको निम्ति क्षय जस्तो हुँ।   
13 जब एप्रैमले आफ्नो रोग देख्यो र यहूदाले आफ्ना चोट देख्यो तब एप्रैम अश्शूरकहाँ गयो,  
त्यसले ठूलो राजाकहाँ मानिस पठायो।  
तर त्यसले तिमीलाई निको पार्न सक्तैन।  
न त त्यसले तिम्रो चोटलाई जाती पार्न सक्नेछ।   
14 किनभने म एप्रैमका निम्ति एउटा सिंह  
अनि यहूदाको घरको निम्ति एउटा सिंहको बच्चा जस्तो हुनेछु।  
म आफै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु।  
म तिनीहरूलाई उठाएर लानेछु।  
अनि तिनीहरूलाई बचाउँने कोही हुनेछैन।   
15 जबसम्म तिनीहरूले आफ्ना अपराध स्वीकार गरेर  
मेरो उपस्थितिको खोजी गर्दैनन  
तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु।  
आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन।”